क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
फासिओ मासिमो पेरेन्टे
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि कर युद्ध घोषणा गरेयता संरा अमेरिका–युरोपेली सङ्घबीच धेरै ठाउँमा मनमुटाव भएको मनग्य सङ्केत देखिएका छन् । विवाद समाधानको लागि युरोपसँग वार्ताको क्रममा धेरै प्रकारका उथलपुथल देखापरे । तर, अहिले भने ट्रम्प सरकारले इरानमाथि नाकाबन्दी र रुसबाट जर्मनीमा प्राकृतिक ग्याँस निर्यात गर्ने नोर्ड स्ट्रम २ परियोजनामा आफ्नो कुरा नमानेको अटेरी युरोपलाई सजाय दिन लागेको छ । ट्रम्प सरकार बनेयता नै अन्तरएटलान्टिक विभाजन अझै फराकिलो बन्दै गएको भए पनि एटलान्टिक महादेशका दुई किनाराको दुरीको जरा भने निकै पुरानो छ ।
सन् १९३०–४० को दशकमा परिकल्पना गरिएको र दोस्रो विश्वयुद्धपछि कार्यान्वयनमा लगिएको युरोपेली एकीकृत परियोजना संरा अमेरिकाको सैनिक छातामुनि र आर्थिक योजनाअन्तर्गत बनेको थियो । तथापि दोस्रो विश्वयुद्धको अन्त्ययता संरा अमेरिकासँग युरोपको सम्बन्ध भने कसिलो पाराले जोडिएको थिएन । युरोप फलामे पर्दा (पूर्वी र पश्चिमी युरोपबीचको विभाजन) ले दुई भागमा बाँडिएको थियो । धेरै समाजवादी आन्दोलन र पार्टीहरू संरा अमेरिकाको दबदबा स्वीकार्न तयार थिएनन् । उनीहरूले नाटोको आक्रामकता स्वीकारेका थिएनन् । आफ्नो आन्तरिक मामिलामा अत्याधिक हस्तक्षेप उनीहरूलाई मान्य थिएन । सन् १९६० र ७० को दशकमा इटालीमा भएको ग्लाडिओ कारबाहीको क्रममा भएको प्रतिरोध त्यसैको उदाहरण थियो । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भएको स्वीकार नगर्ने भावना भने युरोपमा अझै पनि बाँकी नै छ । पश्चिम बाल्कनदेखि मध्यपूर्व र उत्तर अफ्रिकासम्म नाटो सैनिक सङ्गठनको नीति र सैनिक हस्तक्षेपप्रतिको विरोधले पनि युरोपमा यस्तो भावनाले बल पाएको छ । नाटोका त्यस्तै हमला र हस्तक्षेपका कारण युरोपमा आप्रवासी समस्या दिनानुदिन जटिल बन्दै गएको हो । यस्तो भावना व्यापक बन्दै जानु पछाडिको अर्को एउटा कारण भनेको संरा अमेरिकाकै दबदबामा चल्ने युरोपेली सङ्घ हो । युरोपलाई एकीकृत बनाउने प्रक्रिया कमजोर बन्दै गए तापनि यसलाई जोगाउन युरोपले अन्तिम श्वास फुकिरहेको छ ।
शीतयुद्धको अन्त्यपश्चात् संरा अमेरिकाको एकमनावादी युगको क्रममा युरोपलाई आफ्नो तखतमा राख्ने संरा अमेरिकाको रणनीतिक स्वार्थले विभिन्न सम्बन्ध र सहमतिका रूप लिएका छन् । पछिल्ला तीस वर्षमा संसारको संरचनामा ठूलो परिवर्तन आइरहेको छ । संसार एकध्रुवीयताबाट क्रमशः बहुध्रुवमा बदलिरहेको छ । यसमा उदयीमान आर्थिक शक्तिहरूको नयाँ भूमिकाको महत्वपूर्ण योगदान छ । चीन र भारतले यसमा आ–आफ्नो तर्फबाट योगदान गरिरहेका छन् भने रुसले आफ्नो सैनिक शक्ति अझ विस्तार गरिरहेको छ ।
प्यालेस्टाइन मामिलामा जस्तै सिरिया सङ्कटदेखि आजभोलि भेनेजुयलाको अवस्थामा पनि (यस्ता धेरै घटना छन्, यहाँ थोरैको मात्र नाम उल्लेख गरेँ) संरा अमेरिका संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय सहमतिभित्र बसेर समस्या समाधान गर्न असमर्थ भएको देखिएको छ । सबै देशले आफ्नो सार्वभौमिकताको सम्मान भएको चाहन्छन् । कुनै अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपलाई नयाँ दृश्यमा देखिएका महत्वपूर्ण शक्तिहरूजस्तै रुस र चीनले अस्वीकार गर्नु स्वाभाविक हो । आज रुस र चीनजस्ता अन्तर्राष्ट्रिय राजनीतिका खेलाडीहरूले अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तमा आधारित सहमति निर्माण गर्ने काम गरिरहेका छन् । कुनै पनि अरू देशलाई आफूले भनेजस्तै हिँडाउन सकिँदैन भन्ने कुरा संरा अमेरिकाले स्वीकार्नुपर्छ । आफ्नो चाहना र रणनीतिक स्वार्थअनुसार कुनै पनि देशलाई कुनै पनि अवस्थामा जबरजस्ती धकेल्न सकिंदैन र त्यसो गर्नु अरू देशको प्राथमिकता र सार्वभौम हित प्रतिकूल भएको कुरा संरा अमेरिकाले बुझ्न जरुरी छ । अझ महत्वपूर्ण कुरा त संरा अमेरिकालाई आधारभूत अन्तर्राष्ट्रिय अधिकारले पनि ती काम गर्न दिंदैन । मध्यपूर्व, युरोप र ल्याटिन अमेरिकामा आज संरा अमेरिकाले गर्ने त्यस्ता कामको प्रतिरोध भइरहेका छन् ।
युरोपमा हिजोआज दुई वटा राजनीतिक तह छन् । पहिलो, मुली युरोपेली देशहरूका शासक वर्ग । यो वर्ग अझै पनि संरा अमेरिकाप्रति बफादार छ । तर, ट्रम्पको नीति र जनताको गुम्दो विश्वासका कारण अल्मलिएका छन् । दोस्रो तह भनेको अधिकांश युरोपेली देशहरूका जनता । उनीहरूमा युरोपप्रति बढ्दो असन्तोष छ । युरोपका राजनीतिक, आर्थिक संरचना र सङ्गठनप्रति अविश्वास छ । लामो समयको आर्थिक सङ्कट र युरोपेली देशहरूबीच कमजोर बन्दै गएको राजनीतिक सम्बन्धका कारण उनीहरूमा असन्तोषको ज्वाला बल्दो छ । त्यही कारण आज उनीहरूको ध्यान आ–आफ्ना देशका राष्ट्रिय हितमा केन्द्रित छ ।
आर्थिक र भूराजनीतिक कारणहरूले आज संरा अमेरिका आफ्ना पुराना मित्रहरूसँग द्वन्द्वमा जान खोजिरहेको छ । युरोपको एकतालाई संरा अमेरिकाले अझ कमजोर बनाउन चाहिरहेको छ । इरान आणविक सन्धीबाट संरा अमेरिकाले हात झिक्नु युरोपको लागि खतरा हो । यही खतरालाई बुझेर संरा अमेरिकाको कुनै संलग्नताविना फ्रान्स र जर्मनीबीच सैनिक मोर्चा गठन गर्ने मनसायलाई यसले जायज पुष्टि गरेको छ । तथापि युरोपको आजको अवस्थाका कारण जर्मनी र फ्रान्सबीचको यो सम्बन्ध विस्तार त्यति सजिलो र तत्काल नै भइहाल्ने अवस्थामा छैन ।
अन्तरएटलान्टिक समस्यालाई संसारको भूराजनीतिक र आर्थिक रुपान्तरणको कसीमा घोटेर हेर्दा खेल अझै जटिल बनेको देख्नेछौँ । “वाशिङ्टनलाई केन्द्र मान्दै आएको एकध्रुवीय बन्दोबस्तबाट सङ्क्रमण भई विश्वको पासामा धेरै देशले आफ्नो भूमिकाको निम्ति असिनपसिन गर्दै गर्दा सन् १९९० को दशकको सुरुदेखि बन्दै आएको शक्ति सन्तुलनमा दखल पुगेको छ ।” रणनीतिक संस्कृति प्रतिष्ठानका विश्लेषक फेडेरिको पियरासिनीले भने । “संरा अमेरिका नेतृत्वको एकध्रुवीय विश्वलाई जोगाउने लगातारको प्रयासले धेरै पश्चिमा पुँजी बिलखबन्दमा फसेका छन् । आफ्नो हितभन्दा पनि वाशिङ्टनको स्वार्थमात्र पूरा गर्न उनीहरू बाँधिएका छन् ।” उनका यस्ता भनाइले संरा अमेरिका र युरोपबीच हालै म्युनिखमा भएको सुरक्षा सम्मेलनमा देखिएको चिसो सम्बन्धबारे बुझ्न सहज बनाएको छ ।
युरोपले आफ्नो हितविपरीत भए पनि संरा अमेरिकाको कुरा पछ्याइरहने अपेक्षा गर्न सकिन्न । हामीले केटाकेटी खेलेजस्तो भावना त्याग्नुपर्छ । ‘कि मसँग खेल नभए ऊसँग जाऊ’ भन्ने भावना हामीले त्याग्नुपर्छ । अन्तर्राष्ट्रिय सम्बन्धको भावनाविरुद्ध जाने अपरिपक्व र कठोर सोचमा परिवर्तन गर्नुपर्छ । युरोपले संरा अमेरिकासँग सन्तुलन कायम गरेजस्तै नयाँ एसियासित पनि खुला र सहकार्य अघि बढाउन जरुरी छ । अर्को शब्दमा युरोप एकै पटक दुवै ‘एटलान्टिक’ र ‘युरेसियाली’ बन्न सक्नुपर्छ । त्यसो गर्नसके मात्र युरोप अन्तर्राष्ट्रिय प्रतिस्धर्पाका लागि द्वन्द्व र युद्धको केन्द्र बन्नुको सट्टा भूराजनीतिक सन्तुलनको केन्द्र बन्नेछ ।
(लेखक अन्तर्राष्ट्रिय अध्ययनअन्तर्गत भूगोलका सहायक प्राध्यापक हुन् । उनी इटालीको फ्लोरेन्सस्थित लोरेन्जो डी मेडिकीको अन्तर्राष्ट्रिय प्रतिष्ठानमा पढाउँछन् ।)
अनुवाद ः सुशिला
Leave a Reply