भर्खरै :

रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

रामपुर, ११ चैत (रासस) : पाल्पाको रामपुर अस्पतालमा चिकित्सक अभावमा विशेषज्ञ सेवा ठप्प रहेको छ । पाल्पासँगै स्याङ्जा, तनहुँ, र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको छ । चिकित्सक मात्रै नभइ अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ ।
अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत खाली छ । नयाँभवन ५० श्ययाको बनिरहेकाले सेवा दिन नसकिरहेको अस्पतालका सूचना अधिकृत रामप्रसाद कोइरालाले बताउनुभयो । उहाँले प्रशासकीय कर्मचारीको अभाव भए पनि आफूले उपलब्ध हुने अस्पतालका सेवासुविधाका बारेमा निगरानी गरिराखेको जानकारी दिनुभयो ।
कालीगण्डकीबेशीका करीब २०० को हाराहारीमा बिरामीले स्वास्थ्य उपचारका निम्ति आउने अस्पतालमा अहिले सात जनामध्ये एमबिबिएस चिकित्सकमध्ये चार स्थायी र तीन करारले सेवा दिँदै आएका छन् । अस्पतालमा अहिले तीन स्टाफ नर्स, चार अनमी, एक नर्सिङ अधिकृत, चार एचए, ल्याबमा पाँच, फार्मेसीमा दुई तथा पाँच सहयोगीले सेवा दिएका छन् ।
भिडियो एक्स–रे तथा एक्स–रे सेवा पाइने भए पनि भिडियो एक्स–रेका निम्ति स्थानीय निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् । अस्पतालमा आउने बिरामी अधिकांशले सरकारले दिनेभन्दा फरक केही औषधि चाहिए निजी क्लिनिकमा धाउनुपर्ने बाध्यता भने केही समय अगाडि अस्पताल हातामै फार्मेसी सञ्चालन भएपछि सजिलो भएको रामपुरका फडेश्वर गौतमले जानकारी दिनुभयो ।
अस्पतालमा आउने अधिकांश बिरामीले शल्यक्रिया तथा भिडियो एक्स–रे सेवा नहुँदा लामो समय खर्चेर जिल्ला सदरमुकाम तानसेन तथा रुपन्देही बुटवल, कास्की तथा पोखरा पुग्नु परेको गौतमको भनाइ छ । कतिपय महिला सुत्केरी हुन नसके जोखिम मोलेरै अन्यत्र लैजानु परेको समेत उहाँले गुनासो गर्नुभयो । महीनामा करीब ४० को हाराहारीमा सुत्केरी हुन आउने गरेपछि यस क्षेत्रकै ठूलो अस्पतालका रुपमा स्तरोन्नति गरी अस्पतालको ५० श्ययाको बनाउनका निम्ती भवन निर्माण कार्य भइरहेकाले धेरै सेवासुविधा लिन सकिने अपेक्षा गरिएको छ । म्याद थप गरेर डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने अस्पतालको करीब ७० प्रतिशत काम सकिएको छ । रु १९ करोडको लागतमा सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनीयर जितेन्द्र चौधरीले जानकारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *