भर्खरै :

विश्वकप क्वालिफायर ः नेपालको विजयी सुरुआत

काठमाडौँ, ७ फागुन । अन्तर्र्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजीत गरेको छ ।
थाइल्याण्डको बैङ्ककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पछ्याएको मलेसियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रनमात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो ।
मलेसियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिङ्गमले समान २१÷२१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालकी करुना भण्डारी र सरिता मगरले समान दुई÷दुई विकेट लिए । कविता कुँवर र सीता रानामगरले समान एक÷एक विकेट लिए ।
यसअघि टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुविना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् । मलेसियाका लागि दुराइ सिगम, शाशा आज्मी र जुमिका आज्मीले एक÷एक विकेट लिएका थिए । जितसँगै नेपालले एक खेलबाट दुई अङ्क जोडेको छ ।
दोस्रो खेल फागुन यही फागुन ९ गते थाइल्याण्डसँग, १० गते संयुक्त अरब इमिरेट्स (यूएई), फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसीसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा छानिनेछ ।
एसिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, यूएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोविनको आधारमा हुने छनोटको विजेताले आइसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *