भर्खरै :

साल्भाडोरको नयाँ राष्ट्रपतिमा नयिब बुकेले निर्वाचित

सान साल्भाडोर, २१ माघ  – सान साल्भाडोरका पूर्व मेयर नयिब बुकेले एल साल्भाडोरको राष्ट्रपतिमा विजयी हुनुभएको छ । विगत तीन दशकदेखि सत्तामा रहेका दुई ठूला पार्टीलाई पछि पार्दै बुकेले नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
एल साल्भाडोरको निर्वाचन आयोगले सार्वजनिक गरेको करिब ८८ प्रतिशत मतगणनामा बुकेलेले करिब ५४ प्रतिशत मत प्राप्त गरिसक्नु भएको छ । यो नतिजा ५० प्रतिशतभन्दा बढी भएकाले बुकेले नै विजयी हुनु हुनेछ ।
दोस्रो स्थानमा रहेका क्यालीजाले करिब ३२ प्रतिशत र तेस्रो स्थानमा रहेका मार्टिनेजले करिब १४ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ । चुनावमा करिब ५२ लाखले मतदान गरेका थिए ।
राष्ट्रिय एकताका लागि बृहद गठबन्धन (गाना) बाट प्रतिनिधित्व गर्नुहुने ३७ वर्षीय नयिब बुकेलेले सान साल्भाडोरमा विजयी समारोहबीच आफ्ना समर्थकलाई धन्यवाद व्यक्त गर्नुभएको छ । राजधानीको प्लाजा मोराजनमा भेला भएका उहाँका हजारौं समर्थकले बुकेलेको समर्थनमा नारा जुलुस र राष्ट्रिय झण्डा फहराएका थिए ।
मध्य अमेरिकी राष्ट्र एल साल्भाडोर विगत लामो समयदेखि भ्रष्टाचार र कुशासनका कारण आर्थिक रुपमा कमजोर स्थितिमा पुगेको छ ।
आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित राष्ट्रपति बुकेलेले भन्नुभयो, “यो विजय साल्भाडोरियाली जनताको हो, आज हामीले पहिलो चरणको निर्वाचन जितेका छौं र हामीले इतिहास निर्माण गर्न सक्षम भएका छौं ।” पहिलो चरणको निर्वाचनमा विजयी भएपनि उहाँले दोस्रो चरणको निर्वाचन पनि सामना गर्नुपर्ने सम्भावना रहेको बताइन्छ ।
बुकेलेले शिक्षामा लगानी वृद्धि गर्ने तथा भ्रष्टाचार विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तर उहाँमाथि मुलुकको खस्कदो शान्ति सुरक्षामा सुधार ल्याउनु सबैभन्दा ठूलो चुनौती हुनेछ ।
बुकेलेका विपक्षीहरु कार्लोस क्यालीजा र ह्युगो मार्टिनेज दुबैले चुनावी हार स्वीकार गर्नुभएको छ । झण्डै तीन दशकसम्म दुई नेताले नेतृत्व गर्नुभएका दलहरुले एकछत्र शासन सञ्चालन गर्नुभएको थियो ।
यसैबीच, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) का महासचिव लुइस अल्माग्रोले एक वक्तव्य प्रकाशन गरी ऐतिहासिक सफलताका लागि बुकेलेलाई बधाई दिनुभएको छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *