युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
केवी प्रजापति
जनआन्दोलन किन ?
सर्वसाधारण सबैले बुझेको जनआन्दोलनको उद्देश्य बहुदल नै थियो । नेपाल मजदुर किसान पार्टीसमेत संलग्न वाम मोर्चा र नेकाको संयुक्त आह्वानमा भएको जनआन्दोलन बहुदलीय व्यवस्थासहितको प्रजातान्त्रिक राजनैतिक प्रणालीका लागि थियो जहाँ राजनैतिक र मौलिक अधिकार नागरिकहरूलाई प्राप्त होस् ।
जनआन्दोलनमा सहभागिता
त्यतिबेला म नेक्राविसङ्घ, भक्तपुर वडा नं. ३ एकाइ समितिको सदस्य थिएँ । जनआन्दोलनको औचित्य, नेमकिपाको भूमिका, जनआन्दोलनका कार्यक्रमहरू र राज्यस्तरबाट रचिएको भक्तपुर काण्डका पीडा र दमन अनि मुक्तिका बारेमा नेक्राविसङ्घ, भक्तपुर जिल्लाका तत्कालीन अध्यक्ष रवीन्द्र खर्बुजा र नगर समितिका तत्कालीन अध्यक्ष स्व. कृष्णसुन्दर तुल्सीबाट बरोबर कक्षा लिने मौका पाएको थिएँ । जनआन्दोलनमा नेक्राविसङ्घले पनि सक्रियतापूर्वक सहभागिता जनाउने नीति, कार्यक्रम र योजनाहरू बनेका थिए । फागुन ७ गते प्रजातन्त्र दिवसकै दिनबाट आन्दोलनको थालनी गर्ने उद्घोष भयो । फागुन ८ गते नेपाल बन्दको कार्यक्रम थियो । सोहीबमोजिम वडा इन्चार्ज हरिकृष्ण छुस्याबागको नेतृत्वमा हामी अरनिको राजमार्गको जगाती क्षेत्रमा खटियौँ । त्यस दिन सवारी साधन खासै चलेको थिएन र खासै दबाब पनि थिएन । करिब बिहान ९ः३० बजेतिर एउटा पुलिस भ्यान हामीतिर आइरहेको देख्यौँ । के गर्ने भन्ने सल्लाह हुँदा त्यतिकै बसौँ न भन्ने कुरा भयो । उक्त क्षेत्रमा हामीसित बटुवाहरू र स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको हुँदा हुलमुलजस्तै थियो । पुलिस भ्यान रोकियो । आक्रोशित मुद्रामा बन्दुक सोझ्याउँदै पुलिसहरू भ्यानबाट निस्केपछि हामी यताउता छरियौँ । सायद त्योभन्दा पहिल्यै टौमढीमा गोली चलिसकेको थियो । म पक्राउ परेँ । दुईचार लाठी र लात्ती हानेपछि गाडीमा हाले । दुईजना प्रहरीहरूले बन्दुकको नाल टाउकोमा सोझ्याउँदै भातेढिकुर, नलिञ्चोक हुँदै गर्दा डर पनि लाग्यो । तर गाडी पलाँसेमा पुगेपछि अगाडि बढेन बरु उक्त गाडीलाई पुनः नलिञ्चोक–जगाती हुँदै जिप्रका भक्तपुरमा ल्याइयो ।
हिरासतको सास्ती
फागुन ८ गते बिहान १० बजेतिर जिप्रका प्रवेशपछि प्रहरीहरू निकै हतारमा अनि तनाव र आक्रोशमा थिए । घडी, चस्मा र अन्य सामान झिक्न नपाउँदै तीनजना प्रहरीले बाँसको लठ्ठीले हिर्काउन थाले । त्यसको चोटले फागुन १० गतेसम्म उठ्न र बस्नसमेत सा¥है मुश्किल प¥यो । मभन्दा अगाडि नै केही आन्दोलनकारी त्यहाँ थिए । फागुन ८ गते बिहान पक्राउ परेदेखि भोलिपल्ट बेलुकीसम्म पानीबाहेक केही पनि खुवाइएन । ‘कि खाना देऊ कि छाडी देऊ’ बन्दीहरू कराए । तर प्रहरी चुँसम्म बोल्ने बन्दीहरूलाई समेत गाली गर्दै पिट्दथे । फागुन १० गतेसम्ममा धेरै बन्दीहरू थपिए । एउटा सानो कोठामा ८३ जनासम्म राखे । त्यो रात उठेमा बस्न ठाउँ नहुने र बस्दा पनि खप्टिएर बस्नुपर्ने अवस्था भयो । हिरासतमा झ्याल थिएन । हावा आउने दुईवटा प्वालको मात्र व्यवस्था थियो । दुईजना साथीहरू हावाको कमीले बेहोससमेत भए ।
बन्दी गन्ने अनौठो तरिका थियो प्रहरीको । टाउकोमा एक, दुई भन्दै पिट्दथे । पिटाइ खाएकाले टाउकामा हात राख्नुपर्दथ्यो किनभने उसलाई गन्ती गरी सकियो भन्ने थाहा होस् । एकचोटि पैतालामा बुथले कुल्ची बन्दी गन्न आयो । मैले कुल्चिनै दिइनँ । लठ्ठीले टाउकामा पिटेर गन्न खोज्दा पनि मैले बचपना देखाएर लठ्ठी नै समातेँ । रिसाएर हेर्थे तर म वास्तै गर्दिनथेँ । सायद बच्चै सम्झेर छाड्दथे । यसरी धेरैपटक मेरो पालोपछिका साथीहरूले कुटाइ खानबाट बचे ।
सुरेन्द्र वासिंछ्याक दाइलाई साकोठामा पुलिसले पिट्दा खुट्टा भाँचिएको रहेछ । उहाँको अवस्थाबाट दया लागेर स.इ. भित्र आएको बेलामा दाइहरूले अस्पताल लैजानुप¥यो भने । तर उक्त स.इ.ले सुरेन्द्र दाइको भाँचिएको खुट्टामा हान्दै भने “तेरो दुइटै खुट्टा भाँचिदिन्छु । प्रहरीलाई ढुङ्गा हान्छस् ।” सुरेन्द्र दाइ पीडाले झण्डै अचेतसमेत बने । सबैले सान्त्वना दिनेबाहेक केही पनि गर्न सकेनन् । भोलिपल्ट बिहानमात्रै अस्पताल लगियो ।
बयान र यातना
चैतको पहिलो हप्तातिर होला सायद हामीलाई सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी गर्दै गरेको गाइँगुइँ सुनियो । नभन्दै बयानका लागि स.इ. दीपकको मुद्दा फाँटमा बयानका लागि क्रमशः बोलाउन थालियो । म जाँदा गोली लागी घाइते भएका सहदेव ख्याजूको बयान नै सकिएको थिएन । उसलाई पिट्दै कुरा खोतल्दै थियो । खासै नपढेका घाइते साथीले सन्दर्भ मिलाएर कुरा गरिरहेका थिए । उसले मेरै अगाडि धेरै कुटाइ खायो । मलाई दुःख लाग्यो । बयान दिने मेरो पालो थियो । तर सबैको बयान कागज पहिला नै तयार रहेछ । मलाई बयान कागजमा सही गर्न भनियो । मैले हाँस्दै भने,“दीपक दाइ ! यसमा के छ ?” “प्रहरीलाई ढुङ्गा हान्छौ । अनि के हुन्छ यसमा ?” प्रहरी स.इ. दीपकले ठाडो स्वरमै भने । “मैले पुलिसलाई ढुङ्गा हानेको छैन त” मैले हाँसेर परिस्थिति सहज बनाउने प्रयास गरेँ । प्रहरी स.इ.दीपकले मलाई पिट्न उचित सम्झेन । तर भोलिपल्ट बयान कागजमा सही नगर्ने सबैलाई यातना दिने कार्यक्रम राखेका रहेछन् । बिहानै बाहिर बोलाएर एक एक जनालाई पाइपले पिट्न थाले । एकजना ट्राफिक पुलिसले पैतालामुनि ५ मिनेटभन्दा बढी पिट्यो । सा¥है पीडा भयो । हिरासत कोठामा फर्कने सबैको अनुहार कालोनीलो भयो । हामीलाई निकै पिट्यो । के गर्ने ? शासन नै राजाको थियो ! एकजना सिनियर दाइले हामीलाई बयान कागजमा सही गर्न सल्लाह दिँदै भने, “थप पिटाइ नखानू । सही गर्नू । अदालत जाँदा पिटेर झूटा कुरामा सही गराए भनौँला नि ।” हामी सबैले बयान कागजमा सही ग¥यौँ । हामीमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता गरियो ।
चैतको दोस्रो हप्तातिर एकदिन मसमेत चारजनाको नाम लिँदै हिरासत कोठा बाहिर बोलाए । एउटा भ्यानतिर हामीलाई डो¥याइयो । हामी चारजनालाई मात्रै भ्यानमा बसाएर बाहिर लगेपछि कौतुहलता बढ्यो । एउटा साथीले “हामीलाई कहाँ लान्छ ?” भनी नजिकैको प्रहरीसँग सोध । “फाँसी दिन लागेको” प्रहरीले कड्केर जवाफ दियो । एउटा साथी मन थाम्न नसकेर रुन थाल्यो । “नरोउ भाइ ! फाँसी दिनुभन्दा अघि अन्तिम इच्छा त सोधिहाल्छ नि ! किन रुन्छौ ?” भनी हाँसे । हामी सबै प्रायः १७–१८ वर्षका मात्रै थियौँ । बाहिरको परिस्थिति थाहा नभएको र राजनैतिक सुझबुझको अभाव सबैसँग थियो । मैले जेलमा लाने होला भनी अन्दाज गरेँ । तर थप सोधपुछका लागि प्रहरी प्रशिक्षण केन्द्र, महाराजगञ्ज लगियो । सोधपुछको क्रममा आन्दोलनभन्दा ‘भक्तपुर काण्ड’ कै बारेमा धेरै प्रश्न सोधियो ।
चैत १७–१८ तिर आठजना साथीहरूलाई जेल चलान गरियो । म र सहदेव ख्याजूलाई भद्रगोल जेलमा र अन्य साथीहरूलाई केन्द्रीय कारागारमा राखियो । कारागारमा भक्तपुर काण्डमा जेल परेका र जनआन्दोलनको क्रममा जेल परेका धेरै चिनजानका दाइहरू हुनुहुन्थ्यो । विशेषगरी सुनिल दाइ र अन्य दाइहरूको सहयोगले कारागारमा खासै कठिनाइ महसुस भएन, मलाई टेबुलटेनिस खेल्न खुब मनपथ्र्यो । कारागार चलान भएको भोलिपल्ट नै दुई तीन घण्टा टेबुलटेनिस खेलेँ । यो कुरा थाहा पाएर सुनिल दाइले मलाई सम्झाउनुभयो, “भर्खर जेल आएको मान्छे यसरी खेल्नु हुँदैन । यहाँ धेरै सीआईडीहरूले प्रत्येक बन्दीहरूको दैनिक व्यवहारबारे गुप्तचरी गर्ने गर्छ ।” म सतर्क भएँ ।
कारागारमा पनि जनआन्दोलनको कार्यक्रमअनुसार सम्भव भएसम्मका कार्यक्रम हुने रहेछ । बत्ती निभाउने कार्यक्रम भएमा सबै आस्थाका बन्दीहरू एकै ठाउँमा बसेर बत्ती निभाई बस्ने, सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रममा खुला ठाउँमै भेला भई नेताहरूले बोल्ने कुरा मलाई अनौठो लाग्यो । यस्ता कार्यक्रमहरूले जेलमा पनि भावनात्मक एकता कायम भएको महसुस हुन्थ्यो ।
बहुदलको घोषणा र बन्दी रिहाको क्रम
२०४६ सालको चैत २६ गते पञ्चायती मन्त्रिमण्डलको विघटन र बहुदलको घोषणा भयो । जेलमा खुसीयाली छायो । भोलिपल्ट नै जनआन्दोलनको क्रममा पक्राउ गरेका बन्दीहरू रिहा भए । तर हामी रिहा भएनौँ । शान्ति सुरक्षा ऐनअन्तर्गतका बन्दीहरू रिहा भएको जानकारी पायौँ । हामीले प्रहरीलाई ढुङ्गा हानेको आरोपमा सार्वजनिक अपराधको मुद्दा लगाइएको थियो । त्यसैले हामी रिहा भएनौँ । मुद्दा फिर्ता लिएपछि मात्रै रिहा हुने जानकारी पाइयो । चैत ३१ गतेमात्रै हामी रिहा भयौँ । भक्तपुर काण्डमा फसाइएका दाइहरूको रिहा हुने नहुने अझै केही ठेगान रहेनछ । दाइहरूको पनि मुद्दा फिर्ता भई छिट्टै रिहा होस् भन्ने कामना गर्दै हामी बाहिरियौँ । भक्तपुरमा बिस्केटको माहोल रहेछ । जनआन्दोलनको चर्चासँगै साथीहरू र परिवारसँग बिस्केट जात्रा मनायौँ ।
एउटा सचेत नागरिकको नाताले देश र जनताको अधिकार प्राप्तिको आन्दोलनमा सहभागी हुन पाउँदा गर्व महसुस हुन्छ । केही दिनपछि मातृभूमि पत्रिकामा का.रोहितको अन्तर्वार्ता पढ्ने मौका मिल्यो । त्यसको शीर्षक थियो ‘बहुदलको एक चम्चा पानीले तिर्खा मेटिन्न ।’ लाग्यो आन्दोलन त अझै सकिएको रहेनछ ।
Leave a Reply