भर्खरै :

विदेशी साहित्यको अध्ययनमा आलोचनात्मक दृष्टिकोणको विकास गरौँ

दार्जीलिङको ‘युग सन्तान’ बाट प्रकाशित वर्ष १, अङ्क १ को ‘युग’ को सम्पादकीयमा प्रगतिशील साहित्यको पक्ष लिने कुरो प्रस्ट उल्लेख गरिएको छ । यो राम्रो कुरा हो । तर, त्यस अङ्कमा धरानका योगेन्द्र तिमिल्सिनाको ‘अक्टोबर क्रान्ति र सोभियत साहित्य’ भन्ने लेखको ठम्याइसँग ‘युग’ को उद्देश्य मेल खान्दैन । प्रगतिशील साहित्यले सामन्तवाद, साम्राज्यवाद, नयाँ र पुरानो उपनिवेशवाद र सामाजिक–साम्राज्यवादको विरोध गर्छ । शोषण, थिचोमिचो र अन्याय—अत्याचारको अगाडि घुँडा टेक्ने, स्वतन्त्रता र मुक्ति सङ्घर्षलाई निर्बलियो पार्ने खालका विचार र साहित्यलाई प्रगतिशील साहित्यले विरोध गर्छ ।
सोभियत सङ्घको कम्युनिष्ट पार्टीको २० औँ र २२ औँ महाअधिवेशनपछि रुसी पार्टीको नेतृत्व गुटले माक्र्सवाद–लेनिनवादमाथि पूर्णरुपले विश्वासघात ग¥यो र पहिलो समाजवादी देशमा फेरि पुँजीवाद स्थापना भयो । रुसी संशोधनवाद सामाजिक–साम्राज्यवादमा पतन भइसकेको छ । रुसी सामाजिक—साम्राज्यवादले पनि संरा अमेरिकी साम्राज्यवादले जस्तै आफ्नो देशको जनता र अरु देशका जनतालाई शोषण र अत्याचार गर्दैछ, विभिन्न देशमा थिचोमिचो र हस्तक्षेप गर्दैछ । संशोधनवाद र सामाजिक–साम्राज्यवाद क्रान्तिविरोधी, युगविरोधी र प्रगतिविरोधी विचार भएकोले प्रगतिशील साहित्य त्यस विचारलाई विरोध गर्छ । रुसमा पुँजीवादलाई फेरि स्थापना गर्न रुसी पार्टीको नेतृत्व गुटले पहिले विचारधारामा हेरफेर ल्यायो । त्यसले समाजवादी साहित्य र कलाको ठाउँमा फेरि पुँजीवादी साहित्यलाई स्थापना ग¥यो । साहित्य र कलाको फाँटमा पुँजीवादीलाई स्थापना गर्ने कामको अगुवाइ गर्ने मुख्य व्यक्ति मिखाइल सोलोखोभ हुन् । लेखक तिमिल्सिनाले आफ्नो लेखमा मिखाइल सोलोखोभ र पास्तरनाकजस्ता क्रान्तिविरोधी र संशोधनवादीहरूलाई प्रगतिशील लाममा राखे । विदेशी साहित्यलाई आलोचनात्मक दृष्टिकोणले हेर्ने परम्परा नभएको हुँदा कहिलेकाहीं हामी नेपाली पाठकहरू अरुको एकपक्षीय प्रचारको शिकार हुन पुगेका हुन्छौँ । त्यस्तै कमजोरीले गर्दा हामी कुनै देशको साहित्यलाई आँखा चिम्लेर पूजा गर्र्छौ र अर्को देशको साहित्यलाई अन्धो भएर विरोध गर्छाैँ । कुनै पनि साहित्यलाई माक्र्सवादी वा आलोचनात्मक ढङ्गले अध्ययन गर्ने बानी बसाल्न नसकेसम्म हामी त्यस विरामबाट जोगिन सक्ने छैनौँ ।
नयाँ प्रयोग, यथार्थवाद र जीवनको जटिलतासँग परिचित हुने निहुँमा पुगनपुग दुई दशकदेखि रुसी साहित्यमा प्रेम, हत्या, अपराध, जासुसीजस्ता उत्तेजनात्मक, व्यक्तिवादी, फोहर र स्वार्थी विचारहरूले ठाउँ लिन थालेका छन् । साहित्यलाई आलोचनात्मक ढङ्गले अध्ययन गर्ने पाठकहरूबाट यो कुरो लुकेको छैन । तर, लेखक तिमिल्सिना आफ्नो लेखमा लेख्छन् “नयाँ प्रयोगको नाउँमा पुँजीवादलाई पुनःस्थापना गर्ने उद्देश्यले लेखिएका प्रतिगामी रचनाहरूलाई सोभियत रसियामा छुट दिइँदैन, समाजवादी यथार्थवाद आफ्नो सोभियत रसियाली साहित्यको मुख्य आधार हो ।” आजको रुसी साहित्यबारे लेखक तिमिल्सिनाको उक्त ठम्याइ एकतर्फी प्रचारको प्रभाव वा आलोचनात्मकढङ्गले हेर्ने बानी नभएको हुनुपर्छ । ‘समाजवादी यथार्थवाद’ कै नाममा संशोधनवादीहरूले ‘केटाकेटी बिगार्ने बाल फिलिमहरू बनाउँछन् । ‘म तिमीलाई प्रेम गर्छु’ भन्नेजस्ता सिनेमा बनाउँछन् । त्यस फिलिमको नायक नै १२ वर्षको एक केटी हुन्छ ।” (आजका रुसी साहित्यलाई राम्रोसँग ठम्याउन त्यसको सैद्धान्तिक आधार संशोधनवाद र सामाजिक–साम्राज्यवादबारे जानकारी राख्नु आवश्यक छ । हेर्नुहोस्—रामबहादुर ‘ज्यापू’ ले लेख्नुभएको ‘रुसी संशोधनवाद, सामाजिक–साम्राज्यवादमा पतन ।’)
रुसी लेखक पास्तरनाकबारे तिमिल्सिनाज्यू भन्छन् — “उनी साम्यवादका पक्षपाती थिए र पुँजीवादलाई घृणा गर्थे ।” तर, उसको ‘डाक्टर जिवागो’ वास्तवमा क्रान्तिविरोधी साहित्य हो । त्यस उपन्यासमा लेखक घुमाइ–फिराइ सन् १९१७ को महान समाजवादी क्रान्ति, बोल्शेविक क्रान्तिकारीहरू र साम्यवादलाई विरोध गर्छन् । क्रान्तिको आँधीबेहरीको बेलामा पास्तरनाकको विचार उपन्यासमा प्रस्टिन्छ “..मेरो भविष्य अँध्यारो छ । रुसको महान नगर मस्को दुःखको किल्ला बनिरहेको छ ।” त्यस्तै ठाउँ–ठाउँमा उसले थुप्रै निरासावादी र क्रान्तिविरोधी विषालु भावनाहरू पोखेको छ, “रुसमा सच्चाइ कहाँ छ र ¤ म के देखिरहेछु भन्ने सच्चाइलाई लुक्नुपर्ने गरी तेर्साइदिएको छ ।” (पाठक साथीहरू, पास्तरनाकको यो विचार आजको सामाजिक–साम्राज्यवादी रुसबारे होइन ¤ बरु लेनिन र स्तालिनको नेतृत्वमा भइरहेको महान् समाजवादी क्रान्तिको समयलाई भनिरहेको हो ।) त्यस्तै पास्तरनाक आफ्नो उपन्यासमा एक वा अर्को पात्रको मुखबाट भित्री मनसाय पोख्दै लेख्छ “…यो राजनीति मलाई आँखैले हेर्न मनलाग्दैन ।” पाठक साथीहरू, यहाँ पास्तरनाक क्रान्तिकारी राजनीतिलाई गाली गर्दैछ र प्रतिक्रियावादी र क्रान्तिविरोधी राजनीतिलाई बल पु¥याउन खोज्छ । यो पास्तरनाकको ठूलो क्रान्तिविरोधी राजनीति हो । त्यस्तै “…साम्यवादी भए पनि अहिले भइरहेको कुरालाई वास्तविक जीवन होइन, बहुलठ्ठीपन हो भन्ने मान्छौँ ।” यहाँ उसले एक कम्युनिष्टको आदर्शलाई फितलो पार्न खोजेको छ र क्रान्तिलाई ‘बहुलठ्ठीपन’ भन्छ । के यो क्रान्तिविरोधी राजनीति होइन ? क्रान्तिको अवस्थामा बहुमत जनता अत्यन्त उत्साह, खुसी र जोशले सक्रिय हुन्छन् । तर, पास्तरनाक उल्टो चित्रण गर्छ “…सबै मानिसहरूको मुख अँध्यारो देखिन्थ्यो र बोल्नलाई पनि डराउँथ्यो ।” क्रान्तिकारी र क्रान्तिलाई गाली गर्दै ऊ भन्छ “कानुनलाई हातमा लिने क्रान्तिकारीहरू धेरै खतरनाक हुन्छन् …पहिलेको जमानामा (अर्थात् जार र पुँजीवादी शासनमा–सं.) मानिसहरू भाग्न सक्थे अब कोही भागेर त हेर…” आदि । सारमा पास्तरनाक एक क्रान्तिविरोधी र प्रतिक्रियावादी हो ।
२०१५–१६ सालको नेपालको पहिलो ठूलो चुनावमा नेपाली काङ्ग्रेसका समर्थकहरूले पास्तरनाकको ‘डा. जिवागो’ उपन्यासलाई साम्यवादविरोधी ज्यावलको रुपमा लिएका थिए । काठमाडाँैस्थित अमेरिकी पुस्तकालय त्यस पुस्तकको मुख्य वितरक र प्रचारक थियो ।
तिमिल्सिनाज्यू पास्तरनाक र मिखाइल सोलोखोभलाई गोर्की, फेयदेव र ओष्ट्रोवस्कीजस्ता महान रुसी लेखकहरूको लाममा राख्छन् । जसले क्रान्तिको पक्षमा सेवा गर्नुभएको थियो । मिखाइल सोलोखोभको “दोन सुस्त बहन्छ” भन्ने उपन्यासलाई तिमिल्सिनाज्यू ‘महान उपन्यास’ ठान्छन् । तर, त्यस उपन्यासको मुख्य पात्र एक गुण्डो हो । रुसी ग्रन्थहरूबारे उनी भन्छन् “जसको (अर्थात् सोभियत रसियाली साहित्यका महान ग्रन्थहरूको) गम्भीर अध्ययन पूरा हुनसक्दैन ।)”
आश्चर्य छ, ती ‘महान ग्रन्थहरूको गम्भीर अध्ययन’ किन पूरा हुनसक्दैन ? यदि मिहिनेतपूर्वक अध्ययन गरेमा र आलोचनात्मक दृष्टकोण विकास गरेमा नेपाली जनताले रुसी साहित्यका ग्रन्थहरूको गम्भीर अध्ययनमात्रै पूरा गर्न सकिने होइन कि संसारका अति जटिलतम कुराहरूको पनि पूरा अध्ययन गर्नसक्नेछन् । नेपाली जनताको मिहिनेत, सङ्घर्ष गर्ने भावना र रचनात्मक प्रतिभालाई तल खसालेर हेर्ने होइन, बरु त्यसलाई झन्–झन् माथितिर विकास गर्न र अरुलाई उछिन्ने आँट जगाउने ढङ्गले हेर्नु र दोहो¥याउनुपर्छ । त्यसो गर्न हामीले देश र जनताको भाषा, साहित्य, कला र ज्ञान–विज्ञानको सकारात्मक र नकारात्मक अध्ययन गर्नुपर्नेछ । आफूभन्दा ठूलो र बलियो देशको बल, बुद्धिको अगाडि झुक्ने र आँखा चिम्लेर त्यसलाई स्वीकार गर्ने आत्मसमर्पणवादी, पिछलग्गू विचार र स्वभावको विरोधमा हामीले सङ्घर्ष गर्नुपर्छ । ठूलो र बलियो देशको बल र बुद्धिको अगाडि लत्रने विचार एक व्यक्तिको मात्रै कमजोरी हुन्छ भन्ने होइन, बरु हाम्रोजस्तो सामन्ती, अर्ध–सामन्ती उपनिवेश र अर्ध–उपनिवेश देशका जनतामा हुने वैगुण वा कमजोरी हो । तर त्यसको अर्को पक्ष पनि हुन्छ, त्यो हो ठूलो र बलियाको अगाडि नलत्रने र त्यसको विरोधमा सङ्घर्ष गर्ने आँट । हामीले विचारधारात्मक क्षेत्रमा ठूलो र बलियो देशसँग नलत्रने र सङ्घर्ष गर्ने आँटलाई विकास गर्नुपर्दछ । विदेशीहरू यसबारे कसरी सोच्छन् ? यसबारे हामी मस्कोमा अध्ययन गरिरहेका एक विदेशी विद्यार्थीले सोलोखोभको ‘मानिसको भाग्य’ भन्ने एक छोटो कथालाई कसरी आलोचना गरेका थिए भन्नेबारे चर्चा गर्छौँ । त्यसको शीर्षक थियो ‘रुसी कलेजको एक जाँचमा संशोधनवादको विरोधमा सङ्घर्ष ।” (१० जनवरी १९६४ को दिन सोभियत सङ्घको उच्च शिक्षण संस्थामा एक जाँच भएको थियो । त्यस जाँचमा ‘सोभियत साहित्य’मा ‘एक मानिसको भाग्य’ शीर्षकको छोटो कथाको महत्व के छ’ भन्ने प्रश्न गरिएको थियो । सोभियत सङ्घमै अध्ययन गरिरहेका एक विद्यार्थीले त्यस प्रश्नको उत्तरमा संशोधनवादी लेखक मिखाइल सोलोखोभलाई निन्दा गरे र त्यस कथालाई चर्को आलोचना गरे । विदेशी विद्यार्थीको आलोचनालाई मुख्य परीक्षकले टिपोट गरेका थिए, त्यो पनि तल दिइएको छ । सं.)
महान देशभक्तिपूर्ण युद्धको बेला सोभियत जनताले सारा संसारलाई आफ्नो वीरताको परिचय दिएका थिए । बलिदानको वास्तै नगरी तिनीहरूले फासिष्ट आक्रमणकारीहरूको पशुबलको अगाडि आफ्नो टाउकोलाई झुकाउन स्वीकार गरेनन् । मरेका सेनाको ठाउँ तुरुन्तै नयाँ लडाकु सेनाले लिइहाल्थे । माट्रोशोभ, जोया र शुराकर मोइम्यान्स्कीजस्ता हजारौं हजार उत्साह दिने वीरहरू युद्धको आगो र लडाइँको परीक्षामा उत्रे । ती सोभियत जनताले फासिष्ट जर्मनीलाई हराए, तिनीहरू आफ्नो मातृभूमिको रक्षामा पूर्णरुपले सफल भए । तिनीहरूले पूर्वी युरोपेली देशहरूको मुक्तिको निम्ति ठूलो मद्दत गरे । तिनीहरूलाई यस महान् विजयको निम्ति गौरव गर्ने श्रेय छ ।
‘मानिसको भाग्य’ भन्ने छोटो कथाकोे मुख्य पात्र भएको सोकोलोभले पनि अरुले जस्तै त्यस महान् युद्धमा भाग लिन्छ । सोलोखोभ त्यस पात्रलाई एक वीर भनी सा¥है तारिफ गर्छ । अब त्यस महान् युद्धमा उसको विचार कस्तो थियो ? त्यस पात्रले के गर्यो र सोलोखोभ आफ्नो वीर पात्रको वर्णन गर्दै के भन्न खोज्छ ?
सन् १९२२ को अनिकालको बेलामा सोकोलोभको नातागोता सबै मरे र ऊ एक्लो भयो । विवाहले उसको जीवनलाई सुख ल्याइदियो र उसले आफ्नो घर बनायो । स्वास्नी अटल भएकीले एक छोरा र दुई छोरीहरू जन्माइन् । उसलाई आफ्नो छोरोको तीखो बुद्धिबारे सा¥है घमण्ड थियो । तर देशभक्तिपूर्ण लडाइँ भयो । उक्त लडाईले उसका स्वास्नी र केटाकेटीहरू छिनेर लग्यो । उसको घर बेच्यो र फेरि ऊ एक्लो भयो । उसको दुःखको सीमा रहेन । उसको विषयमा पाठकहरूलाई परिचय दिंदा लेखकले सोकोलोभको आँखामा विशेष ध्यान दिन खोज्छ, “आँखा खरानीले भरिएको जस्तो बिर्सनै नसकिने, मरेजत्तिकै दुःखको थियो, हेर्नै नसक्ने गरी दुखेको थियो ।”
सोलोखोभले त्यस वीरको दुःखद् भाग्यमा आफ्नो गहिरो सहानुभूति प्रकट गर्छ । उसको भाग्यको वर्णन गर्दै लेखकले प्रश्न ग¥यो—कसले सोकोलोभको सुखलाई लुट्यो ? उसको सुख कसरी सुरक्षित गर्न सकिन्थ्यो ? यी प्रश्नहरूको उत्तर प्रस्ट छ । लेखकको भनाइको अर्थ हो, त्यस देशभक्तिपूर्ण युद्धले सोकोलोभको सुख छिन्यो, त्यस्तै त्यो लडाइँ नभएको भए सोकोलोभले आफ्नो परिवार गुमाउनुपर्ने थिएन र ऊ सबैभन्दा सुखी मानिस हुने थियो । यसको मतलब हो, सोकोलोभको सुख साँची राख्न त्यस देशभक्तिपूर्ण युद्ध लडिनु हुँदैनथ्यो र त्यसको विरोध गर्नुपर्दथ्यो । सोलोखोभको विचार यही हो ।
बाँकी भोलिको अङ्कमा
स्रोतः जनताको साहित्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *