भर्खरै :

नदी नियन्त्रणका लागि तटबन्ध निर्माण हुँदै

भीमदत्तनगर, २२ माघ (रासस)ः नदी तथा खोलानाकाबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका १६ स्थानमा तटबन्ध निर्माणको तयारी हुँदैछ । सुदूरपश्चिम प्रदेशको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयले नदी तथा खोलाको कटान नियन्त्रण गर्न जैविक तथा तारजालीसहितको तटबन्ध निर्माणको पहल गरेको जनाएको छ ।
भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले यहाँको चौधर, वनहरा, बण्ड, दोदालगायतका नदीले गर्दै आएको क्षति न्यूनीकरणका लागि तटबन्ध निर्माण हुने जनाएको छ ।
‘‘चौधर नदीमा ४० प्रतिशत भलभन्दा बढी तारजालीमा ढुङ्गा भरानको काम भइसक्यो’’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अजितकुमार श्रीवास्तवले भन्नुभयो, “सबै काम आर्थिक वर्षभित्रै सक्ने गरी उपभोक्ता समितिलाई जिम्मेवारी दिएका छौँ ।”
चौधर नदी कटान नियन्त्रणका लागि रु ७५ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ । त्यसैगरी यहाँको वनहरा नदी कटान नियन्त्रणका लागि स्पर तथा तटबन्ध निर्माणका लागि रु ६० लाख बजेट मन्त्रालयले विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
‘‘यहाँका १६ वटै नदी तथा खोला नियन्त्रणका लागि रु १० करोड जति बजेट आएको छ’’ श्रीवास्तवले भन्नुभयो,“तोकिएको समयमा काम सकिनेमा आशावादी छौँ ।”
उहाँले प्रदेशसभा सदस्यसित कटान नियन्त्रणका विषयमा छलफल भएर निर्माणको जिम्मा स्थानीय उपभोक्ता समितिलाई दिने सहमति भएको बताउनुभयो । ‘‘रु २० लाखदेखि रु ७५ लाखसम्मका कार्यक्रम उपभोक्ता समितिमार्फत समुदायमा काम गरिँदैछ’’ उहाँले भन्नुभयो ।
उक्त कटान नियन्त्रणको काम गत कात्तिकमा स्वीकृत भएको कार्यालयले जनाएको छ । त्यसैगरी लामो समयदेखि अलपत्र रहेको यहाँको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना काम ढिलो गरी निर्माण हुदैछ । दुई पटक निर्माणका लागि समयावधि थप गर्दासमेत काम गर्न आलटाल गरेको आशिष कन्ट्रक्सन धनगढीले काम थालेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
‘‘म्याद थपका लागि निर्माण पक्ष अझै सम्र्पकमा नआए पनि फिल्डमा काम गरिरहेको छ’’ श्रीवास्तवले भन्नुभयो, “नहरमा पानी बगोस् भन्ने उद्देश्यका साथ नहरको काम गरिरहेका छौं ।” सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसित २०७२ असार २५ गते रु चार करोड १५ लाखका सम्झौता भएको थियो ।
दोमिल्ला÷पहरिया क्षेत्रको तीन सय हेक्टर जमीनमा सिँचाइका लागि उक्त आयोजनाको काम थालिएको हो । कञ्चनपुरमा नदी नियन्त्रणका क्षेत्रमा करोडौं बजेटसहित जनताको तटबन्ध फिल्ड कार्यालय नंं ७ ले एक दशकयता काम गरिरहेको छ । कार्यालयले हालसम्म महाकाली नदी, दोदा, मछेली, स्यालीलगायतका नदीमा तटबन्ध निर्माणको काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *