भर्खरै :

सहकारी संस्था र बैङ्कबीच फरक

भक्तपुर, २० फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले बैङ्क र सहकारीबीच भिन्नता भएको र सहकारी संस्थाले जनताको सामाजिक, सांस्कृतिक अवस्था उकास्न र आर्थिक स्तर उठाउन काम गर्नुपर्ने बताउनुभएको छ ।
बाराही बचत तथा ऋण सहकारी संस्था लि.को बीसौं स्थापना दिवसमा सोमबार उहाँले विगतमा राजनीतिक दलले गर्ने गरेका सामाजिक तथा सांस्कृतिक गतिविधि आजभोलि सहकारी संस्थाहरूमार्फत भएकोमा खुशी व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले आगामी दिनमा सहकारी सदस्यको व्यक्तित्व विकासका साथै जनताको भाषिक तथा सांस्कृतिक स्तर उत्थानका निम्ति पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाअले संस्थाको ‘बाराही स्मारिका २०७५’ विमोचन गर्नुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ, भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारीको नाममा पँुजीपति तथा धनी व्यक्तिहरूले गरिब जनताबाट रकम सङ्कलन गरी व्यक्तिगत रुपमा दुरुपयोग गरिरहेको बताउनुभयो । उहाँले भक्तपुरमा सहकारीको क्षेत्रबाट उत्पादनमूलक कामको सुरुवातका निम्ति सङ्घले पहल सुरु गरिसकेको र भक्तपुरका सहकारीहरूको रकम भक्तपुरमै जम्मा र परिचालन गर्नका निम्ति सहकारी बैङ्क र नेफ्स्कुनले समन्वय र सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेफ्स्कुनका प्रतिनिधि तथा सञ्चालक उद्धव सापकोटाले सहकारी संस्थाहरूको अनुगमन कार्य नेफ्स्कुनले सुरु गरेको छ, सहकारी ऐनमा व्यवस्था भएको छुट व्यवस्था लागू गर्न संशोधित ऐन संसदबाट पारित भइसकेको हँुदा भविष्यमा संस्था सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
समारोहमा संस्थापक अध्यक्ष राधेश्याम सुवालले संस्थाको छोटो चिनारीसहितको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले संस्थाका संस्थापकहरू, नियमित रुपमा बचत गर्ने सदस्य, बाल सदस्यहरूलाई सम्मान गर्नुभएको थियो । खुला रक्तदान कार्यक्रममा ३६ जना सदस्यहरूले रक्तदान गर्नुभएको थियो । कार्यक्रममा सचिव विश्वराम त्वायनाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *