भर्खरै :

सुडानी राष्ट्रपतिविरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

कायरो, ३० फागुन (एपी) । सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर, राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताउनुभएको छ ।
तीन दसकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दसकदेखि नै राष्ट्रपति बासिर सत्तामा हुनुहुन्छ । उहाँकै शासनकालमा तेलको धनी मानिएको दक्षिण सुडान सन् २०११ मा टुक्रिएको थियो भने डार्फर द्वन्द्वमा संलग्न रहेको आरोपमा उहाँमाथि जाति हत्या एवं युद्ध अपराधका निम्ति अन्तर्राष्ट्रिय वारेन्ट जारी भएको छ ।
डिसेम्बर यता उहाँ विरुद्ध तीन दसकमै सबैभन्दा ठूलो विरोध प्रदर्शन भइरहेको छ । अरु राजनीतिक दलहरू र युनियनहरूले राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।
सुरक्षाफौजको बाक्लो उपस्थितिको पर्वाह नगरी सडकमा भेला भएर दिनहुँजसो प्रदर्शन भइरहेका छन् । सबैभन्दा ठुल्ठुला प्रदर्शन राजधानी खार्तुम र त्यस नजिकैको सहर ओम्डुरम्यानमा भइरहेका छन् । अरु सानातिना प्रदर्शन देशका अन्य भागमा समेत जारी छन् ।
स्वतन्त्र व्यावसायिक युनियनको छाता समूहले पनि अल–बासिरले राजीनामा दिनुपर्ने र नयाँ अन्तरिम सरकार गठन हुनुपर्ने माग गर्दै सडक प्रदर्शनमा सहभागी भइरहको छ । युनियनले नयाँ सरकारले निर्वाचनको तयारी गर्नुपर्ने जिकिर गरिरहेको छ ।
समूहकी प्रवक्ता सराह अब्देल–जलीलले सुडानी जनताका आकांक्षा पूरा गर्न वर्तमान शासनसत्ता पूर्ण रुपमा प्रतिस्थापन हुनुको विकल्प छैन भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *