भर्खरै :

वर्षाको कारण खेर गयो मिहिनेत

–सोनी कवां
भक्तपुर, १४ चैत । कहिले वर्षा, कहिले टन्टलापुर घाम, कहिले धुलो र धुवाँ नभनी काम गरेका इँटाभट्टाका मजदुरहरूको वर्षाका कारण धेरै दिनको मिहिनेत खेर गएको छ । दुई दिन परेको पानी र हुरीका कारण आफनो मिहिनेत खेर गएकोमा उनीहरूले दुःख पोखे । आफनो पसिना परेको हरेक सामानको वा वस्तुको माया लाग्नु स्वाभाविक हो । तारी भट्टामा इँटा बनाउन आएका मजदुरहरू आफूले मेहेनत गरेर फल खान नपाएकोमा दुःखी छन् ।
पछिल्लो वर्षाको कारण स्थानीय माइला कवांले तीन हजार इँटा नोक्सान भएको बताए । उनीसँगै काम गर्ने रामबहादुर तामाङ्गको पन्ध्र सय, विष्णुमाया गुरुङको हजार, रामचन्द्र कोजूको दुई हजार, राम कोजूको पचीस सय र जयराम कोजूको पन्ध्र सय इँटा नोक्सान भएको भन्दै उनीहरूले दुःख पोखे । वर्षा हुनुभन्दा अगाडि प्लास्टिकले छोप्न पाएको भए नोक्सान नहुने उनीहरूको भनाइ छ । तयारी अवस्थामा रहेको इँटा खेर गए पूरै पैसा पाउने उनीहरूले बताए ।
जीवन निर्वाह सहज बनाउने आशामा काम गर्न आएका कामदारहरूले मुखमा परेको गाँस खोसिएझैं भएको बताए । काम गर्ने स्थान आकाशे पानीले पोखरीझैं भएको छ । तयारी अवस्थामा राखेको इँटा हुरीको कारण लडेर भुइँमा छरपस्ट भएको छ । पानीसँग मिसिएकोले आफूले बनाएको पसिनाको ज्याला नै नपाउने र पहिलेकै जस्तै आफूले काम गर्ने स्थल सुकाउन धेरै समय लाग्ने उनीहरूले बताए । यसरी दिन रातको वास्ता नगरी काम गर्दा पनि वर्षाको कारणले गर्दा हातमा आएको पैसा वर्षाले खोसेर लगेको उनीहरूको भनाइ छ । यसअघिको वर्षामा पनि इँटा क्षति भएको थियो ।
प्रशिक्षार्थी

Leave a Reply

Your email address will not be published. Required fields are marked *