नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
अस्ट्रेलियामा अध्ययनरत हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । अधिकांश नेपाली विद्यार्थी अध्ययनरत कलेजको सम्बन्धन नै त्यहाँको सरकारी निकायले खारेज गरेपछि त्यहाँ नर्सिङ पढिरहेका विद्यार्थीलाई निल्नु न ओकल्नु भएको छ । अस्ट्रेलियामा अहिले चालीस हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । तीमध्ये एक हजार विद्यार्थी पढिरहेका कलेजहरूको सम्बन्धन नै खारेज भएपछि उनीहरू समस्यामा परेका हुन् । नेपाल सरकारले नेपाली विद्यार्थीहरूको समस्या समाधानको निम्ति कूटनीतिक माध्यमबाट तत्कालै पहलको थालनी गर्नुपर्छ । नेपालीजस्तै अन्य देशका विद्यार्थीसमेत अन्योलमा परेको अवस्थामा ती देशका सम्बन्धित निकायसँग समन्वय गरी तत्काललाई समस्याको समाधान निकाल्न आवश्यक छ ।
नेपालमा पढ्न सकिने विषयमा विदेशमा पढ्न जान नेपाली विद्यार्थीलाई निरुत्साहित गर्नुपर्छ । डिप्लोमा इन नर्सिङ विषय पढ्न नेपालमै धेरै कलेजहरू छन् । विद्यार्थीले पढ्न चाहेर पनि कलेजको सङ्ख्या नपुगेको भए अरु थप कलेज र अस्पताल स्थापना गर्न सकिन्छ । सरकार आफ्नै लगानीमा यस्ता कलेज र अस्पताल स्थापना गर्दा ‘समाजवादउन्मुख सरकार’ हुनुको सान पनि रहला । नेपालमै पढ्न सकिने विषयमा समेत विदेशमा पढ्न आकर्षित गर्न अनेकन रङ्गीचङ्गी झिलिमिली देखाएर उत्साहित गर्ने व्यापारिक परामर्श केन्द्रलाई बन्द गरिनुपर्छ । कलेजबारे विस्तृत र सत्य कुरा नै भनी आफ्नो नाफाको लागि झूटा कुरा गरेर फकाई फुलाई विद्यार्थीलाई विदेश पठाउने व्यापारीहरूलाई सरकारले कारबाही गर्नसकेमात्र सरकार आफ्नो भविष्यका कर्णाधारप्रति संवेदनशील भएको ठहरिनेछ ।
अधिकांश किशोरकिशोरीहरू अस्टे«लियाको बाहिर झिलिमिलीबाट आकर्षित भएर जुन कुनै बहानाबाजीमा त्यता जाने गरेका छन् । कतिपय विद्यार्थी त नक्कली विवाह गरेर र कोही कलिलो उमेरमै विवाह गरी अस्ट्रेलिया जाने गरेका छन् । आफ्नो घरमा सानोतिनो घरेलु काम गर्नसमेत अन्कनाउने किशोरकिशोरीहरू विदेशी भूमिमा कठोर शारीरिक परिश्रम गरी आफ्नो पढाइ खर्च जुटाउने गर्छन् । त्यस्ता कतिपय दुःखका कुरा नेपालका आफन्तलाई बताइँदैन । समुद्र छेउ रमाइरहेका तस्वीर विद्युतीय सञ्जालमा सम्प्रेषण हुँदा त्यसैलाई सत्य मान्दै अरु पनि धेरै नेपाली युवाहरू उतातिर जाने गरेका छन् ।
नयाँ पुस्तामा आफ्नो देशमा काम गर्न अल्छी गर्ने अनि विदेशी भूमिमा भने जस्तोसुकै काम गर्न पनि तयार हुनुको कारण के हो ? आफ्नो देशप्रति माया र गौरव किशोरकिशोरीमा नपलाउनुको कारण के हो ? हाम्रो शिक्षा प्रणाली र सामाजिक बन्दोबस्तमा के खोट छ र, आज धेरै युवाहरू विदेशी झिलिमिलीलाई सुख मानेर उडिरहेका छन् ? राज्य वास्तवमै आफ्ना नागरिकप्रति संवेदनशील हो भने यस्ता विषयका कारण खोजी पत्ता लगाउनुपर्छ ।
विद्यालयदेखि कलेजसम्म पढाइने पढाइ नैतिक मूल्य र देशभक्ति भावनाबाट अभिप्रेरितभन्दा पनि पैसामुखी र स्वार्थमा आधारित शिक्षा भएकोले नयाँ पुस्ता अस्ट्रेलिया र अमेरिका नै स्वर्गको टुक्रा हो भन्ने भ्रममा बाँच्छन् । त्यसैको परिणाम आज विदेशमा जाने सक्नेको विशिष्ट श्रेणी र नेपालमै बाँच्नेको दोस्रो श्रेणी बनेको भ्रमपूर्ण वर्गीकरण भइरहेको छ । निःसन्देह ज्ञानको भोकमा संसारको जुन कुनै देशमा जान सकिन्छ । तर, विदेश नै स्वर्ग हो भन्ने चिन्तनलाई निरुत्साहित गर्न राज्य स्वयम्ले भूमिका निभाउन आवश्यक छ ।
यसको निम्ति सरकारले प्रयोग गर्ने भनेको सांस्कृतिक बल नै हो । सरकारले शिक्षा र प्रचारमाध्यमबाट नै देशप्रति गौरव गर्नसक्ने अवस्था बनाउनुपर्छ । नेपालकै शिक्षाको गुणस्तर उकास्न सरकारले गम्भीर भूमिका निभाउन जरुरी छ । नेपालको शैक्षिक गुणस्तरमा सुधार गर्दै जाने हो भने विदेशिने युवामा विदेशमुखी चिन्तन रोकथामको लागि धेरै सहयोगी हुनसक्छ ।
Leave a Reply