भर्खरै :

साहित्यकार शिव रेग्मीको सम्झना

जोशी
‘शिव रेग्मीको निधन भयो, थाहा भयो ?’
नीरज भाइको फोनले भर्खरै खाएको भोज पनि कता कता विलिनो लाग्यो ।
समय ठ्याक्कै थाहा भएन, सायद डेढ–दुई वर्ष अगाडि वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठ (नारायणमान बिजुक्छें (रोहित) सँग सुरेन्द्रराज गोसाई र म शिव रेग्मीसँग उहाँको निवासमा भेट्न गएको सम्झना भयो । सोध्दै उहाँको निवास पुग्दा का. रोहितलाई हार्दिकतासाथ स्वागत गर्नुभयो । छिंडीकै कोठामा पुस्तकहरूको रास देख्दा मनमनै ‘वाफ रे’ भनेँ । ¥याकहरूमा पुस्तकहरू टन्न थिए । टेबुलहरूमा त्यत्तिकै चाङ–चाङ पुस्तकहरू देखें । शिव रेग्मी स्वयम् शारीरिक रुपले दुब्लो हुनुहुन्थ्यो तर पुस्तकहरूको रासले उहाँ अध्ययन–अनुसन्धान र लेखनमा धम्मरघुस नै मोटो लाग्यो ।
का. रोहितलगायत हामीलाई आसन दिएपछि उहाँ पनि बस्नुभयो । का. रोहित र रेग्मीबीच भलाकुसारीपछि साहित्यिकलगायतका कुराकानी भयो ।
भेटका सबै कुरा स्मरण अहिले भएन तर प्रसिद्ध साहित्यकार हृदयचन्द्रसिंह प्रधानको विषयमा लामै विचार आदानप्रदान भयो । प्रधानको विषयमा उहाँले गहन अध्ययन गर्नुभएको तथ्य वार्ताको क्रममा सहजै अनुभूति भयो । निबन्धकार, नाटककार, उपन्यासकार, व्याकरणविद्, कवि हृदयचन्द्र सिंहका विषयमा उहाँले पुस्तकहरू पनि प्रकाशित गर्नुभएको छ । केही अप्रकाशित पुस्तक प्रकाशनको तयारीमा लागेको पनि उहाँले जानकारी दिनुभयो । प्रधानको विषयमा विविध ज्ञान र जानकारीका उहाँ ढुकुटी नै लाग्यो । उहाँको असामयिक निधनले नेपाली साहित्य क्षेत्रका एक व्यक्तित्व अस्तायो । साथै स्व. प्रधानका विविध विषयमा थप जानकारी पाउने अवसर साहित्यिक क्षेत्रले गुमायो । यो ठूलो क्षति हो । स्व. रेग्मीप्रति हार्दिक श्रद्धाञ्जली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *