भर्खरै :

“अपराधी र कालाबजारी छोडाउन सिंहदरबारमा घुइँचो”

भक्तपुर, २३ फागुन । वागीश्वरी कलेजको ११ औँ र वागीश्वरी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोह नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा अतिथि बिजुक्छेँले नेताहरूले देशको भूगोल र इतिहासबारे जानकारी नराख्दा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको बेइज्जत भएको उदाहरण दिँदै शिक्षकहरूले विद्यार्थीहरूलाई ती विषयहरूमा जानकारी दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अपराधी, कालाबजारीहरूलाई जेलबाट छुटाउनकै लागि दैनिक रूपमा सिंहदरबार र शीतल निवासमा घुइँचो लाग्ने बताउँदै उहाँले विद्यार्थीहरूलाई नैतिकताको विषयमा प्रस्ट पार्नु महत्वपूर्ण भएको बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “लगानी बोर्ड विधेयक देशघाती हो भनी विरोध गर्दागर्दै तत्कालीन शासक दलहरूले ह्वीप जारी गरी पास गरे विधेयकले देशका ठूलठूला प्राकृतिक सम्पतिहरू विदेशीको हातमा सयौं वर्षको लागि भाडामा दिने बाटो खुलाउनु देश र जनताको लागि धोका हो ।”
सरकारले देश विकासको निम्ति जनशक्ति व्यवस्थापन गर्न नसक्दा उत्कृष्ट विद्यार्थीहरूलाई सस्तो ज्यामीको रूपमा विभिन्न देशले प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।
देश विकासको मुख्य आधार शिक्षा हो भन्ने मान्यतालाई ग्रहण गर्दै नेमकिपाले शिक्षा प्रचारलाई प्राथमिकतामा राखेको अध्यक्ष रोहितले बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कलेजले विद्यार्थीहरूलाई २१ औँ शताब्दीको लागि योग्य नागरिक तयार गर्न प्रयास गरिरहेको बताउँदै कार्यरत शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकहरूबाट सहयोगको लागि अनुरोध गर्नुभयो ।
विद्यार्थीहरूको चौतर्फी विकास गर्न भक्तपुर नगरपालिकाले शारीरिक तथा बौद्धिक प्रतियोगिताहरू गर्दै आएको उहाँले बताउनुभयो ।
देशमा सङ्घीयता लागू भइसकेपछि मावि तहसम्मको सम्पूर्ण शिक्षा स्थानीय तहलाई जिम्मा दिए तापनि सरकारले खारेज भइसकेको जिल्ला शिक्षा कार्यालयलाई प्रमुख जिल्ला विकास तथा समन्वय एकाइमार्फत ब्युँताउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईले नवउदारवादी शिक्षा व्यवस्था, व्यापारीकरण, शैक्षिक माफियाहरूलाई वागीश्वरीले जवाफ दिएको बताउँदै जनताको जगमा स्थापित विद्यालयले कसरी देशको सेवा गर्न सकिन्छ भन्ने उदाहरण वागीश्वरी हो भन्नुभयो ।
हालै चीन भ्रमणको अनुभव बताउँदै उहाँले हरेक विद्यालयले खेलकुदलाई मुख्य प्राथमिकता दिँदा विद्यार्थीहरू सामाजिक सञ्जाललगायतका क्षेत्रमा नफस्ने बताउनुभयो ।
“पञ्चायत ढलेको ३० वर्ष भइसक्दा पनि जनताको जीवनस्तरमा कुनै मौलिक परिवर्तन भएको छैन । शासक दलहरूमा अझै पनि कुनै अपराधबोध छैन । त्यसैले हरेक शिक्षकहरूले शिक्षालयलाई आमूल परिवर्तन र क्रान्तिको बारूदखानाको रूपमा विकास गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भनपा वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले विद्यालयले हीरक वर्षको उपलक्ष्यमा वर्षैभरि हरेक महिनामा कुनै न कुनै विशेष कार्यक्रम गरी मनाएको जानकारी दिंदै अभिभावकहरूको आशालाई पूर्ति गर्न शिक्षक तथा कर्मचारीहरू क्रियाशील रहेको बताउनुभयो ।
भक्तपुरको जनजीवन, कला संस्कृति, स्थानीय उपचार विधिलगायतका बारेमा जानकारी दिन भक्तपुर नगरपालिकाले नगरका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले गुणस्तरीय शिक्षा, नमुना विद्यालय, विद्यार्थी अभिभावकलाई गर्व गर्नसक्ने वातावरण दिन सक्नु विद्यालयको सबल पक्ष हो भन्नुभयो ।
दरबन्दी वितरण समिति कार्यदलका संयोजक महाश्रम शर्माले शिक्षक दरबन्दी मिलाउन नसकेको वर्तमान समयमा भएका प्रावि तहको बढी दरबन्दी शिक्षकहरू समायोजन गर्न प्रयासरत रहेको बताउनुभयो ।
ईसीडीमा पढाउने सहजकर्ताहरूलाई शिक्षककै रूपमा परिभाषित गर्नुपर्छ, उहाँले बताउनुभयो ।
ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले वागीश्वरीको आर्थिक अनुशासन र पारदर्शिता देशकै नमुना हो भन्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले ‘वागीश्वरी स्मारिका’ र ‘वागीश्वरी जर्नल’ विमोचन गर्नुभएको थियो भने विद्यालयका शिक्षिका प्रेमलक्ष्मी श्रेष्ठलाई दीर्घ पदक, साहित्यकारहरू चन्द्रबहादुर उलक, हरिहर तिमल्सिना र चन्द्रप्रसाद ढकाललाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । विद्यालय तथा कलेजमा उत्कृष्ट योगदान गर्नुहुने शिक्षक, कर्मचारी तथा एसर्ईई, + २ तह, टेक्स र स्नातक तहको बोर्ड परीक्षामा उत्कृष्ट विद्यार्थीहरूलाई उहाँले मेडल, प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै विशेष अतिथि सुनिल प्रजापतिले स्नातक र स्नातकोत्तर तहमा उच्च अङ्क प्राप्त विद्यार्थीहरू तथा साहित्य गोष्ठीमा विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व प्रअ मोहनप्रसाद प्रजापतिले सिद्धिबहादुर छात्रवृत्ति, पूर्व शिक्षिका नारायणी मानन्धरले नारायणी मानन्धर छात्रवृत्ति विद्यार्थीहरूलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले वार्षिक प्रगति प्रतिवेदन वाचन गर्नुभएको थियो भने साहित्यकार हरिहर तिमल्सिना, सहायक प्रअ ज्ञानसागर प्रजापतिलगायतले बोल्नुभएको थियो ।
औपचारिक कार्यक्रमपश्चात् सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *