भर्खरै :

स्रष्टा र अभिव्यक्ति स्वतन्त्रता

हरिसुन्दर सुवाल
हालै मात्र लोकप्रिय गायक पशुपति शर्माको “लुट्न सके लुट…” बोेलको गीतलाई लिएर सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायत सार्वजनिक स्थलहरूमा निकै बहस भइरहेको छ । देशको वर्तमान स्थितिबारे तीतो कटाक्ष या व्य·य गरिएको उक्त गीतमा नेपाली जनताको वास्तविक पीडा अभिव्यक्त भएको सुनिन्छ । संविधानतः देशको सार्वभौमिकता, स्वाधीनता तथा राष्ट्रियतामा आँच नआउने किसिमको अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकलाई छ । त्यसमाथि कुनै स्रष्टाको सृजना वा अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि बहानामा राज्यले कुण्ठित पार्नुहुँदैन । सर्जक वा स्रष्टाका गीत–सङ्गीतको माध्यमबाट पनि नेपाली जनता सुसूचित हुन पाउँछन् । राम्रा साहित्यकार, रचनाकार, कलाकारको मेहनत र योगदानबाट देशको इज्जत प्रतिष्ठामा थप वृद्धि हुने भएकोले तिनका सम्मान एवं कदर राज्यले गर्नैपर्छ ।
साहित्य समाजको दर्पनमात्र नभई यसले समाजलाई उज्ज्वल भविष्यतर्फ दोहो¥याउन महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । जसरी पशुपति शर्माका अघिल्ला गीतहरूले आम जनमानसमा देशप्रति अगाढ माया र दायित्व बोध गराए त्यसरी नै “लुट्न सके लुट…” गीतले पनि नेपाली जनतालाई शासक दल र राज्यप्रति आलोचनात्मक ढङ्गले हेर्न सचेत गराउनुका साथै सिद्धान्तहीन तथा गैरजिम्मेवार राजनीतिक नेतृत्वप्रति खबरदारी गरेको छ । हिजो राणा शासन, राजतन्त्र र पञ्चायतको चर्को विरोध गर्नेहरू आज त्यही ठाउँमा पुगिसक्दासमेत नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न पाइरहेका छैनन् । त्यतिमात्र नभई देशमा लोकतन्त्र गणतन्त्र ल्याउन अथक सङ्घर्ष र बलिदान गर्ने देशभक्त न्यायप्रेमी जनताले राहतभन्दा पनि आहत पाइरहेका छन् ।
एकातिर धनी र गरिबबीचको खाडल झन्झन् गहिंरिंदै गइरहेको छ भने अर्काेतिर राज्य सञ्चालनका ठेकेदारहरू एकपछि अर्को काण्डमा फस्दै गइरहेका छन् । वाइडबडीमा अरबौ भ्रष्टाचार, मालपोत र भन्सारमा दैनिकजसो भ्रष्टाचारको सङ्ख्यामा वृद्धि हुनु, सहायक सीडीओ, अख्तियार आयुक्तसमेत भ्रष्टाचारमा मुछिनु, ३३ किलो सुनकाण्डमा साना ठूला माछाको प्रसङ्ग इत्यादिबाट कतै यो देश भ्रष्ट, हत्यारा, गुण्डाहरूले सञ्चालन गरिरहेको त छैन भन्ने लाग्दछ । चुनावको बेला गुण्डा नाइके, भ्रष्टाचारी, तस्करी र डनहरूलाई तिनीहरूबाट करोडौं रकम असुली टिकट दिई जिताएका कारण आज देशले यस्तो दुर्दशा भोग्नुपरेको भाव स्पष्ट झल्किने गीत भएको हुनाले शासक दलका भ्रातृ सङ्गठनबाट उक्त गीत यूट्युवबाट हटाउन एक देशभक्त एवं कर्मठ स्रष्टा पशुपति शर्मालाई धक्याइएको खबरले पक्कै न्यायप्रेमी देशभक्त हरेक स्रष्टा र स्रोताको भावनामाथि ठूलो चोट पुगेको हो । गैरजिम्मेवार स्थायी शिक्षक, भ्रष्ट सरकारी कर्मचारी, निर्माण कम्पनी तथा ठेक्कापट्टा लिने ठेकेदारहरूले देशको ढुकुटी कसरी लुटे भन्दै सुशासन र दण्डविहीनताको कमीले गर्दा देशमा एक खालको अराजक स्थितिप्रति उक्त गीतले राम्रै व्य·य गरेको पाइन्छ । आफ्नो कलङ्कित अनुहार ऐना अगाडि उभिएर हेर्दा आफैलाई लज्जास्पद हुने कुरो बिर्सेर एउटा स्वच्छ आलोचनात्मक गीतमाथि लगाइएको प्रतिबन्धले शासक दलहरूको राजनीतिक स्वार्थ, बेइमानी र फासिष्ट शैली छताछुल्ल भएको छ । देशका कुना काप्चामा कष्टसाध्य जीवन बिताउन बाध्य जनतालाई सचेतना दिने काम एउटा गीतमार्फत हुनु नितान्त समय–सान्दर्भिक भएको महसुस नेपालीले गरिरहेका छन् । नबिराउनु नडराउनु भनेझैं गायक पशुपति शर्माले जुन गीत पस्केर गतिहीन र दिशाहीन हुन लागेको नेपालको राजनीतिलाई एक खालको गति प्रदान गर्ने काम भएको छ त्यसलाई सबैले सम्मान गर्नु आवश्यक छ । यदि वर्तमान सरकार सच्चिने हो भने तमाम देशवासीहरूको कथा व्यथा समेटी तयार पारिएका यस्ता प्रगतिशील गीतहरू, तिनका गायक, सर्जकहरूको अभिब्यक्तिलाई सम्मान गर्नुपर्दछ । स्रष्टा भनेका देशका गहना हुन् । तिनले उचित कदर सम्मान पाएनन् भने अवसरका लागि विदेशिने सम्भावना बढ्ने भएकोले समयमै बुद्धि पु¥याइनुपर्दछ । राज्य सञ्चालकहरूको कमी कमजोरी औंल्याइदिने जोकोही व्यक्तिलाई सम्बन्धित पक्षले सहज र सकारात्मकरुपमा लिनु नै उक्त विवाद समाधानको उपाय हो भन्ने लाग्छ ।
६० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि भएको देशका राष्ट्रपतिले साढे एक अर्बको हेलिकप्टर र १८ करोडको गाडी चढ्ने हैसियत कहाँबाट पाए भन्नेजस्ता अहम् सवाल उठाइएको उक्त गीतमाथि हिटमात्र होइन सुपरहिटको ट्याग लगाइ दिए पनि हुन्छ । पक्कै पनि केही बुद्धिजीवीका अनुसार पशुपति शर्माको गीतलाई लिएर कारबाही गर्ने धम्की दिने जुन काम भयो त्यसबाट सरकार पक्ष केबल परिणामलाई दोष दिंदै आफू पन्छिन खोजिरहेका त छैनन् भन्ने जिज्ञासा पैदा भएको छ । तर, वास्तवमा परिणामलाई दोष दिनुभन्दा त्यसको कारणको खोजी हुनुपर्ने थियो । कम्युनिष्टहरूले आलोचना र आत्मालोचनादेखि पट्टकै नडराई देश र जनताको निःस्वार्थ सेवामा समर्र्पित भई काम गर्नुपर्ने हो । तर, आफ्नो स्वार्थ र राजनीतिक छविमा अलिकतामात्र खबरदारी कसैबाट भयो भने उसलाई झम्टीहाल्ने प्रवृत्ति जिम्मेवार राजनीतिक दलका नेतृत्वले देखाउनु कहाँसम्म उचित हो ? हिजो त्यही मौलिक अधिकार र वाक् स्वतन्त्रताका लागि जेल, नेल भोगेका नेता कार्यकर्ताहरूले आज कसैको अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्नु कुन हिसाबले ठीक हो ? कुनै पनि काम आफूले गर्दा ठीक र अरुले गर्दा बेठीक देख्ने यो कुन राजनीतिक सिद्धान्त र आचरण हो ? जनता जान चाहन्छन् । निर्मला हत्याकाण्डका अपराधीहरूलाई कानुनी डायरामा ल्याउन नसक्नु, उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डीहरू पुर्न नसक्नु, बेपत्ता नागरिकहरूको छानबिन हुन नसक्नु, अपराधीहरूलाई राजनीतिक संरक्षण मिल्नु, वाइडबडी विमान खरिदमा ठूला नेता, मन्त्रीहरू मिलेर अरर्बाँ भ्रष्टाचार गरिनेको विरोधमा जनतासामु उदाङ्ग्याउन सफल गायक पशुपति शर्मालाई देशभक्त जनसमुदायको तर्फबाट शुभकामना दिनैपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *