भर्खरै :

नयाँ पुस्तालाई वैचारिक र राजनीतिक प्रशिक्षणमा सीको जोड

पेइचिङ, १९ मार्च । चीनका राष्ट्रपति सी चिनफिङले नयाँयुगको लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी विचारधारामा आधारित वैचारिक शिक्षामार्फत पार्टी नीति व्यवहारमा उतार्नुका साथै नैतिक मूल्य–मान्यता उजागर गर्न सकिने बताउनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैनिक आयोगका अध्यक्ष सीले पार्टीका वैचारिक तथा राजनीतिक सिद्धान्तबारे शिक्षकहरूको पेइचिङमा आयोजित कार्यशाला गोष्ठीमा राष्ट्रिय पुनर्जागरणको कार्यभार बहन गर्न नयाँ पुस्ताका युवा कार्यकर्तालाई सक्षम बनाउन यस्तो पहलकदमी आवश्यक भएको प्रकाश पार्नुभयो । सीले नयाँ पुस्ताका युवा कार्यकर्ता सबै कोणबाट नैतिकवान, बौद्धिक, शारीरिक रुपमा सक्षम र कडा मिहिनेती हुनुपर्नेमा जोड दिनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पोलिटव्युरो स्थायी समितिका सदस्य तथा सचिवालय सदस्य वाङ हुनिन पनि सो गोष्ठीमा सहभागी हुनुहुन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीको नेतृत्व र समाजवादी व्यवस्था स्वीकार्ने र चिनियाँ विशेषतासहितको समाजवादी विचारधाराको लागि आफ्नो जीवन अर्पण गर्ने नयाँ प्रतिभाशाली पुस्ता तयार गर्नुपर्ने सीको धारणा थियो ।
राष्ट्रपतिले चीनका प्राथमिक, माध्यमिक र उच्च तहका विद्यालयमा वैचारिक र राजनीतिक सिद्धान्तसम्बन्धी पाठ्यक्रम क्रमशः समावेश गर्नुपर्ने भन्दै समाजवादी सिद्धान्तबाट भविष्यको पुस्तालाई तालिम दिनुपर्ने बताउनुभयो ।
चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थाको बाटो, सिद्धान्त, व्यवस्था र संस्कृतिप्रति जनताको विश्वास अझ प्रगाढ बनाउन ती विषयमा प्रशिक्षणलाई जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले नयाँ पुस्तामा देशभक्ति भावनाले ओतप्रोत बनाउन प्रशिक्षणको भूमिका महत्वपूर्ण हुने औँल्याउनुभयो ।
सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले प्रशिक्षणलाई प्रधान महत्व दिइरहेको उहाँले जानकारी दिनुभयो ।
“अब्बल वैचारिक र राजनीतिक सिद्धान्तको विषयमा अझ उत्तम कक्षा हुनेमा हामी पूर्णतः विश्वस्त र सक्षम छौँ ।” उहाँले भन्नुभयो ।
उहाँले वैचारिक र राजनीतिक सिद्धान्तका शिक्षकहरू राजनीतिकरूपमा स्पष्ट, संवेदनशील सिर्जनात्मक विचार, व्यापक दृष्टिकोण र अनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *