भर्खरै :

माडुरोको पक्षमा टर्की : हुँवाको पक्ष लिनुभन्दा वार्ताको पहल गर्नु बुद्धिमानी

अङ्कारा, २ फेब्रुअरी । टर्कीका विदेशमन्त्रीले आइतबार भेनेजुयलाका स्वघोषित अन्तरिम राष्ट्रपति हुवाँ गुइएडोलाई मान्यता दिएर संरा अमेरिकी नेतृत्वको मोर्चाले भेनेजुयलामा थप समस्या निम्त्याइरहेको र लाखौँ जनतालाई अनावश्यक दुःख दिइरहेको बताएका छन् ।
नाटो देश भएर पनि टर्कीले नाटोका अधिकांश देशभन्दा विपरीत भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोप्रति समर्थन जनाउँदै आएको छ । काराकससँग बलियो आर्थिक र राजनीतिक सम्बन्ध विस्तारका पक्षधर टर्कीका राष्ट्रपति तायिप इर्डोगनले गएको महिना माडुरोलाई त्यहाँ भइरहेको ‘प्रजातन्त्रविरोधी घटनाक्रम’ विरूद्ध दृढ रहन हौस्याएका थिए ।
टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले आइतबार गुइएडोलाई समर्थन गर्ने देशहरूतिर सङ्केत गर्दै भेनेजुयलाको समस्या समाधानको लागि वार्ताको पहल गर्नुपर्ने धारणा राखे ।
“भेनेजुयलामा आज समस्या देखापरेको छ । यो फिलिङ्गोले कुनै पनि बेला डढेलोको रूपमा लिनसक्छ । यस्तो अवस्थामा उनीहरूले
वार्तामार्फत समस्याको समाधानको लागि योगदान गर्न सके अझ राम्रो हुने थियो ।”, विदेशमन्त्रीले भने ।
“के समस्या समाधान गर्ने तरिका यही हो ? अहँ, होइन । बरू बाह्य शक्तिले त्यहाँ आगोमा घ्यु थप्ने काम भइरहेको छ । यो दृष्टिकोणले भेनेजुयाली जनतालाई सजाय दिने काम भइरहेको छ ।”, उनले भने ।
गएको साल भेनेजुयला र वाशिङ्टनबीच वार्ताको लागि टर्कीले प्रयास गरेको स्मरण गर्दै उनले यतिबेला त्यस्तो प्रभावकारी प्रयास नभएकोमा दुःख व्यक्त गरे ।
सिरियामा संरा अमेरिकी नीति, इरानमाथिको नाकाबन्दी र रूससँग मिसाइल प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्बन्धमा हालैका दिनमा वाशिङ्टन र अङ्काराबीच गहिरो मतभेद हुँदै आएको छ ।
गएको सातामात्र संरा अमेरिकाका एकजना वरिष्ठ अधिकारीले टर्की र भेनेजुयलाबीचको व्यापारिक गतिविधिलाई निकटबाट अध्ययन गरिरहेको र कदाचित भेनेजुयलामाथिको नाकाबन्दी उल्लङ्घन भए कारबाही हुने बताएका थिए । टर्कीले भने भेनेजुयलासँग अन्तर्राष्ट्रिय कानुन र नियमअनुसार नै व्यापार भइरहेको भन्दै आफ्नो कदमको प्रतिरक्षा गर्दै आएको छ ।
यसैबीच युरोपेली सङ्घलाई एकपत्र लेखी इटालीले भेनेजुयलाको सम्बन्धमा सङ्घको धारणासित इटालीको मतभिन्नता जाहेर गर्दै निकोलस माडुरोमात्र भेनेजुयलाको वैधानिक राष्ट्रपति भएकोमा जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *