भर्खरै :

प्रमुख प्रजापतिसँग तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको भेट

प्रमुख प्रजापतिसँग तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनको भेट

भक्तपुर, २० साउन । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिसँग तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनले बुधबार भेटघाट गर्नुभयो ।
भेटका क्रममा दुवै नगर प्रमुखबिच स्थानीय सरकार सञ्चालनका अनुभव, सुशासन, सेवा प्रवाह, विकास निर्माण, स्वास्थ्य, शिक्षा, सरसफाइ तथा नगर व्यवस्थापनलगायतका विषयमा अनुभव आदानप्रदान भयो । उहाँहरूबिच एकअर्काका असल अभ्यासबाट सिक्दै स्थानीय तहबिचको सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा प्रमुख प्रजापतिले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक तथा मौलिक पहिचानबारे जानकारी गराउँदै भक्तपुर नेपालकै मौलिक सहरका रूपमा परिचित रहेको बताउनुभयो ।
उहाँले नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप नर्सिङ कलेजलगायतका शैक्षिक संस्थामार्फत प्राविधिक तथा उच्च शिक्षा विस्तार गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको जानकारी दिनुभयो ।
तारकेश्वर नगरपालिकाका नगर प्रमुख महर्जनले आफ्नो नगरपालिकाको धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनाबारे जानकारी गराउनुभयो ।
धार्मिक पर्यटनलाई स्थानीय आर्थिक विकाससँग जोड्दै रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन तथा नगरवासीको जीवनस्तर उकास्ने लक्ष्यका साथ विभिन्न योजना कार्यान्वयन भइरहेको उहाँले उल्लेख गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई भक्तपुर नगरपालिकाद्वारा प्रकाशित विभिन्न पुस्तक र प्रकाशनहरू हस्तान्तरण गर्नुभयो । भेटमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, शिक्षक अमित कार्कीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *