भर्खरै :

राष्ट्रपतिको राजीनामा माग्दै अल्जेरियामा प्रदर्शन

अल्जेरिया, २८ फागुन (रासस/एएनआई) ः राष्ट्रपति अब्देलाजिज बौटेफ्लीकाको राजीनामाको माग गर्दै अल्जेरियामा जनताले प्रदर्शन गरेका छन् ।
लामो समयपछि हुन लागेको निर्वाचन फेरी स्थगित गरिएको भन्दै उनीहरुले राष्ट्रपतिको राजीनामाको माग गर्दै सोमबार राति प्रदर्शन गरेका हुन् ।
अफ्रिकी मुलुक अल्जेरियाका राष्ट्रपति अब्देलाजिजले आगामी अप्रिल १८ का लागि तय भएको निर्वाचन स्थगित गरेपछि आन्दोलन थप चर्किएको हो ।
निर्वाचन स्थगित गरिए पनि नयाँ निर्वाचन हुने मिति घोषणा भने गरिएको छैन । राष्ट्रपति अब्देलाजिजले मन्त्रिपरिषद्बाट चाँडै निर्वाचनको नयाँ मिति तय गरिने बताउनुभएको अधिकारीहरुले जनाएका छन् ।
उहाँको उम्मेदवारीलाई लिएर केही हप्तादेखि विरोध हुँदै आएकै बेला उहाँले फेरी निर्वाचन स्थगित गर्नुभएको हो । प्रदर्शनकारीहरुले आगामी निर्वाचनमा भाग नलिन पनि उहाँलाई आग्रह गर्दै आएका छन् ।
विगत २० वर्षदेखि अल्जेरियाको नेतृत्व गर्दै आउनु भएका ८२ वर्षीय वृद्ध राष्ट्रपति अब्देलाजिज अहिले बिरामी पनि हुनुहुन्छ ।
वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले उहाँलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरुले माग गरेका छन् ।
अल्जेरियाको राजधानी अल्जियर्सलगायत देशका कयौँ शहरमा राष्ट्रपति अब्देलाजिजको व्यापक विरोध भइरहेको छ । उहाँको विरुद्धमा लाखौँ सङ्ख्यामा रहेका अल्जेरियाली नागरिकले सडक ¥याली निकालेका छन् ।
पाँचौँ पटक सरकार चलाउने अब्देलाजिजको घोषणासँगै देशमा विरोध प्रदर्शन शुरु भएको हो । उहाँले भने फेरी एकपटक आफूलाई चयन गरेमा चाँडै नै पद त्याग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तर अल्जेरियाली युवामा भने आर्थिक अवसरको कमीका कारण निरासा उत्कर्षमा पुगेको छ । उनीहरुले सक्रिय र स्वस्थ राष्ट्रपति चाहेको र देशलाई यही अवस्थामा रहिरहन नदिने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *