युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
फकरुल अलाम
गएको अक्टोबर महिनामा दिल्लीको एउटा किताब पसलमा मैले ‘भारतबारे कार्ल माक्र्स’ (कार्ल माक्र्स अन इन्डिया) नामको पुस्तक भेटाएँ । पुस्तकको सम्पादन अलिगढ मुस्लिम विश्वविद्यालयका पूर्वप्राध्यापक इक्बाल हुसेनले गरेका छन् । अलिगढ इतिहासकार समाजको संरक्षकत्वमा टुलिका बुक्सले सन् २००६ मा सो पुस्तक प्रकाशन गरेको रहेछ । त्यसका अलिगढका विख्यात इतिहासकार प्राध्यापक इरफान हबिबको लामो भूमिका भएकोले पनि मलाई त्यो पुस्तकले तान्यो । पुस्तकका पाना पल्टाउँदै गर्दा मेरो दिमागमा इडवार्ड सेइडको पुस्तक ‘ओरियन्टालिज्म’ मा रहेको एउटा प्रसङ्ग खेलिरहेको थियो । सेइडले सो पुस्तकमा माक्र्ससँग ‘पूर्वीयतावादी’ (ओरियन्टालिस्ट) दृष्टिकोण रहेको दाबी गरेका छन् । मैले सेइडको सो पुस्तक सन् १९८० मा पहिलोपटक पढेको थिएँ । त्यसले ममा गहिरो प्रभाव पारेको थियो । माक्र्सले भारतबारे लेखेका लेखक र भारतसम्बन्धी उनको बुझाइ परख गरी सेइडले माक्र्सबारे गरेको दाबी कति सही हो वा होइन भनी बुझ्ने विचार गरें ।
कार्ल माक्र्सले भारतबारे किन, कसरी र के लेखे ?
प्राध्यापक हुसेनले लेखेको भूमिकामा माक्र्सले सन् १८५३ देखि ‘द न्यु योर्क डेली त्रिव्युन’ मा भारतबारे लेख्न थालेको कुरा उल्लेख छ । माक्र्सका लेखहरू सामान्यतया भारतको इतिहाससँग जोडिएका छैनन् न त उनलाई अङ्ग्रेजी भाषामा लेख्ने लेखककै रुपमामात्र हेरिन मिल्छ । तथापि उनले हरेक वर्ष पाठकको सङ्ख्या बढ्दै गएको अङ्ग्रेजी भाषामा भारतीय उपमहाद्वीपबारे लेखेका थिए ! हुसेनका अनुसार माक्र्सको लागि त्रिव्युनमा ती लेखहरू लेख्न उत्ति रुचि भने लागेको थिएन । त्रिव्युनका लागि ती लेख लेख्नुपर्दा उनी आफ्ना अरु महत्वपूर्ण काममा ध्यान दिनसक्दैनथे । जस्तै उनी त्यही समयमा क्रनड्रिस्से (न्चगलमचष्ककभ–१८५७) र अर्थराजनीतिक आलोचनामा योगदान (१८५६) नामका कृति लेख्दै थिए । त्यत्तिबेला माक्र्सको आर्थिक अवस्था निकै गएगुज्रेको थियो । भारत र अरु समसामयिक घटनाक्रमबारे ‘त्रिव्युन’मा लेख लेखेबापत प्राप्त हुने पैसा र एङ्गेल्सले पठाउने सहयोगबाहेक आफ्नो परिवारको खर्च धान्न माक्र्ससँग अरु कुनै आर्थिक स्रोत नै थिएन । अर्को शब्दमा उनले भारतबारे जति पनि लेख लेखे, ती सबै (जीविकोपार्जन गर्न) लेख्नैपर्ने भएर लेखे ।
‘भारतबारे कार्ल माक्र्स’ पुस्तकमा सङ्कलित ५९ वटा लेखहरू सन् १८५० को दसकमा भारतीय उपमहाद्वीपमा भइरहेका घटना र ती घटनाका गम्भीर प्रभावबारे गहिरो जानकारी भएको मानिसले नै लेखेको प्रस्ट बुझिन्छ । पुँजीवाद र ऐतिहासिक परिवर्तनबारे माक्र्सका विचार निर्माणको निम्ति भारतमा घटेका ती घटनाक्रम कच्चापदार्थ सरह थिए । विशेषतः भारतमा बेलायती शासनले पु¥याएको हानी र त्यसले भारतीय उपमहाद्वीपका जनताबीच भित्रभित्रै सल्काएको असन्तोषको आगोप्रति माक्र्सको विशेष चासो थियो । भित्रभित्रै सल्किरहेको त्यो असन्तोषको आगोले सन् १८५७ मा विस्फोटक रुप धारण ग¥यो । त्यो साल भारतमा भएको सैनिक विद्रोहबारे जानकारी लिन र तिनका कारण तथा प्रभावबारे विश्लेषण गर्न माक्र्सले निकै जाँगर गरेका थिए । त्यतिबेला अङ्ग्रेजहरूले मच्चाएको हत्याकाण्डको विषयमा पनि माक्र्सले विश्लेषण गरेका थिए ।
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले भारतबारे ‘त्रिव्युन’ पत्रिकामा लेखेका सामग्रीहरू ‘भारतबारे कार्ल माक्र्स’ नामको पुस्तकमा सङ्कलन गरिएका छन् । त्यसमा सङ्ग्रहित लेख–रचना कुनै लामा र कुनै छोटा–छोटा छन् भने तिनले समेटेका विषयवस्तुका आधारमा पनि भिन्नताहरू छन् । कुनै लेख सामान्य टिपोटमा सीमित छन् भने केही लेखहरू लामो आकारमा गहिराइसम्म पुगेर लेखिएका छन् । कुनै रचना तत्कालीन समयमा भइरहेका घटनाको वर्णन वा युद्धको सङ्क्षिप्त विवरणमात्र हुन् भने कतिपय अरु लेखहरूमा भारतीय उपमहाद्वीपमा भइरहेका उथलपुथलको विश्लेषणात्मक टिप्पणी गर्दै तिनका प्रभावबारे निष्कर्ष निकालिएका छन् । तर, जे विषयमा जसरी लेखे पनि माक्र्सले आफ्नो मूल तर्क प्रमाणित गर्न मनग्य तथ्य–तथ्याङ्क प्रस्तुत गर्ने गरेका छन् । भारतबाट इस्ट इन्डिया कम्पनीले सङ्कलन गर्ने ठूलो मात्राको राजस्व होस् वा भारतीयका लागि तिनीहरूले गर्ने खर्चको चर्चा गर्दा होस् अथवा भारतीय उपमहाद्वीपका जनताको हितको किमार्थ ख्याल नगरी सौखिन जीवनयापन गर्ने लोभी मनसायका बेलायती प्रशासकको कुरा गर्दा होस्, माक्र्स मनग्य तथ्यकै आधारमा निष्कर्षमा पुगेका हुन्छन् । उनले तत्कालीन भारतमा उठेका विद्रोहहरू र तिनले निम्त्याएका विपत्तिबारे विस्तृत रुपमा लेखेका छन् । बेलायत र भारतबीचको व्यापारबारे उनले प्रशस्त तथ्याङ्क प्रस्तुत गरेका छन् । भारत र चीनबीच हुने अफिमको व्यापारिक कारोबारबारे पनि उनले तथ्य–तथ्याङ्क प्रस्तुत गरेका छन् । चीन र भारतबीचको अफिम कारोबारको सबभन्दा बढी फाइदा अङ्ग्रेजहरूले उठाउने गर्थे । भारतमा अफिमको खेती गरी चीनमा व्यापार गर्ने काम बेलायतीहरूले गर्थे ।
भारतमा भएको सिपाहीं विद्रोहबारेको लेखमा माक्र्सले सो घटनाको सैनिक कोणबाट निकै राम्ररी विश्लेषण गरेका छन् । सिपाहीं विद्रोहका विभिन्न चरणबारे उनले आफ्नो टिप्पणीसहित व्याख्या गरेका छन् । विद्रोह दबाउन अङ्ग्रेजहरूले लिएका रणनीतिबारे उनले प्रस्ट चित्रण गरेका छन् । उनले सो लेखमा सिपाहीं विद्रोहको आर्थिक पक्षबारे लेख्नुका साथै तत्कालीन परिस्थितिमा प्राप्त हुनसक्ने सबै तथ्याङ्कको आधारमा सो विद्रोह चालू रहे अङ्ग्रेजले भोग्नुपर्ने आर्थिक प्रभावबारे चर्चा गरेका छन् । अङ्ग्रेज शासकहरूका हरेक दाबीको रौं चिरा केलाएर उनले उनीहरूको लोभ र क्रुरताको पर्दा उघारिदिएका छन् । सन् १८५३ सम्म लेखिएका लेखहरूमा माक्र्सले अङ्ग्रेज शासनका विध्वंसकारी र हानीकारक प्रभावबारे चर्चा गरेका छन् । सो सङ्कलनको अन्तिम लेखमा उनले सिपाहीं विद्रोहलाई दबाए पनि र भारतमा ‘शान्ति’ कायम गरे पनि भारतीय जनताभित्रको बैचेनी कायम रहेको लेखेका छन् । इस्ट इन्डिया कम्पनीले आफूमाथि गरेको दमनबाट वाक्कदिक्क भारतीय जनताबीच विद्रोहको मनग्य सङ्केत रहेको माक्र्सले लेखेका छन् ।
अङ्ग्रेजी भाषाका सिद्धहस्त लेखक
‘भारतबारे कार्ल माक्र्स’ पुस्तक पढ्दा मलाई सबभन्दा पहिलो चकित पारेको पक्ष अङ्ग्रेजी लेखनमा माक्र्सको सिद्धहस्तता हो । सन् १८५० को दसकमा भारतमा भइरहेका घटनाबारे जुन शक्ति र स्पष्टताका साथ उनले व्याख्या गरेका छन्, त्यो कुराले मलाई चकित तुल्यायो । उदाहरणको लागि बेलायतको अनुदार पार्टीका नेता लर्ड स्टान्लेले ‘विपरीत विचारहरूलाई एकै ठाउँमा ल्याउने सूत्र फेला पारी’ गरेको संसदीय तिकडमलाई माक्र्सले ‘समय सम्मिलन’ को सूचक भन्ने शब्दावली प्रयोग गरेका छन् । के यो शब्दावलीको प्रयोग निकै रोचक छैन त ? आज हामी बाँचिरहेको बङ्गलादेशको सन्दर्भमा र विशेषतः चुनावी वर्षहरूमा यो शब्दावलीको प्रयोग सान्दर्भिक हुने गर्दैन र ? ‘भारत’ शीर्षकमा सन् १८५३ को जुलाई १ मा लेखेको लेखमा माक्र्सले यो शब्दावलीको प्रयोग गरेका छन् । माक्र्सले ‘बेलायतका विभिन्न पार्टीले भारतबारे राख्ने धारणा र ती कुलीन, पैसातन्त्री र मिल मालिक (उद्योगपति) बीच भारतको प्रगतिको बारेमा रहेको झगडाको कसरी विचारा हिन्दू (भारतीय जनता) ले फाइदा उठाउन सक्छन्’ भन्नेबारे एउटा अर्को लेख लेख्ने तयारी गरिरहेको जानकारी पाठकसमक्ष राखेर व्यङ्ग्यपूर्वक सो लेखको अन्त्य गरेका छन् । आजको समयमा उभिएर हेर्दा अहिले समाजमा कुलीन (राजा–महाराजा) वर्ग त नहुन सक्छ तर ‘पैसातन्त्री’ र ‘मिल मालिक’ शब्दहरू आज हामी बाँचिरहेको समयको लागि पनि उत्तिकै सान्दर्भिक छैन र ?
वास्तवमा माक्र्सले यहाँ चर्चा गरेको लेख भारतबारे उनले लेखेको एउटा लामो प्रभावशाली लेख हो । सन् १८५३ को जुलाई ११ मा सो लेख ‘त्रिव्युन’मा प्रकाशित भएको थियो । यो लेख तुलनात्मक रुपमा लामो लेख हो । ‘इस्ट इन्डिया कम्पनी–इतिहास र परिणाम’ शीर्षकको सो लेख व्यङ्ग्यपूर्ण टिप्पणीले भरिपूर्ण छ । त्यसपछि लेखिएका अन्य धेरै लेखहरू पनि व्यङ्ग्यपूर्ण नै हुने गरेका थिए । माक्र्सले तिनमा निकै तिक्ततापूर्वक इस्ट इन्डिया कम्पनीको ‘तीखो मानवतावाद’ बारे टिप्पणी गरेका छन् । अर्कोतिर उनले आफूले भन्ने गरेको ‘पाखण्डपूर्ण शान्तिकामी’ को वास्तविकता उजागर गरिदिएका छन् । त्यसो गरेर उनी वास्तवमा भारतीय जनतामाथि कसरी कम्पनीले शोषण गरिरहेको छ भन्ने कुरा देखाउन चाहन्थे । बेलायती राजनीतिका आफ्ना पाखण्ड सहयोगीको सहयोगमा कम्पनीका आत्मकेन्द्रित अधिकारीहरूले नङ्ग्याएको बेलायतको वास्तविकता देखाउन चाहन्थे । ‘भारतको प्रश्न’ शीर्षकको लेखकमा प्रखर वक्ता र सिद्धान्तनिष्ठ राजनीतिक व्यक्तिको रुपमा चित्रण गरिएका बेन्जामिन डिजरायलबारे माक्र्सले गरेको बुद्धिमत्तापूर्ण चरित्रचित्रण हेरौँ ः “कुनै समय उनी सूक्तिहरूमा छाउन सफल भए । तर अहिले उनी औपचारिक सम्मानको निरसताभित्र ती सूक्तिहरू गाड्ने प्रयासमा लागेका छन् ।”
भारतमा बेलायती उपनिवेशको विरोध
माक्र्स बेलायती उपनिवेशवादका स्थायी विरोध थिए । बेलायतीहरू ‘भारतमा लुटपाट मच्चाउने सुविधा’ चाहिरहेकोमा माक्र्स विश्वस्त थिए । त्यो निष्कर्षमा पुग्न उनलाई इस्ट इन्डिया कम्पनीको कुनै नयाँ घोषणापत्रको आवश्यकता पर्दैनथ्यो । माक्र्सले सन् १७९० देखि भएको स्थायी बसोबासको विरोध गरेका थिए । जमिनदारी र जमिनको जोताहासँग कर उठाउने ¥योत्वारी प्रणालीको विरोध गरेका थिए । माक्र्सले ती सबै प्रणालीलाई भारतका जनतामाथि आर्थिक शोषण गर्ने कम्पनीका विभिन्न जालसाझीको रुपमा व्याख्या गरेका थिए । माक्र्सको विचारमा भारतमा सरकारको नीतिको विरोध गर्ने र स्वतन्त्र व्यापारको पक्षमा वकालत गर्ने म्यान्चेस्टरका नेता जोन ब्राइटजस्ता राजनीतिज्ञहरूसमेत राम्रो मनसायका थिएनन् । उनीहरू पनि भारतलाई ध्वस्त बनाउनमा सरकारजत्तिकै दोषी थिए किनभने बेलायती कपडा भारतजस्तै कब्जामा लिइएका बजारमा विस्तार गर्नुपर्छ भन्ने पक्षमा गरेको वकालतबाट पनि उनीहरूको वास्तविक मनसाय प्रस्ट हुन्छ ।
बेलायती कम्पनीको ध्वंसकारी नीतिको प्रमाणको रुपमा उनले बङ्गालका कपडा बुन्ने जनताको अवस्थाबारे प्रकाश पारेका थिए । बेलायती शासकहरूले बङ्गालका कृषि र कपडा उद्योगलाई ध्वस्त बनाइदिएका थिए । युरोपले कुनै बेला कसरी भारतीय कपडाको उल्लेख्य उपभोग गरेको थियो भन्नेबारे चर्चासँगै माक्र्सले बेलायती उपनिवेशवादीहरूले भारतका घरेलु कपडा र घरमै कपडा बुन्ने चर्खा विस्थापन कसरी गरेका थिए भन्नेबारे लेखेका छन् । भारतकै स्थानीय कपडा उत्पादन प्रणाली ध्वस्त बनाएर बेलायती उपनिवेशवादीहरूले युरोपेली बजारबाट भारतीय कपडा विस्थापन गर्न सफल भएका थिए ।
फकरुल अलाम बङ्गलादेशका प्राज्ञ, लेखक र अनुवाद हुन् । उनी हाल इस्ट–वेस्ट युनिभर्सिटीका प्रो–भीसी छन् ।
स्रोतः मन्थ्ली रिभ्यु
नेपाली अनुवादः नीरज
भक्तपुर मासिकबाट
Leave a Reply