भर्खरै :

गण्डक निर्माणमा भारतीय पक्षको लापरबाही

नवलपरासी, २७ माघ । पश्चिम नवलपरासीको गण्डक क्षेत्रमा भारतीय पक्षद्वारा अहिले भइरहेका संरचनाको मर्मत प्रभावकारी बन्न सकेको छैन ।
नेपाल–भारत गण्डक सम्झौताअनुसार नेपाली भूमि गण्डक क्षेत्रमा संरचना निर्माण भए पनि सो संरचनाअन्तर्गत गण्डक बाँधसहित अन्य सबै संरचनाको मर्मत गर्ने काम भारतीय पक्षको हुने उल्लेख गरिएको थियो ।
अहिले गण्डक क्षेत्रअन्तर्गत सुस्ता गाउँपालिका–४ नर्सहीस्थित नारायणी नदीको बि ग्यापअन्तर्गत ठोकर न–६ मा तटबन्ध निर्माण भइरहेको छ । ठोकरको संरचना बलियो पार्ने उद्देश्यले अहिले ठोकरको स्परमा तटबन्ध कार्य जारी भए पनि सो काम ठेक्का पाएको भारतीय ठेकेदार पक्षले सम्झौताविपरीत गुणस्तरहीन काम गरेको स्थानीय श्याम थापामगर बताउनुहुन्छ ।
गोरखपुरस्थित महाकाल एशोसिएट्स निर्माण कम्पनीले सो क्षेत्रमा तट्बन्ध निर्माण गर्ने गरी ठेक्का पाएको थियो । सम्झौताबमोजिम तारजाली एक मिटर चौडाइ हुनुपर्नेमा सोबमोजिम नभएको स्थानीयवासीको भनाइ छ । भारतीय पक्षबाट गरिएको सो काम मापदण्डअनुसार नभएको नेपालको तर्फबाट भारत सरकारलाई सहजीकरण गर्दै आउनुभएका भूआर्जन कार्यालयका प्रमुख तारासिंह थापा बताउनुहुन्छ ।
लागत अनुमान र जीपीआर कार्यालयमा भारतीय पक्षले अहिलेसम्म उपलब्ध गराएको छैन् । पत्राचार गरेर कागजात पत्र माग गरेको धैरै दिन भयो, प्राप्त भएको छैन लागत स्टिमेट र जिपिआर छैन कसरी अनुगमन गर्ने ? प्रमुख थापाको भनाइ छ ।
गण्डक क्षेत्रमा कार्य गर्ने जिम्मा भारतीय ठेकेदार कम्पनीले प्राप्त गरेर पनि सो कामबारे नेपाली प्रशासन र सिंचाइ कार्यालयलाई अनुगमन गर्ने कुनै अधिकार नहँुदा काम प्रभावकारी बन्न नसेकेको हो ।
स्टिमेटअनुसार तट्बन्ध गर्दा तारजालीमा ढुङ्गाको साइज ठूलो हुनुपर्नेमा सानो राखिएको छ । जालीको प्वाल साइजअनुसार ९ इञ्च हुनुुपर्नेमा थोरै इञ्चको राखेको छ । यसैगरी तट्बन्धमा प्रयोग गरिने तर कमसल खालको प्रयोग भएको पाइएको सम्पर्क तथा भूआर्जन कार्यालय वाल्मीकीनगरले जनाएको छ ।
कामलाई प्रभावकारी बनाउन सिंचाइ एवम् जल संशोधन विभाग उत्तर प्रदेश सिंचाइखण्ड द्वितीय महाराजगञ्जबाट अनुगमनका लागि कर्मचारीसमेत खटिएका छन् । खटिएका कर्मचारीका अनुसार केही भागमा तट्बन्ध गर्ने क्रममा काम गुणस्तरहीन भएको जनाउँदै तत्काल काम सच्याउन ठेकेदार पक्षलाई जानकारी गराएको छ । तर अहिले स्थानीयवासीले काम गुणस्तरहीन भएको भन्दै दुई सातादेखि कामसमेत बन्द गराइदिएका छन् । स्थानीयवासीले विरोध जनाएपछि दुई सातादेखि काम पूर्ण रुपमा बन्द छ ।
गण्डकमा हुने गरेको सबै निर्माण तथा मर्मतसम्भारको कार्यमा भारतीय ठेकेदारले काम गर्ने र सोको अनुगमनका लागि भारतीय पक्षबाट नेपाली निकायमा लिखित रुपमा कुनै दस्तावेज प्राप्त नहँुदा समस्या देखा परेको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने बताउनुहुन्छ ।
गण्डक क्षेत्रमा भारतीय पक्षले पटक–पटक बर्सेनि यस्तै लापरबाही ढङ्गले काम गर्दै आएको पछि वर्षाको समयमा गण्डक क्षेत्रका साविक पक्लिहवा, नर्सही, कुडिया, त्रिवेणी सुस्ता, गुठीप्रसौनी, सूर्यपुरा, बैदौली, सोमनी, प्रतापपुर, जमुनिया, खैरटहवा, भुजहवा, रामपुरखडौना गरी १३ वटा गाविस डुबानमा पर्ने अवस्था देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *