भर्खरै :

बुधबार ९१८ सवारी चालक कारबाहीमा

काठमाडौँ, ६ चैत । ट्राफिक प्रहरीले होली पर्वमा उपत्यकाभित्र जथाभावी रुपमा सवारी साधन चलाउने ९१८ चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार होली पर्वका अवसरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९०५ दुईपाङ्ग्रे र १३ वटा चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरेको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने र ठूलो आवाज निकालेर चलाउने चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो ।
महाशाखाले तीनजना राखेर चलाउने ७६, हेल्मेट नलगाई चलाउने ४३, कागजपत्र नलिई चलाउने ३३०, मादक पदार्थ सेवन गरी चलाउने १३५, जथाभावी लापरबाही तरिकाले चलाउने ३६, सरकारी २५ र अन्य कसुरमा ३० चालकलाई कारवाही गरेको छ । जसमध्ये २४३ सवारी साधनलाई कारबाही गरेर छाडेको र बाँकी ६७५ सवारी साधनलाई महाशाखामा ल्याएर राखिएको छ । महाशाखाले होली पर्वलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाएको थियो ।
होलीको अवसरमा उच्छृङ्खल गतिविधि गर्ने ८४ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई उपत्यकाका विभिन्न क्षेत्रबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काठमाडौँका ४५, ललितपुरका ३५ र भक्तपुरका चार जना रहेका छन् । होलि विशेष सुरक्षा योजना बनाएर बुधबार हरेक कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको थियो । यसैबीच महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने ५१९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएको प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । भक्तपुरबाट १७ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएकामा अधिकांश मोटरसाइकल चालक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *