भर्खरै :

ग्लोबल टाइम्सको सम्पादकीय : चीन मध्यपूर्वको भूराजनीतिक खेलाडी बन्न चाहँदैन

साउदी अरबका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान बिन गएको बिहीबार दुईदिने भ्रमणको लागि चीन पुगे । चीन जानुअघि उनले पाकिस्तान र भारतको पनि भ्रमण गरेका थिए । पाकिस्तान र भारतमा युवराज सलमानले केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर पनि गरेका थिए । उनको चीन भ्रमणले साउदी भिजन २०३० र चीनद्वारा प्रस्तावित बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बीच सम्बन्ध जोडिनुका साथै दुई देशबीचको विस्तृत रणनीतिक सहकार्यलाई बल पु¥याउने पर्यवेक्षकहरूले अपेक्षा गरेका छन् ।
अधिकांश पश्चिमा विश्लेषकहरूले यसलाई साउदी अरबको ‘पूर्व हेर’ नीतिको प्रतिफलको रूपमा विश्लेषण गरेका छन् । साउदी पत्रकार जमाल खास्सोस्गीको मुद्दा पछि पश्चिमा देशहरूबाट एक्लिएपछि साउदी अरबले पूर्वका देशसँग सम्बन्ध विस्तार गर्ने नीतिअन्तर्गत यो भ्रमण भएको उनीहरूको बुझाइ रह्यो । तर, यस्ता हलुका टिप्पणीले मध्यपूर्व र सिङ्गो संसारमा आज आइरहेका परिवर्तनलाई उपेक्षा गर्न खोजिएको देखिन्छ ।
तेलको कारण मध्यपूर्व संसारकै भूराजनीतिक केन्द्र बन्दै आएको छ । साउदी अरब र सो क्षेत्रका अन्य देशहरूले आफ्नो सुरक्षालाई पनि ध्यानमा राखेर पश्चिमा देशहरूलाई आफूसँग भएको तेल बेचिरहेका छन् । समयान्तरमा अनेक कोलाहलले सो क्षेत्रमा आतङ्कवादलाई जन्मायो । संरा अमेरिका र युरोपले ऊर्जा प्रविधिमा गरेको विकासका कारण उनीहरूले मध्यपूर्वबाट कम मात्रामा तेल खरिद गर्न थाले । मुसलमान जगतको द्वन्द्व दीर्घकालीन र जटिल प्रकृतिको छ ।
पत्रकार खास्सोस्गीको मुद्दाले ठूलो तरङ्ग निम्त्यायो । संरा अमेरिका र केही युरोपेली देशहरूले खाडी क्षेत्रको आफ्नो सबभन्दा ठूलो सहकर्मी देश साउदी अरबले मानव अधिकारको उल्लङ्घन गरेको आरोप लगाए । विगतमा ती देशहरू साउदी अरबको तेलविना बाँच्न पनि सकेका थिएनन् । तर, आजभोलि उनीहरू साउदी अरबसँगको सम्बन्धमा आफ्नो बढी योगदान भएको सोच्छन् । तेल किन्ने कि नकिन्ने, हतियार बेच्ने कि नबेच्ने, साउदी अरबसँग पश्चिमा देशहरूको सम्बन्धको मूल आधार नै यी प्रश्नसँग जोडिएका छन् ।
आफ्नो सुरक्षाको लागि साउदी अरब अझै पनि संरा अमेरिकामा निर्भर छ । पश्चिमसँगको सम्बन्ध साउदीको लागि अझै पनि महत्वपूर्ण विषय हो । तर, साउदीले आफ्नो रणनीतिक सहकार्यलाई विविधीकरण गर्न जरुरी छ । खास्सोस्गीको कारण भए पनि, नभए पनि साउदी अरबले पूर्व हेर्नैपर्छ ।
साउदीको अप्रशोधित तेलको सबभन्दा ठूलो क्रेता चीन हो र साउदी अरब चीनको लागि सबभन्दा ठूलो अप्रशोधित तेलको आपूर्तिकर्ता हो । साउदी अरबको तेल निर्यातको झण्डै ७० प्रतिशत तेल एसियाली देशमै हुने गरेको छ । ‘पूर्वतिर हेर’ साउदी देशको लागि ठूलो महत्वको विषय हो । त्यसबाहेक सिङ्गो मध्यपूर्वको लागि एसियाली बजारको ठूलो महत्व छ । राष्ट्रिय सुरक्षाको लागि आर्थिक सुरक्षा सबभन्दा महत्वपूर्ण पक्ष हो भने ‘पूर्वतिर हेर’ नीतिले साउदी अरबको सुरक्षालाई थप अर्थपूर्ण बनाइदिनेछ ।
संरा अमेरिका र केही पश्चिमा देशहरू साउदी अरबको ‘पूर्वतिर हेर’ नीतिबाट सन्तुष्ट छैनन् । पश्चिमलाई केन्द्र मान्ने सोचाइलाई समर्थन गर्नेहरू मध्यपूर्वका देशहरू पश्चिमा देशप्रति बफादार भइरहेकै हेर्न चाहन्छन् । उनीहरू मध्यपूर्वका देशहरूले आफ्नो आन्तरिक मामिला पश्चिमको स्वार्थमा आधारित भएर सुल्झाओस् भन्ने चाहन्छन् । मध्यपूर्वका देशहरूले आफ्नो कुनै हित हेर्न नहुने उनीहरूको धारणा छ ।
‘पूर्वतिर हेर’ नीतिले पश्चिमा देशसँग साउदीको सम्बन्धमा कुनै तलमाथि भएको छैन, तरै पनि केही देशहरू भने यो नीतिप्रति ईष्र्या गर्न थालेका छन् । उनीहरू साउदी अरब र अन्य मध्यपूर्वी देशहरू पश्चिमप्रति अझै बफादार बनोस् भन्ने चाहन्छन् । पश्चिमा शासकहरु यही विचारमा लपक्कै टाँसिएर हिँडिरहेका छन् ।
साउदी अरबको २०३० को मुख्य लक्ष्य भनेको आफूलाई तेल निर्यातमा कम निर्भर बनाउँदै जानु हो । यो योजनालाई चीनको बेल्ट एन्ड रोड परियोजनासँग जोडेर अघि बढाउन सकिन्छ । मध्यपूर्वका देशहरूले चीनको परियोजनालाई हार्दिकतापूर्वक स्वागत गरिरहेका छन् किनभने यसले सो क्षेत्रको दीर्घकालीन आर्थिक र सामाजिक विकासका लागि हितकारी हुन सक्छ । बेल्ट एन्ड रोड परियोजनाको सहयोगमा इरानले आफ्ना धेरै आर्थिक क्षेत्रमा विकास गर्न खोजिरहेको छ ।
चीन मध्यपूर्वमा भूराजनीतिक खेलाडी बन्न चाहँदैन । चीनको कोही शत्रु छैन र सो क्षेत्रका सबै देशसँग चीन सहकार्य गर्न सक्छ । मध्यपूर्वमा चीनको बढ्दो प्रभाव विशुद्ध मैत्रीपूर्ण सहकार्यको परिणाम हो । त्यस्तो साझेदारीलाई मध्यपूर्वका अन्य देशहरू पनि रुचाउनेछन् ।
अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *