भर्खरै :

किरात, सुन्दास र गिरीलाई पुरस्कार

काठमाडौंँ, ११ चैत (रासस)ः नइ प्रकाशनले अन्तरराष्ट्रिय क्षेत्रका तीन व्यक्तित्वलाई २०७५ सालको नइ अन्तरराष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले रु दुई लाखको ‘नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार’ संयुक्त रूपमा भारतका १०१ वर्षीय हायमनदास राई किरात तथा ८६ वर्षीया डा लक्खीदेवी सुन्दासलाई समर्पण गर्ने निर्णय गरेको छ ।
नेपाली वाङ्मयका श्रीवृद्धिका लागि निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको अन्तरराष्ट्रिय विस्तारमा समेत महत्वपूर्ण योगदान पु¥याएबापत उहाँहरूलाई सो पुरस्कार समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिने बताइएको छ ।
यसैगरी नेपाली भाषासाहित्यको अन्तरराष्ट्रिय विस्तारका लागि सिर्जनात्मक र सङ्गठनात्मक रूपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तरराष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि रु एक लाख रहने छ ।
प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १००औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख २८ गते काठमाडौंँमा पुरस्कार दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *