भर्खरै :

युगै युगको सुरुआत भनेर राज्यकोषमा रजाइँ

– गौरव प्रधान
सरकारी नीति तथा कार्यक्रम र बजेट संविधानमा उल्लेखित समाजवादउन्मुख राज्य अनुकूल नहुनु नै सरकारको असफलताको सङ्केत हो । सरकारी नेता र मन्त्रीहरूले जतिसुकै विकासको ध्वाङ फुके पनि सरकारको क्रियाकलापले वर्तमान सरकारको नेतृत्व गर्ने दल साँच्चै कम्युनिष्ट पार्टी नभएको राजनीतिक विश्लेषक र कूटनीतिज्ञहरूको अभिमत छ । उनीहरूका अनुसार देशमा राजनीतिक आवरणमा आपराधिक कार्य भइरहेको छ । धार्मिक, सामाजिक, आर्थिक अपराधमात्र होइन राजनीतिक अपराधहरू भइरहेको राजनीतिक विश्लेषकहरूको विचार समयले पुष्टि गर्दै आएको छ ।
आपराधिक क्रियाकलाप छोप्न सत्तासीन दलका नेता र मन्त्रीहरू आजभोलि आक्रोशित हुन थालेका छन् । सरकारको कमी कमजोरी औंल्याएर सुधार्न खबरदारी गर्दा पनि सरकारलाई पचेको छैन । आलोचना र व्यङ्ग्य गर्ने बुद्धिजीवी, कूटनीतिज्ञ, राजनीतिक विश्लेषक, साहित्यकार र गायकहरूलाई पनि सत्ता समर्थित नेता र कार्यकर्ताले धम्कीमात्र दिएनन् प्रतिक्रियावादी र गणतन्त्रका विरोधी भनी राजतन्त्र पक्षधरको आरोपसमेत लगाए । संसारमै कुनै शासकीय दलले नगरेको विकास गरिरहेको भन्न पछि नपर्ने ओली सरकारको नेतृत्वले देशमा नयाँ युगै युगको सुरुआत भएको फुकेर राज्यकोषमा रमाइरहेको छ । आलोचना गर्नेबित्तिकै गणतन्त्रविरोधी ठान्ने सरकारले अरुको कुरा सुन्ने आँट पनि गरेको छैन । यो दुईतिहाइ बहुमत सरकारको शक्ति उन्मादको दृष्टान्त हो । देश टुक्राउन चेतावनी दिने दलका सांसदलाई पटक–पटक सरकारमा सामेल गराएर पूर्वएमाले र माओवादी केन्द्रका नेताहरू जति चिच्याए पनि न देशभक्त हुन् न त कम्युनिष्ट नै हुन् ।
सरकारले आफ्नो दलभन्दा फरक विचारको मत राख्ने कुनै सङ्घ संस्था, राजनीतिक दलका नेता, कार्यकर्तालाई दुःख दिइरहेको छ । कहिले धम्की दिएर, कहिले दबाब दिएर त कहिले सरकारले दिँदै आएको सेवा सुविधा कटाएर समस्या दिने कार्य गरिरहेको छ । फरक विचार र मत राखेको आधारमा सरकारलाई राम्रो कामको लागि ध्यानाकर्षण गर्दा सुन्न नचाहने, उल्टै कारबाही गर्न अघि सर्ने सरकार कतै निरङ्कुशतातर्फ लम्किरहेको छैन ? शङ्का गर्ने ठाउँ छ । कसैले कसैमाथि आरोप लगाउँदा देश ध्वस्त हुँदैन, राजतन्त्र फर्कंदैन । सरकारलाई खबरदारी गर्दा लोकतन्त्रको पाठ सिकाउनु पर्दैन भनेर भैंसीको आँखाले हेर्न मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *