भर्खरै :

आर्थिक समानताले मात्र वास्तविक समानता ल्याउने

(१०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेक्रामसङ्घ केन्द्रीय समितिद्वारा काठमाडौंमा आयोजित प्रवचन कार्यक्रममा व्यक्त मन्तव्य–सं)
हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई महिला दिदीबहिनीहरूको राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक स्तर उकास्ने थलोको रुपमा लिएका छौं । सम्भ्रान्त वर्गका महिलाले पश्चिमेली विकृति, भोजभतेर तथा महिला स्वतन्त्रताको नाममा समाजमा विकृति ल्याउने गरेको पनि छ । महिलाहरूलाई वर्गसङ्घर्षबाट टाढै राख्ने नियतले पनि यसो गरिरहेको हामी बुझ्न सक्छौं ।
देशमा ठूलठूला पार्टीका नेताहरू पालैपालो सरकार चलाउने र ठूलठूला पदको निम्ति विदशीको इसारामा भागवण्डा गर्न व्यस्त छन् । नेपाली जनताले सरकारको अनुभूति गर्न पाएका छैनन् । महिला हिंसा, बलात्कार र बलात्कारपछि हत्यासमेत गरेका कुरा हामीले अखबारहरूमा हेरेका र सुनेका छौं । कयौं गरीब महिलाहरूलाई बोक्सीको आरोपमा दिन दहादै कुटपिट गरी अभद्र व्यवहार गरिएका, जिउँदै जलाउनेजस्ता घटनाहरू बारम्बार सुन्ने गर्छौं । त्यस्ता अन्धविश्वास र कुसंस्कारको विरुद्ध पनि नेपाल क्रान्तिकारी महिला सङ्घले निरन्तर आवाज उठाउँदै आएको छ । महिलामाथि गरिने हिंसा र भेदभाव अन्त्यका लागि कडा सजायको कानुनी व्यवस्था हुनुपर्दछ । यसले मात्र महिला हिंसामा कमी आउने छ ।
गरिबीको कारण कयौं महिलाहरू विदेशी भूमिमा आफ्नो रगत र पसिना बगाउन बाध्य छन् । वैदेशिक रोजगारीको नाममा म्यानपावर कम्पनीहरूले नेपाली महिलालाई भेडाबाख्रासरी बेचविखन गरिरहेका छन् । धेरै नेपाली युवतीहरू विदेशी भूमिमा यौन शोषणमा परेका छन् । महिलाहरूलाई नारकीय जीवन बिताउन बाध्य पार्ने ठग वा दलाल म्यानपावर कम्पनीका मालिकहरूलाई मृत्युदण्डको प्रावधान संविधान संशोधन गरी संविधानमा राख्नुपर्छ ।
वैदेशिक रोजगारीमा गएकाहरू कयौं युवा युवतीहरू लाश बनेर फर्किरहेका छन् । हाम्रा शासकहरू रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलेकोमा गर्व गर्छन् । यो लज्जास्पद विषय हो । नेपालको अहिलेसम्मका शासक दलहरू मानव वेचविखनका दलालहरूको संरक्षणमा लागेको समाचार पनि प्रशस्त छन् ।
हामी राज्य संरचनामा कामदार महिलाको समानुपातिक प्रतिनिधित्वको आवाज उठाइरहेका छौं । कामदार महिलाहरू अगाडि नबढेसम्म सिङ्गो देश अघि बढ्न सम्भव छैन । महिलाहरूले समान कामको समान ज्याला पाएका छैनन् । मोहियानी हक पाएका छैनन् । नेपाल क्रान्तिकारी महिला सङ्घ मोहियानी हक पनि अरु पैत्रिक सम्पतिसरह बेचविखन गर्न पाउनुपर्छ भन्ने पक्षमा छ ।
शिक्षा र रोजगारीको व्यवस्था नभएसम्म महिलाहरू अगाडि बढ्न सक्दैनन् । सम्पूर्ण स्वास्थ्य सेवा पनि निःशुल्क गर्नुपर्छ । राज्यले महिलाहरूलाई अनिवार्य शिक्षा र रोजगारीमा प्राथमिकता दिने व्यवस्था गर्नुपर्दछ । त्यसले मात्रै व्यवहारिक रुपमा महिला र पुरुषमा समानता ल्याउने छ ।
समाजवादी व्यवस्थामा मात्र महिलाहरूले पूर्णरुपमा समानता पाउने छन् । समाजवादी व्यवस्थाको लागि पूँजीवादी व्यवस्थाको अन्त्य गर्नुपर्छ । पूँजीवादी व्यवस्थाको अन्त्यका लागि सम्पूर्ण कामदार महिला एक हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *