चिनियाँ क्रान्तिकारी नेतृ – याङकाइ हुई
- असार २९, २०८३
गरिबीविरुद्धको लडाइँ चीनकोे लागि क्रान्तिपछिको क्रान्ति बन्यो । आफ्नो उद्देश्यअनुरूप सन् २०२० सम्ममा चीनले गरिबी उन्मूलनको पहिलो शताब्दी लक्ष्य हासिल ग¥यो । अत्यन्त पिछडिएको र गरिबीको दुःख भोगिरहेका प्रान्तहरूलाई सम्पन्नता र सुखको बाटोमा हिँडाउन सफल भयो । छोटो समयमा एकैपटक ९ करोडभन्दा बढी जनतालाई गरिबीको रेखामुनिबाट माथि उठाउनु चमत्कारभन्दा कम थिएन । विश्व मानव इतिहासमा यस्तो चमत्कार पहिलो पटक सम्भव भयो ।
गरिबी निवारणका लागि लक्ष्य या उद्देश्यसँगै नेतृत्व जरुरी हुन्छ । अथक प्रयास र निरन्तरको मेहनत जरुरी हुन्छ । आर्थिकरूपले पिछडिएका प्रान्तहरूमा पुगेर इमानदारी र लगनका साथ लक्ष्यप्रति कटिबद्ध भई काम गर्ने पार्टी कार्यकर्ता र सरकारी अधिकारी या कर्मचारीहरूको आवश्यकता हुन्छ भन्ने सन्देश चीनमा गरिबी निवारणको एउटा महत्वपूर्ण क्रान्तिले दिन्छ । चीनमा गरिबीविरुद्ध लडाइँको एउटा दृष्टान्त प्रस्तुत गर्ने पुस्तक ‘गरिबीलाई बिदाइ’ (Up and Out of Poverty) मा पढ्न पाइन्छ । चीनको फुचिआन प्रान्तको उत्तरपूर्वी तटीय क्षेत्रमा अवस्थित एउटा गाउँ (अहिले सहर) निङ्त (Ningde) कसरी गरिबीको दलदलबाट माथि उठ्यो ? चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीले कस्तो नीति र योजना बनाए ? निङ्तले अँध्यारोबाट उज्यालोतर्फको यात्रा कसरी तय ग¥यो ? यी प्रश्नहरूको उत्तर पुस्तकमा छ । मिनतोङ नामले पनि चिनिने निङ्त सहरमा गरिबी उन्मूलनको विराट शब्दचित्र पुस्तकले प्रस्तुत गर्छ । चीनमा गरिबी उन्मूलनको क्रान्तिकारी अभियानको एउटा प्रतिनिधि कथा मात्रै हो निङ्तेइ । निङ्तेइतिर हेरेर समग्र चीनमा भएको क्रान्ति महसुस गर्न सकिन्छ । विभिन्न समयमा राष्ट्रपति सी चिनफिङले निङ्त र त्यहाँका गाउँहरूमा गरिबी उन्मूलनका निम्ति कार्यकर्ता, कर्मचारी र जनतालाई मार्गनिर्देश गर्न दिनुभएका मन्तव्यहरू पुस्तकमा सङ्ग्रहित छन् । सन् १९८८ सेप्टेम्बरदेखि सन् १९९० मे महिनासम्मका करिब २९ वटा मन्तव्यहरू यस पुस्तकमा सङ्कलित छन् । प्रत्येक मन्तव्यहरूले निङ्तको गरिबी उन्मूलनका निम्ति बाटो मात्र देखाएको छैन बरु काम गर्नेहरूलाई ऊर्जा र उत्साह पनि प्रदान गरेको अनुभूति हुन्छ ।
नेपालमा गरिबी निवारणको नारा धेरै पुरानो हो । तर, दिन प्रतिदिन गरिबी दर बढ्दो छ । नेपालको सन्दर्भमा पनि क्षेत्रक्षेत्र छुट्याएर गरिबी उन्मूलनको कार्यक्रम या योजना बन्नुपर्ने हो । यो पुस्तकले सानो क्षेत्र या भेगलाई छुट्टाछुट्टै विकेन्द्रीकृत रूपमा कसरी आत्मनिर्भरतातिर लान सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गर्छ । नेपाल जस्तो गाउँ नै गाउँ र भौगोलिकरूपमा चुनौतीपूर्ण क्षेत्रहरूले भरिएको देशका लागि चीनको अनुभव राम्रो शिक्षा बन्न सक्दछ । यो पुस्तकको अध्ययन र चर्चा नेपाली समाजका लागि अझ सान्दर्भिक र सामयिक महसुस हुनेछ ।
निङ्तको प्रशासनिक क्षेत्र र सहरहरू फुचिआनकै सबैभन्दा पिछडिएको र गरिब क्षेत्र थियो । निङ्तका जनताले दैनिक जीविकोपार्जन पनि गर्न नसक्ने अवस्था थियो । निङ्त चीनका अल्पसङ्ख्यक जनताको बाहुल्य रहेको ठाउँ थियो । भौगोलिकसँगै सांस्कृतिक र अन्य समस्याहरूको कारण पनि निङ्त पछाडि थियो । चिनियाँ सरकारले गरिबी उन्मूलनका लागि क्षेत्रहरू छुट्याई योजना बनाएको थियो । उक्त ठाउँमा स्वयम् नेता सी चिनफिङ पार्टीका कार्यकर्ता र सरकारको प्रशासक या अधिकारीको रूपमा खटिनुभएको थियो । फुचिआनमा काम गरिरहँदाकै समयमा नेता सीले निङ्तको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँलाई त्यहाँ खटाइएपछि निङ्तको मुहार फेरिन सुरु भयो । अहिले अर्थात् पुस्तक प्रकाशन गरिएको समय, आजभन्दा ६ वर्षअघि नै निङ्त स्वर्गको एउटा टुक्रा बनिसकेको छ । करिब ३ दशकको छोटो समयमा निङ्तेइको जनजीवनमा कायापलट भयो । दैनिक आवश्यकता पूरा गर्ने आर्थिक स्थिति पनि नभएको निङ्तबाट आज कृषि र हस्तकलाका उत्पादनहरू निर्यात गरिन्छ ।
नेता सीको नेतृत्वमा सुरुआती दिनमै तल्लो तहबाटै चारवटा महत्वपूर्ण अगुवाइहरू थालिए । निङ्तको वस्तुस्थितिलाई सघन अध्ययन गरी समस्या र सम्भावना पहिचान गरियो । निङ्तको आर्थिक विकास प्रमुख मुद्दा बनाइयो । “एउटा केन्द्रीय काम र दुईवटा प्राथमिक केन्द्रहरू” निर्माणको शैली अपनाइयो । निङ्तको आर्थिक या भौगोलिक बेफाइदा भनेको योे ताइवान र प्रशान्त महासागरको छेवैमा अवस्थित टापु सहर हो । नेता सीले निङ्तमा बलियो सुधार खुलापनको आवश्यकता महसुुस गर्नुभयो । उहाँले घरेलु सहकार्य र विदेशी लगानीमा जोड दिनुभयो । बाहिरी आर्थिक स्रोत र प्रविधिको प्रयोग गरी स्थानीय स्रोतसाधनको विकास गर्न हिच्किचाउन नहुने तर्क उहाँको थियो । विशेषतः निङ्तको मरिन, ढुङगा र लम्बरका स्रोतहरू सम्भावनाका स्रोतहरू थिए । सुधार र खुलापनलाई व्यापक बनाउन सके मात्र गरिबी निवारण र सम्पन्नताको यात्रा सम्भव हुन्छ । निङ्तको विकास पहाड पन्छाउनु जत्तिकै कठिन हुने देखियो । त्यस्तो बेला नेता सी भन्नुहुन्थ्यो, ‘चट्टानबाट पानीका थोपाहरू निचोर्नु जत्तिको कठिन काम सम्हाल्नु नै चिनियाँ कम्युनिस्ट पार्टी कार्यकर्ताको कर्तव्य हो ।’
गरिबीबाट डराउने होइन, गरिबीलाई हटाउने हो । गरिबी आर्थिक समस्यामात्र नभएर मानसिकता पनि हो । जन–मानसपटलबाट ‘हामी गरिब छौँ’ भन्ने मनस्थिति हटाउनु पनि सरकारी अधिकारीहरूको कर्तव्य हो । गरिबी उन्मूलनको यात्रा दीर्घकालीन हो । गरिबीको दलदलमा परेको समाजलाई मुक्त गर्न कार्यकर्ताहरू ‘पहाड पन्छाउने मूर्ख बुढो’ पनि बन्नुपर्ने हुन्छ । उनको जस्तो धैर्य, मेहनत र आत्मविश्वाससहित निङ्तको मुहार फेर्ने अभियानमा दत्तचित्त हुन आप्mना सहयोगी र समकालीनहरूलाई ऊर्जा दिइरहनुहुन्थ्यो नेता सी ।
हामी देख्छौँ, चराहरू आकाशमा स्वतन्त्र माथिमाथि उड्छन् । तर, भर्खर कोरलेको चरालाई उड्न निकै गाह्रो हुन्छ । यद्यपि, त्यो चराको पहिलो उडान निकै महत्वपूर्ण हुन्छ । नेता सीले निङ्तलाई भर्खर कोरलेको चराको उपमा दिनुभएको थियो । निङ्तको उडान गाह्रो थियो तर असम्भव थिएन । त्यो प्रथम उडान कसरी सम्भव बनाउने भन्ने विषयमा नेता सीको चिन्तन पुस्तकमा छ । निङ्त आपैmँमा एउटा बेग्लै संसार थियो । त्यहाँको जानकारी बाहिर नजाने र बाहिरको जानकारी भित्र नआउने अवस्था थियो । सानो आकारको खेती–किसानीमा बाँचिरहेको थियो निङ्त । निङ्तको नाम लिनेबित्तिकै मानिसको दिमागमा पुरानो, जातीय अल्पसङ्ख्यक, विकट, टापु, विपन्न” भन्ने शब्द आइहाल्थ्यो । त्यस्तो ठाउँलाई आर्थिक सम्पन्नताको उडान दिने जिम्मेवारी थियो । नेता सी भन्नुहुन्थ्यो, “आर्थिकरूपमा गरिब ठाउँ आदर्श र विचारमा गरिब हुन्छ भन्ने होइन ।” सरकारको अनुदान कुर्ने, वित्तीय सहयोग र गरिबीको राहत आशा गर्ने र गरिबीको कारण अरूलाई आक्षेप लगाउने गरिब मानसिकतालाई फोहोर फाल्ने टोकरीमा फाल्नुपर्छ भन्नुहुन्थ्यो । निङ्तलाई धनी बनाउन सरकारी प्रशासन संवेदनशील भई निकैै सक्रिय रहनुपर्ने तर्क उहाँको थियो ।
निङ्तमा कच्चापदार्थको आपूर्ति आप््mनै ठाउँबाट गर्नु विकासको पहिलो तयारी साबित भयो । मानिसको जीविकोपार्जनको मूल्य अर्थात् खर्च कटौती गर्नु, विशेष र महत्वपूर्ण क्षेत्र पहिचान गरी त्यहाँ लगानी गर्नु महत्वपूर्ण पाइला बन्यो । निङ्तका लागि वस्तुको बजार र बजारको प्रतिस्पर्धा निकै नौलो विषय थियो । नेता सी निङ्तलाई एउटा सफल ‘वस्तु बजार’ बनाउन आतुर हुनुहुन्थ्यो । अर्थतन्त्र राजनीतिबाट अलग हुन सक्दैन । चिकपाको सैद्धान्तिक र वैचारिक आधारमा स–साना अर्थतन्त्रहरूको एउटा कोरस तयार गर्नु नै चीनको सपना थियो ।
पार्टीको कामभन्दा देशको अर्थतन्त्र निर्माण पनि प्राथमिक कार्य हुन्छ र ? दुनियाँले यही प्रश्न गरे तर चिकपाले एउटा समयावधिमा प्रत्येक प्रान्तको आर्थिक उन्नयन या विकासलाई प्राथमिकतामा राख्नु भन्ने निर्देशन दिएको थियो । क्वानतुङ प्रान्त सबैभन्दा पहिला खुला भएको प्रान्त थियो । छोटो समयमै अद्वितीय सफलता हासिल ग¥यो । यदि कसैले उड्ने इच्छासँगै इफोर्ट अर्थात कोसिस जारी राख्छ भने ऊ उड्न जरुर सफल हुन्छ, क्वानतुङ त्यसको उदाहरण बन्यो । निङ्त पनि एकदिन आप्mनो उत्पादनसहित समुद्रपारि उड्नेछ, अन्तर्राष्ट्रिय बजारको आँधीबेहरीबीच उड्नेछ र आप्mनो वस्तु बजारले विश्वमा चिनिनेछ भन्ने विश्वास नेता सीको थियो । निङ्तले कृषिमा आत्मनिर्भरताको बाटो खोज्यो । स–साना उद्योग र व्यवसायलाई जोड दियो । पानी, ऊर्जा, ग्यास, बाटोघाटो र पुलपुलेसा निर्माणको हकमा अन्य प्रान्तहरूसँग प्रतिस्पर्धा गर्ने स्थिति थिएन तर ती आवश्यक वस्तुको सुगम आपूर्ति महत्वपूर्र्ण थियो ।
चीनमा लगानी गर्ने विदेशी कम्पनीहरूको भरोसा जित्नसके पुँजी निर्माण हुन्थ्यो । निङ्तले लगानीकर्ताहरूका निम्ति सरल प्रक्रिया र प्रावधान, शुल्क न्यून गर्दै सेवालाई चुस्त बनाउनुका साथै एकद्वार प्र्रणाली नीति अवलम्बन गर्यो । निङ्तको हार्डवेयर सेवा त राम्रो थियो नै सप्mटवेयर सेवालाई पनि ध्यान दिइँदा विदेशी लगानीकर्ताहरू आउन सुरु गरे ।
उचाइमा उडानको निम्ति बलियो पखेटा जरुरी हुन्छ । पखेटा बलियो बनाउन आप्mनो धरातल या आधारशीला बलियो हुनुपर्छ । स्थानीय बाटो या माटो भुल्ने कोही पनि माथि माथि उड्न सक्दैन । निङ्तका दुई पखेटामध्ये एक कृषि र अर्को उद्योग थियो । बाँच्नको लागि कृषिबाट समृद्धिका लागि कृषिको नारालाई व्यवहार बनाउन मेहनत थालियो । पहाड पहाडकै कारण र समुद्र समुद्रकै कारण धनी हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न नेता सीले निकै मेहनत गर्नुभयो । कृषि, वनजङ्गल, पशुपालन, मत्स्यपालन, नगदेबाली, चिया खेती, फलफुल खेतीलाई बढावा दिइयो । निङ्तमा मानवीय, श्रम या श्रमिकमा आधारित अर्थतन्त्र विस्तारै अघि बढ्यो जसले बेरोजगारी समस्या, काम नगर्ने प्रवृत्ति पनि हट्दै गयो । समृद्धितर्फको यात्रालाई अघि बढाउन सामूहिक श्रमको अवधारण कतै अनि कहिल्यै असफल भएको छैन । स्थानीय स्रोतसाधनको अत्यधिक उपयोग गरी स्थानीय मागपूर्ति गर्नुका साथै वस्तुको बजार स्थापना र फाइदाको बाटो उपयुक्त साबित हुँदै गयो ।
उहाँले सन् १९८८ को सेप्टेम्बरमा राख्नुभएको मन्तव्यमा भन्नुभएको छ, “आर्थिक विकासका लागि गीतमा जस्तै कोरसको जरुरी हुन्छ ।” समाजवादी आर्थिक विकासका निम्ति एकमनको एकता र भावना महत्वपूर्ण हुन्छ । जसरी एउटा गीत सङ्गीत, शब्द, गायनको समस्त स्वरूप हो । त्यसरी नै आर्थिक विकास विचार, योजना, खोज, उत्पादन, यातायात, सञ्चार, बिक्रीवितरण र सेवाको एकमुष्ट रूप हो । उत्पादन, बजार र सेवामध्ये एउटा क्षेत्रमात्र कमजोर भयो भने आर्थिक गतिविधि नै कमजोर हुन्छ । ‘आर्थिक कोरस’ सहकार्य र साझेदारी विना सम्भव हुँदैन । नेता सीका अनुसार आर्थिक कोरस १+१ . २ जस्तो सरल छैन यो १+१.२ अर्थात् १ र १ जोड्दा २ भन्दा बढी उपलब्धि हासिल हुनुपर्छ । सहकार्य र एकताको उद्देश्य यसैका लागि हो । व्यक्तिको सीप र कामभन्दा पनि सामुहिक भूमिका या कामले बढी उपलब्धि दिएको हुन्छ । जसरी फुटबलमा कुनै एक खेलाडीको खेल राम्रो हुँदैमा खेल जितिन्न त्यसरी अर्थतन्त्र बनाउन एक व्यक्ति सीपवान भएर पुग्दैन । एउटै उद्देश्य, एकीकृत क्षमता या शक्ति, एकताबद्ध आवाजले कर्णप्रिय र सुन्दर गीत बनेजस्तै एउटा समृद्ध सहर पनि बन्न सक्दछ भन्ने उदाहरण बनेको छ, निङ्त ।
नेता सी भन्नुहुन्छ, “सरकारी कर्मचारी या पार्टी कार्यकर्ताको आधारभूत कर्तव्य भनेको जनतासँगै नजिकको सम्बन्ध कायम गर्नु हो ।” गरिबी उन्मूलनको अभियानका दुई प्रमुख आधार भनेकै पार्टी नेतृत्व र जनताको शक्ति हो । पार्टीको सिद्धान्त र नीति आत्मसात् गरी जनतालाई पार्टीसँग जोड्ने काम कार्यकर्ताले गर्दछ । नेतृत्वलाई जनतामाझ स्थापित गर्ने र जनतालाई नेतृत्वसँग जोड्ने पुल हुन्छन् कार्यकर्ता । चीनको महान् क्रान्ति सफलता जनताकै शक्तिका कारण भयो । सन् १९२८ तिर चीनको ठूलो पार्टी कोमिन्ताङ थियो । त्यसको नेतृत्व पुरानो र जनतासँग टाढा हुनुको कारण पार्टी नै खत्तम भयो । चिकपा जनतासँग जोडियो र जनताकै बलमा क्रान्तिमा होमियो । त्यसकारण, आज नेतृत्वमा छ । तसर्थ, कुनै पनि क्रान्ति सफलताको आधार जनता हुन्छन् । आर्थिक विकासका एजेण्डालाई जनताबाट छुट्याउनै मिल्दैन भन्ने तर्क नेता सीको हो । अध्यक्ष माओ त्सेतुङ्को भनाइ –‘पूर्ण हृदयले जनताको सेवा गर’ चिकपाको विधानमै लेखिएको छ । आपूmलाई केन्द्रमा राख्ने प्रवृत्ति, कर्मचारीतन्त्र, व्यक्तिवाद, औपचारिकतावादविरुद्ध लडेर जनताको सेवा गर्नु प्रत्येक कार्यकर्ता या कर्मचारीको कर्तव्य हो । नेता चाउ एनलाइले ५०–५५ वर्षअघि भन्नुभएको थियो, “लडाइँमा हार्नुसँग नडराऊ जनताको नजरमा गिर्नु र नैतिकरूपले जनताको नजरबाट झर्नुसँग डराउनू ।” तसर्थ, जनताको सामाजिक, आर्थिक र राजनीतिक स्थिरता जोगाउनु कार्यकर्ताको प्राथमिकता हुनुपर्छ । सुशासनविना आर्थिक उन्नयन सम्भव हुँदैन । त्यसकारण, पार्टीको कडा अनुशासनको भट्टीबाट खारिएका कार्यकर्तामात्र विकेन्द्रीकृत जिम्मेवारी सम्हाल्न सक्षम हुन्छन् । जनताको लाइन समातेर जनताको लागि काम गर्नु नै जीवनपर्यन्तको प्रतिबद्धता हुनुपर्छ । भ्रष्टाचार नगर्ने र इमानदार मेहनतीहरूमात्र यस्तो कार्यमा चुनिन्छन् । कुनै पनि समस्यालाई भौतिकवादी आँखाले हेर्नु र वस्तुस्थितिअनुसारको समाधान खोज्नु कार्यकर्ताको विशेषता हुनुपर्छ । तत्काल गर्नुपर्ने र दीर्घकालीन समयमा प्रभाव पार्ने कार्य छुट्याउनेजस्ता व्यवस्थापन सिकेको हुनुपर्छ । त्यतिमात्र होइन पार्टी कक्षामा देशभक्ति, समाजवाद, सामूहिकता र पार्टी सिद्धान्त तथा नीतिबाट दीक्षित कार्यकर्ता मात्रै जस्तोसुकै परीक्षामा पनि खरो उत्रन सक्ने हुन्छन् भन्ने विश्वास नेता सीको हो ।
नेता सीले निङ्तको गौरव बोल्नुभएको छ । त्यहाँको सभ्यता र संस्कृति चीनकै निम्ति ठूलो गौरव हो । निङ्त आर्थिकरूपले मात्र गरिब थियो संस्कृतिमा धनी थियो । सांस्कृतिक सम्पदा र गौरवलाई आर्थिक विकासको माध्यम बनाउने तयारी निङ्तले सुरु ग¥यो । जनताको आत्मविश्वास, काम, दयालु व्यवहार, इमानदारी र सादापन निङ्तको गौरव थियो । निङ्तका पहाड र झरना खोलाहरू प्राकृतिक गौरव थिए । ती गौरवहरूसँगै जनताको सांस्कृतिक स्तर उठाउनु पनि नेता सीको उद्देश्य थियो । निङ्तमा सांस्कृतिक जात्राहरूको आयोजना गरी लोपोन्मुख नाच, गीत, वाद्यवादनलाई पर्यटनसँग जोडियो । लोकगीत, कला, संस्कृति, लोकनाच, कथा, चित्रकला, हस्तकला र सम्पदाहरूको जगेर्नालाई आर्थिक परिवर्तनको यात्रासँग जोडियो । त्यति मात्र होइन निङ्तलाई चीन र विश्वसँग परिचित बनाउन टीभी कार्यक्रम सुरु गरियो । टीभी वृत्तचित्रमार्फत निङ्तको प्राकृतिक र सांस्कृतिक सम्पदा प्रदर्शन गरियो । त्यसले निङ्तको आर्थिक विकासमा टेवा पुग्नुका साथै विश्वको ध्यान खिच्न सफल भयो । नेता सी भन्नुहुन्छ, “सफा अर्थात् कलङ्करहित सरकार निर्माण कम्युनिस्टहरूको ऐतिहासिक लक्ष्य हो ।” जसले जनताको मन जित्छ उसले साम्राज्य जित्ने सामथ्र्य राख्छ भन्ने भनाइ मनमा लिएर कम्युनिस्ट कार्यकर्ता देखिने र नदेखिने भ्रष्टाचारको जरा उखेल्न प्रतिबद्ध नभए चीनको गरिबी उन्मूलनको सपना साकार हुन्नथ्यो ।
चीनको सपना चीनको विकासमात्र होइन भ्रष्टाचार, हिंसा, अपराधरहित बलियो र व्यवस्थित सुशासन पनि हो । केही स्वार्थ नराखी समाजको गहु्रङ्गो जिम्मेवारी उठाउने साधारण कार्यकर्ता या कर्मचारीहरूका कारण चीनमा समाजवाद निर्माणको अर्को क्रान्ति जारी छ ।
देशभरिका ३ हजारभन्दा बढी काउन्टीहरूलाई एक अर्कासँग जोड्ने नट्सको भूमिका साधारण कर्मचारीले खेलेका हुन्छन् । पुस्तकमा युवा कार्यकर्ता र साधारणदेखि उच्च ओहोदाका सरकारी प्रतिनिधिहरूको काम कर्तव्य र व्यवहारले कुनै पनि क्षेत्रको सामाजिक, आर्थिक तथा राजनीतिक प्रगति प्रभावित हुने तथ्यबारे चर्चा छ । सचिवले सामान्य कर्मचारीलाई गर्ने व्यवहार, नेताले कार्यकर्तालाई गर्ने व्यवहारबारे उल्लेख छ । एकजना इमानदार अफिसर बन्न आप्mनो कामलाई महत्व दिने, कठिन परीक्षाबाट नआत्तिने, जटिल परिस्थितिमा छिटो र सही निर्णय गर्ने क्षमता पनि जरुरी हुन्छ भन्नुहुन्छ, नेता सी । पार्टीको विचार, अफिसरहरूको व्यवहार र काम, जनतासँग पार्टी र सरकारको सम्बन्धका आधारमा कुनै पनि क्षेत्र आर्थिक र सांस्कृतिकरूपमा अघि बढ्ने गर्दछ । निङ्त त्यसको एउटा उदाहरण हो । नेता सीका महत्वपूर्ण मन्तव्यबारे बाँकी चर्चा अर्को अङ्कमा गरिनेछ ।
Leave a Reply