भर्खरै :

पुँजीवादी शोषणका कारण कामदार गरिब

भक्तपुर, २९ फागुन । नेपाल मजदुर किसान पार्टी भनपा १० स्थित कमलविनायक एकाइ समितिको आयोजनामा मङ्गलबार स्थानीय कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पँुजीवादी व्यवस्थामा शोषक वर्गले शासित वर्गमाथि शोषण गर्ने भएकोले मानिस गरिब भएको उल्लेख गर्दै उत्पादनका मुख्य – मुख्य साधनहरु सार्वजनिकीकरण भएपछि वर्गीय भावना हट्दै जाने र शोषण पनि बाँकी नहुने बताउनुभयो ।
पुँजीवादी व्यवस्थालाई लामो समयसम्म टिकाउन पँुजीपति वर्गले धार्मिक ग्रन्थहरु प्रकाशित गर्ने र मानवीय चेतनालाई धर्मले प्रभावित पारी शोषण कायम गर्ने बाटो रोज्ने चर्चा गर्दै अध्यक्ष रोहितले समाजवादी क्रान्तिले मात्र समाजमा परिवर्तन हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “व्यापक तयारीविना क्रान्तिको आह्वान गर्नु वामपन्थी अवसरवाद हुने र परिस्थिति तयार भइसकेर पनि क्रान्तिको आह्वान नगर्नु दक्षिणपन्थी अवसरवाद भएकोले यी दुवै दृष्टिकोण गलत छ ।” क्रान्तिको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति तयार हुनुपर्नेमा जोड दिंदै उहाँले अन्धविश्वासमा लागेर समाजमा परिवर्तन नआउने विचार व्यक्त गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले भारतीय दबाबमा देशघाती नागरिकता ऐन तयार भएको हुँदा देशको हितको लागि संविधान संशोधनको आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष सुन्दर राजचलको सभापतित्वमा भएको कार्यक्रममा कृष्णनारायण दुमरु, जीतेन्द्र मुनंकर्मी, नरेश खत्रीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *