भर्खरै :

तेस्रो अधिवेशन अन्त्य: देशको अर्थतन्त्र कमजोर हुनुमा आजसम्मका मन्त्रीहरू दोषी

काठमाडौँ, १० चैत । “संरा अमेरिकी सरकारको सहयोग प्राप्त गर्नकै लागि नेपाल सरकारले मित्र देश प्रजग कोरियाविरूद्धको अमेरिकी नाकाबन्दीलाई समर्थन गर्नुहुँदैन र चीनबाट भागेर आएका तिब्बतीहरूलाई चीन नफर्काई पृथकतावादी दलाइ लामाको आश्रयस्थल भारत पठाउनु हुँदैन । संरा अमेरिकी सरकारले नेपालसँग राखेको उक्त शर्त नेपालको आन्तरिक र परराष्ट्र मामिलामा हस्तक्षेप हो, नेपाल सरकारले स्वीकार गर्नुहुँदैन ।”
प्रतिनिधिसभाको तेस्रो अधिवेशनको अन्तिम दिन आइतबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उक्त भनाइ राख्नुभएको हो ।
एमाले माओवादी सरकारको एक वर्ष अन्यौल र अस्पष्टतामा बितेको उल्लेख गर्दै उहाँले सरकार खराब ठेकेदार र म्यानपावर कम्पनी, भ्रष्टाचारी, कालाबजारिया र तस्करहरूको बन्धकमा परेको बताउनुभयो ।
“महँगी अकाशिएको छ, मेडिकल कलेजको नाममा ठगी भइरहेको छ, निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई पक्राउ गरिएको छैन । प्रजातन्त्र, गणतन्त्र र समाजवादमा यस्तो हुँदैन”, सांसद सुवालले स्पष्ट पार्नुभयो ।
नेपालको सीमा अतिक्रमण र भारतीय एसएसबीको ज्यादती नरोकिएको उल्लेख गर्दै सांसद सुवालले सङ्घीयता नै सबै समस्याको समाधान नभएकोले उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
“सरकारले देशको सन्तुलित विकास गरेको छैन । खोना र बोङ्गाजस्ता सम्पदा विनाश हुनेगरी द्रुतमार्ग बनाउनुहुँदैन, द्रुतमार्गभन्दा (रोपवे) रज्जुमार्ग जोड्नु उपयुक्त छ । ठमेलस्थित सार्वजनिक कमलपोखरी मास्ने र छाया सेन्टरको नाममा निजी भवन बनाउनेहरूलाई कारबाही गर्नु आवश्यक छ ।” सांसद सुवालले उल्लेख गर्नुभयो ।
“नेपालको अर्थतन्त्र कमजोर हुनुको कारण अहिलेसम्मका सरकार र मन्त्रीहरू नै जिम्मेवार हुन्”, सांसद सुवालले स्पष्ट गर्नुभयो ।
बैठक सुरूभए लगत्तै राजपाका सांसदहरूले टीकापुर घटनाबारे गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दैै अवरोध गरेका थिए ।
दश मिनेटको लागि स्थगित भएको बैठक सुरू भएलगत्तै प्रम ओलीले सोही दिन बैठकमा प्रतिवेदन सार्वजनिक गर्नेबारे बोल्ने बताएपछि सुरू भएको थियो ।
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकबारे विचार राख्दै सांसद सुवालले न्यायालयलाई माफियाबाट मुक्त गर्ने प्रावधान राख्नुपर्नेमा जोड दिनुभयो ।
सोही दिनको तेस्रो बैठकमा प्रम ओलीले कानुन निर्माण, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, भूकम्पपछिको पुनःनिर्माणलगायतमा उपलब्धि हासिल भएको उल्लेख गर्नुभयो ।
प्रम ओलीले पृथकतावादी सीके राउतलाई देशको एकताको पक्षमा ल्याएको दाबी गर्दै सार्वभौमिकता र भूअखण्डताबारे जनमतसङ्ग्रह हुन नसक्ने बताउनुभयो ।
प्रम ओलीले गिरिशचन्द्र लालको प्रतिवेदन उपयुक्त समयमा सार्वजनिक गर्न सकिने उल्लेख गर्नुभयो ।
नेकाका उपनेता सांसद विजयकुमार गच्छदारले ओली सरकार सदनप्रति जवाफदेही नभएको, नियमावलीअनुसार प्रश्नोत्तर कार्यक्रमबाट मन्त्रीहरू भागेको, विधेयक जबरजस्ती पारित गरेको उल्लेख गर्नुभयो ।
राजपाका महन्थ ठाकुरले प्रम ओलीको सम्बोधन सिक्काको एक पाटोमात्र भएको उल्लेख गर्दै अर्को पाटो भ्रष्टाचार र अधिनायकवादी प्रवृत्ति पनि भएको बताउनुभयो ।
सभामुख महराले पुस ११ गतेबाट सुरू भएको तेस्रो अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुने राष्ट्रपतिको पत्र वाचन गर्नुभयो ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य
काठमाडौँ, १० चैत । राष्ट्रियसभाको चालू हिउँदे अधिवेशन आजदेखि समापन भएको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू हिउँदे अधिवेशन समापन भएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा बैठकमा पढेर सुनाउनुभयो । बैठकमा अध्यक्ष तिमिल्सिनाले तेस्रो अधिवेशन अवधिभर भएका बैठक र काम कारबाहीबारेमा जानकारी गराउँदै ८९ दिन बैठक बसेको र विभिन्न १२ विधेयक पारित भएको बताउनुभयो ।
यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भएको सन्देशसहित प्रतिनिधिसभामा पठाइएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ लाई प्रतिनिधिसभाबाट पारित भई आएको सन्देश बैठकसमक्ष जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *