भर्खरै :

सन्च्याङदेखि सिस्वानबानासम्म–२

नीरज लवजू
आजको पहिलो भ्रमण एउटा प्लास्टिक र मल कारखानामा भयो । रात्ल नामको एउटा निजी कम्पनीमा संसारकै अब्बल मानिएको जर्मनी प्रविधिको सहकार्यमा प्लास्टिक, कृषि मल, फ्लेक्स स्क्रिनको उत्पादन देख्यौं । त्यहाँ उत्पादन हुने प्लास्टिक, फ्लेक्स र मल संसारका विभिन्न देशमा निर्यात हुने गरेको सो कम्पनीका एकजना संस्थापकले जानकारी दिए । चीनका अन्य सहरको तुलनामा उरुम्चीमा कमैमात्र उद्योग कलकारखाना छन् । रात्ल कम्पनीमा सत्तरी जना इन्जिनियरहरूले उत्पादनका विभिन्न चरणमा काम गर्दै थिए । जर्मनी साझेदारसँग मिलेर यो कम्पनीले एक सत्न्दा बढी प्याटेन्ट बनाएको जानकारी पनि प्रतिनिधिमण्डललाई गराइयो ।
रात्लका उत्पादनहरू मूलतः औद्यागिक र कृषि क्षेत्रमा प्रयोग गरिन्छ । कारखानाको स्वचालित प्रणाली चार जना प्रविधिकले नियन्त्रण गर्छन् । पेट्रोलियम पदार्थको सहउत्पादनको रुपमा उत्पादन गरिने ती सबै उत्पादन प्रक्रियामा वातावरण विनाश नहोस् भनी विशेष ध्यान पु¥याएको बताइयो । उत्पादनमा संलग्न हुने मजदुर र प्रयोगकर्तालाई पनि कुनै प्रकारले क्षति नपुगोस् भनेर पनि विशेष प्रबन्ध गरिएको थियो । औद्योगिक उत्पादनका क्रममा वातावरण विनाश नहोस् भन्ने विषयमा चीनले हरेक प्रान्तमा विशेष ध्यान दिने गरेको छ । रात्ल कारखानाका उत्पादनलाई पुनःप्रयोग गरिने सकिन्छ । फ्लेक्सलगायत कारखानाका अन्य उत्पादनको पनि सक्दो पुनः प्रयोग गर्ने गरेको पनि बताइयो । तर, कसरी कुन पद्धतिमा पुनः प्रयोग गरिने हो, त्यसबारे भने कुराकानी गर्ने समय पुग्दो भएन । नेपालमा पनि फ्लेक्स प्रिन्ट एउटा चुनौती बन्दै जाने देख्छु । फ्लेक्स हरेक ठाउँमा प्रयोग हुँदै गएसँगै त्यो वातावरणको लागि चुनौती बन्दै गएको छ । आजभोलि हरेक कार्यक्रमको व्यानर र विज्ञापन सामग्री नै फ्लेक्समा छापिने गरेको छ । कदाचित त्यसको पुनःप्रयोग गर्न सकिने भए वातावरणीय क्षति कम गर्न सकिन्थ्यो ।
रात्ल कारखानाबाट हामीलाई मध्य एसिया सुन तथा पत्थर औद्योगिक पार्क लगियो । सिन्च्याङ चीनद्वारा प्रस्तावित ‘एक क्षेत्र एक बाटो’ (वन बेल्ट वन रोड) को लागि ज्यादै महत्वपूर्ण रणनीतिक क्षेत्र हो । प्राचीन रेशममार्गको एउटा हिस्सा हुनुको नाताले पनि प्रस्तावित नयाँ रेशम मार्गको लागि सिन्च्याङको महत्व हुनु स्वाभाविक हो । वन बेल्ट वन रोड कार्यक्रमले चीनलाई संसारभरका देशबीच स्थापित गर्नुका साथै आर्थिक विकासमा केही महत्वपूर्ण उपलब्धि दिनेछ । चीनले पनि संसारभर आफ्नो विकासको अनुभवमा आधारित रहेर अरु देशका विकासमा सहयोग गर्न सक्नेछ । पहिलो त यो परियोजनाले अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको विकास र समृद्धिलाई मान्यता दिलाउनेछ । जसले चीन, चिनियाँ सरकार र जनताको अन्तर्राष्ट्रिय क्षेत्रमा आत्मविश्वास बढ्नेछ । दोस्रो उपलब्धि, तुलनात्मक रुपमा विकासमा पछाडि परेका चीनका उत्तर–पश्चिम क्षेत्रलाई यही परियोजनाले विकासको मूलधारमा समाहित गर्दैै लानेछ । प्राचीन रेशम मार्गको व्यापारको एउटा महत्वपूर्ण वस्तु भनेको सुन थियो । आज पनि नयाँ रेशममार्गमा परेका देशसँग चीनले व्यापार गर्ने धेरै वस्तुमध्ये सुनको व्यापार बिस्तार गर्न सिन्च्याङमा मध्य एसियाली सुन तथा पत्थर औद्योगिक क्षेत्रको स्थापना गरिएको बताइयो । पूर्वनिर्धारित कार्यक्रममा सुनको उत्खननदेखि सुनका विभिन्न गहना बनाउने तरिकासम्म देखाउने योजना भए पनि समयअभावका कारण पार्कको प्रदर्शन कक्ष हेरेरै फर्कियौं ।
भक्तपुरको दरबार क्षेत्रमा दसैंको बेलामा फलामको लुगा लगाउने मान्छे हुन्छ भनी सुनेको थिएँ । सायद मल्ल राजाका सैनिक थिए त्यस्तो लुगा लगाउने मानिस । सिन्च्याङको सुन पार्कमा भने सुनको लुगा राखिएको देखियो । जम्मा साढे दुई किलोको सुनको लुगा । सबैलाई सुनको लुगा हेर्ने उत्सुकता थियो । सुनको लुगाको फोटो खिच्न सबैलाई हतार भएको थियो ।
अनुवादिका प्रसन्नालाई एकजना मित्रले सोधे, “तपाईंलाई सुनको लुगा लगाउन मनपर्छ ।”
आफ्नै लवजमा उनले नेपालीमा जवाफ फर्काइन्, “लगाउन ग¥हङ्गो हुन्छ । फेरि लुगा भनेको न्यानोको लागि लगाउने हो । सुनको लुगाले त जाडो हुन्छ ।”
सिन्च्याङमा केही सुनखानी पनि छन् । तिनै सुनखानी चीन र विशेषतः सिन्च्याङको आगामी विकासको एउटा आधार बन्ने पक्का छ ।
बाहिर कपासजस्तै फुसफुस हिउँपरिरहेको थियो । भित्र चम्किला सुनभन्दा हामीलाई भने बाहिर हिउँझरिरहेको हेर्नमै रमाइलो लाग्यो । समय कम थियो । तर, हिउँ पर्दाको पृष्ठभूमिमा आफूलाई उभ्याएर तस्वीर खिच्ने मौका भने छोडेनौं ।
‘नयाँँ घर’ मा
त्यसपछि हामीलाई पु¥याइएको ठाउँ भने विशेष थियो । एक हजार घरपरिवार भएको एउटा सामुदायिक केन्द्र जसको नाम थियो–नयाँ घर । चीनमा स्थानीय तहमा जनताबीच काम गर्ने सामाजिक सङ्गठन भनेको त्यस्तै सामुदायिक केन्द्रहरू हुन् । त्यस्ता सामुदायिक केन्द्रले स्थानीय तहमा आइपर्ने घरायसी र सामुदायिक समस्याको त्यहीं छलफल गरेर टुङ्ग्याउने गर्छ ।
साथै समुदायका केटाकेटी र ज्येष्ठ नागरिकको हितमा विभिन्न काम गर्ने गर्छ । आज पुगेको सामुदायिक केन्द्रले भने स्थानीय रुपमा आउने समुदायका सदस्य र सदस्यहरूबीचका समस्या समाधान गर्नुका साथै शिशु स्याहार केन्द्र र स्कुले केटाकेटीको व्यक्तित्व विकासको लागि सहयोग गर्ने गरेको छ । समुदायमा त्यत्तिकै बेरोजगार बसेका महिलाहरू मिलेर सामुदायिक केन्द्रमार्फत नै पाउरोटी र केकको कारखाना खोलेका थिए ।
फूलजस्ता केटाकेटी हामी कोठामा पस्नेबित्तिकै खुशीले चिच्याउँदै हामीलाई स्वागत गरे । निकै हँसिला स–साना केटाकेटीका चहकिला अनुहार हिउँको सेतो रङ्ग जत्तिकै कञ्चन थिए । सिन्च्याङजस्तै ‘नयाँ घर’ सामुदायिक केन्द्रमा पनि विभिन्न जातजाति सामेल छन् । कक्षामा बसेका केटाकेटी पनि विभिन्न जातिका थिए । विभिन्न सामुदायका मानिस एकै ठाउँमा बस्दा भाषाकै कारण पनि कतिबेला झगडा वा मनमुटाव हुनु स्वाभाविक हो । सिन्च्याङका जनता सबैलाई चिनियाँ भाषा आउँदैनथ्यो । आ–आफ्ना फरक–फरक भाषा भएको हुँदा त्यहाँका विभिन्न समुदायबीच संवाद गर्ने माध्यम भाषाको अभाव थियो । त्यहाँ सबैले चिनियाँ वा अरु कुनै एउटा साझा भाषा बोल्न जान्दैनथे । तर, आज सामुदायिक केन्द्रमार्फत सबैले आपसमा संवाद गर्न सक्ने चिनियाँ भाषाको सिकाइ हुने गरेको बताइयो । यसबाट नयाँ पुस्ताले आफ्नै पुर्खाको भाषा भने क्रमशः भुल्दै जाने खतरा रहन्छ नै । नेपालमा नेपाली भाषासंवादको भाषा (लिंग्वा फ्रान्का) त बनेको छ । तर, नयाँ पुस्ताले क्रमशः आफ्ना मातृभाषा भने बिर्सदै गएको छ । यति गतिमा भाषा नयाँ पुस्ताले बोल्न छोड्दै जाने हो भने कालान्तरमा नेपालका धेरै भाषाको अस्तित्व समाप्त हुनेछ । त्यसकारण सबै जातिभाषीबीच संवादको लागि साझा भाषाको आवश्यकता भएजस्तै मातृभाषाको सम्बद्र्धन पनि उत्तिकै महत्वको विषय हो ।
नयाँ घरमा आजभोलि नयाँ पुस्तालाई संवाद भाषाको रुपमा चिनियाँ भाषा सिकाइँदै छ भने उनीहरूका मातृभाषा बोल्न पनि उत्साहित गरिंँदै आएको छ । हाम्रो स्वागतमा केटाकेटीले चिनियाँ भाषामा चीनको राष्ट्रिय झण्डाको गीत गाए–रातो चिनियाँ झण्डा हल्लाउँदै ।
अर्को कक्षामा अघिका भन्दा अलि ठूला बालबालिकाहरू रातो युनिफर्ममा हामीलाई गीत गाएर र नाचेर देखाउन आतुर थिए । प्रान्तस्तरका विभिन्न कार्यक्रममा पनि भाग लिइसकेका ती बालबालिकाहरूले स्थानीय लोकगीतमा नाच देखाए । होइन, नाच्ने भनेपछि जहाँपनि केटीहरू नै अघि सर्दा रहेछन् कि के हो ! त्यहाँ छमछम नाच्ने सबै छोरीहरू थिए ।
सामुदायिक केन्द्रको छेउमा सिङ्गो अनारलाई दुई टुक्रा पारिएको प्रतिमा बनाइएको थियो । अनारलाई दुई टुक्रा पारिएको त्यो प्रतिमाको विशेष अर्थ छ । चीनका राष्ट्रपति सी चिनफिङले आप्mनो जनजातिसम्बन्धी भाषणमा चीनमा सबै जातिका जनता अनारका दानाजस्तै मिलेर बसेका छन् भनेका थिए । सामुदायिक केन्द्र आफै विभिन्न जातिबीचको सद्भाव र एकताको प्रतीक भएकोले सीको सो भनाइ उद्धृत गर्दै त्यहाँत्यस्तो प्रतिमा राखिएको थियो ।
फर्कने क्रममा एउटा कोठामा केही केटाकेटी स्थानीय उइगुर लोकगीतमा नाचिरहेका थिए । उनीहरूसँगै केही युवायुवती पनि मौलिक पहिरनमा नाचिरहेका थिए । मैले पनि केही समय कम्मर मर्काउने मौका छोडिनँ ।
हतार थियो । अरु पनि ठाउँजानु थियो । गाडीमा बस्यौं । हाम्रो गाडीको क्रमसङ्ख्या थियो–डी ३ ।
सिन्च्याङ उइगुर मुसलमानको बाहुल्यता भएको प्रान्त हो । सिन्च्याङसँग सिमाना जोडिएका देशहरू पनि अधिकांशतः मुसलमान समुदायको अधिक जनसङ्ख्या भएका देश हुन् । कम्तीमा सिन्च्याङसँग जोडिएका अरु देशका भूभागमा मुसलमान समुदायको अधिकता छ । त्यहाँको मौलिक र स्थानीय संस्कृति भन्नु नै उइगुर मुसलमान संस्कृति हो । चीनमा अल्पसङ्ख्यक जनताको धर्म र संस्कृतिलाई राज्यले कसरी संरक्षण गरेको छ भन्ने कुरा देखाउन पनि चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले धेरै देशका उच्चपदस्थ सरकारी प्रतिनिधि र संसारभरिका ३० भन्दा बढी देशका थुपै्र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा सो कार्यक्रम आयोजना गरिएको थियो । सिन्च्याङ र तिब्बतलाई देखाएर पश्चिमा देशहरूले धार्मिक स्वतन्त्रता, मानवअधिकार आदिकाबारे गलत प्रचार गर्ने गरेका छन् । वास्तवमा चीनमा धार्मिक स्वतन्त्रता छ वा छैन भनी देखाउन पनि संसारभरका प्रतिनिधिहरूलाई सिन्च्याङ बोलाइएको थियो ।
बङ्गलादेश, पाकिस्तानसँगै नेपाली प्रतिनिधिमण्डल सामेल भएको झण्डै तीस जनाको टोलीलाई सिन्च्याङमा मुसलमान धर्मबारे पढाइने र प्रचार गरिने मुस्लिम इन्स्टिच्युट र झण्डै १३० वर्ष लामो इतिहास भएको एउटा पुरानो मस्जिदको भ्रमण गराइयो । मुस्लिम इन्स्टिच्युटमा प्रतिनिधिमण्डलको स्वागत त्यहाँका मौलाना र चिनियाँ मुसलमान समाजका उपाध्यक्ष शेख अब्दुल राकेकले गरेका थिए । हाम्रो प्रतिनिधिमण्डलको नेतृत्व बङ्गलादेशका उपसभामुखले गरेका थिए । उनी स्वयम् मुसलमान भएकाले मस्जिद र मुसलमान इन्स्टिच्युट पुग्दा निकै हर्षित देखिन्थे । हामीलाई स्वागत गर्ने मौलानाले चीनमा विभिन्न धर्म, विशेषतः मुसलमान धर्मको अवस्थाबारे प्रतिनिधिमण्डललाई जानकारी दिए । चीनमा जनतालाई धर्म मान्न र धर्म नमान्न दुवै स्वतन्त्रता छ । धर्म मान्नेले पनि कुन धर्म मान्ने भन्ने कुराको निर्णय स्वयम्ले गर्न सक्दछन् । कसैले त्यसमा कुनै प्रकारको हस्तक्षेप गर्न सक्दैन ।
मुस्लिम इन्स्टिच्युटमा पढ्ने विद्यार्थीलाई सिन्च्याङ स्वशासित क्षेत्रको सरकारले छात्रवृत्ति दिने गरेको छ । त्यहाँ विभिन्न समयावधिका शैक्षिक कक्षा तथा जानकारीमूलक तालिम हुने गरेका छन् । दुई र तीन वर्षका दुई प्रकारका स्नातक तहका कक्षाका साथै विभिन्न समयावधिका छोटा तालिम पनि हुने गर्दछन् । हरेक वर्ष दुई चरण गरेर दुई हजार मानिसलाई इस्लाम धर्मबारे तालिम सञ्चालन हुने गरेका छन् । सिन्च्याङका अन्य आठ स्थानमा पनि इन्स्टिच्युटका उपशाखा बिस्तार भएका छन् ।
हाम्रो अर्को गन्तव्य थियो– अर्को एउटा मस्जिद । मस्जिदको नाम याङ हाउ मस्जिद थियो । यो निकै पुरानो इतिहास बोकेको मस्जिद थियो । मस्जिदमा हामीलाई स्वागत गर्न बसेका मौलानाले अफ्रिकी देश लिवियामा मुसलमान धर्मको अध्ययन गरेका रहेछन् । लिविया भन्ने बित्तिकै मलाई मोअम्मर गद्दाफीको सम्झना भयो । लिवियामाथि साम्राज्यवादी हमलाका क्रममा अन्यायपूर्वक मारिएका मोअम्मर गद्दाफी संसारमा संरा अमेरिकी साम्राज्यवादको दबदबाको कडा विरोधी थिए ।
हामी पुगेको मस्जिदको अर्को रोचक पक्ष त्यहाँको व्यवस्थापन समिति निर्वाचित हुने गर्छ । मस्जिदमा आउने मुुसलमान धर्मावलम्बीहरूबीचबाट त्यहाँको व्यवस्थापन समिति निर्वाचित गरिन्छ । मस्जिदको वास्तुकला ज्यादै आकर्षक थियो । हाम्रो प्रतिनिधिमण्डलका मुसलमान धर्मावलम्बीहरूले त्यहाँ प्रार्थना गरे ।
क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *