यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङले भन्नुभएको थियो, “म बलियो युरोप हेर्न चाहन्छु ।” तत्कालीन विश्व राजनीतिको सापेक्षमा अध्यक्ष माओले भन्नुभएको यो उक्ति आजको विश्व परिवेशमा पनि उत्तिकै सान्दर्भिक छ । विश्व महाशक्ति संरा अमेरिका र सोभियत सङ्घबीच शीतयुद्ध उत्कर्षमा पुगेको परिस्थितिमा संसारलाई दुई ध्रुवीय चेपुवाबाट मुक्त गर्न युरोप शक्तिशाली हुनु आवश्यक थियो । विश्व परिस्थितिबारे गहिरो ज्ञान भएका माओले भन्नुभएको उक्त भनाइको बहुआयामिक महत्व थियो ।
आज संसार बहुध्रुवबाट एकध्रुवीय बनेको छ । सोभियत सङ्घको अस्थायी हारपश्चात् संरा अमेरिकाको एकधु्रवीय साम्राज्यले संसारभर दबदबा चलाउन खोजिरहेको छ । युरोप र संरा अमेरिकाको सम्बन्ध मिलन र द्वन्द्वमा आधारित हुँदै आएको छ । अन्तर्राष्ट्रिय राजनीतिका अधिकांश सन्दर्भमा युरोप संरा अमेरिकाको पक्षमा उभिंदै आएको छ । संसारमा संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेपकारी गतिविधिमा युरोप पनि सहयोगी बन्दै आएको छ । तर, युरोप र संरा अमेरिकाबीच द्वन्द्वात्मक सम्बन्ध पनि कायम छ ।
आजको विश्व परिस्थितिमा संरा अमेरिका र युरोपबीच इतिहासमै सबभन्दा गहिरो अन्तर्विरोध चर्किरहेको देखिन्छ । डोनाल्ड ट्रम्प नेतृत्वको संरा अमेरिकी गठबन्धनमा बस्न युरोपले निकै सकस मानिरहेको प्रस्ट छ । अधिकांश अन्तर्राष्ट्रिय विषयमा एक मत बनाउने गरेका संरा अमेरिका र युरोपेली नेतृत्वबीच विभिन्न विषयमा गहिरो मतभेद देखापरेका छन् । इरानको आणविक सम्झौतामा संरा अमेरिकाले हात झिकेको छ, तर युरोपेली देशले सो सम्झौतामा आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन् । जलवायु परिवर्तनको सन्दर्भमा पनि उनीहरूबीच यस्तै मतभेद देखियो । भेनेजुयलामा चालू राजनीतिक सङ्कटमा युरोपका प्रमुख देश ह्वान ग्वाइडोलाई समर्थन गर्न मानेका थिएनन् । तर, संरा अमेरिकी कूटनीतिक दबाबका कारण उनीहरूमध्ये केही माडुरो सरकारको विपक्षमा उभिन बाध्य भए ।
युरोप र संरा अमेरिकाबीच एकमत नभएको अर्को तड्गारो विषय हो–चीनद्वारा प्रस्तावित एक क्षेत्र–एक बाटो परियोजना ।
चीनले संसारभर सन्तुलित विकास गर्ने लक्ष्यका साथ अघि सारेको एक क्षेत्र–एक बाटो परियोजनालाई संरा अमेरिका नेतृत्वको गठबन्धनले मूलतः चीनको उदयको रूपमा बुझिरहेको छ । यो परियोजनामा सफल भए संसारको सबभन्दा अघि बढेको देश हुनबाट चीनलाई कसैले रोक्न सक्नेछैन । तर, संरा अमेरिकाले यो कुरा स्वीकार्न सकिरहेको छैन । एकातिर आफू एक पछि अर्को आर्थिक र राजनीतिक सङ्कटमा फस्दै जानु अनि अर्कोतिर चीनको लगातारको विकास गतिले संरा अमेरिकालाई निकै अत्याएको छ । त्यसैकारण संरा अमेरिकाले चीनको सो परियोजनामा अन्य देशलाई सहभागी बन्न निषेध गर्न चाहिरहेको छ ।
युरोप संरा अमेरिकाको उपनिवेश होइन । संरा अमेरिका मालिक र युरोप नोकर होइन । आफ्नो हितमा निर्णय गर्न युरोपेली देश स्वतन्त्र छन् । चीनको एक क्षेत्र–एक बाटोको कार्यक्रम चीनको विकास र समृद्धिसँग मात्र जोडिएको परियोजना होइन । यो सिङ्गो संसारको विकास र समृद्धिसँग जोडिएको परियोजना हो । त्यसकारण यसमा युरोपले सहभागिता जनाउन खोज्नु स्वाभाविक हो ।
चीनका राष्ट्रपति सी चिनफिङको युरोप भ्रमणको क्रममा इटालीले यो परियोजनामा सहभागिता जनाउने सहमति गरेको छ । संरा अमेरिकाको दबाबका कारण आजसम्म कुण्ठित रहेका युरोपेली देशहरूले अब क्रमशः चीनलगायत अन्य देशसँग आपसी हितमा आधारित कूटनीतिक सम्बन्ध र सहकार्य विस्तार गर्दैै जानेछन् । संरा अमेरिकाको तखतमा बसेरैमात्र युुरोप बलियो हुनेछैन । त्यसको निम्ति युरोपेली देशले बहुपक्षीय कूटनीतिलाई जोड दिनु बुद्धिमानी हो ।
Leave a Reply