भर्खरै :

समृद्धिको एक आधार कृषि

नेपालको आत्मनिर्भरताको कुरा आउने बित्तिकै हाम्रो दिमागमा कृषिमा स्वावलम्बी देशको चित्र आउँछ । समृद्ध नेपाल बनाउने हो भने पहिलो काम कृषि उत्पादनमा आत्मनिर्भर बनाउने योजना कार्यान्वयन हुनुपर्छ । तर विडम्बना कृषि उपजको आयात निर्यातभन्दा आठ गुणाले बढी छ । नेपालले करिब डेढ खर्ब रुपियाँ बराबरको खाद्यान्नलगायत आयात हुनुले नेपालको कृषि उत्पादन कति खस्किएको भन्ने बुझ्न सकिन्छ । यसरी नेपाल कृषिप्रधान भनिए पनि कृषि क्षेत्र झन्झन् तहसनहस हुँदैछ एक समय कृषि उपज निर्यात गर्ने देश अहिले खाद्यान्नमा समेत परनिर्भर बन्दैछ ।
नेपालको भूबनोट र पर्यावरण कृषिको निम्ति अब्बल छ । समुद्र सतहबाट ६० मिटर उचाइदेखि विश्वको सबैभन्दा अग्लो शिखर नेपालमै छ । तराईको समतल तथा उब्जाउशील फाँटदेखि चुरे, उपत्यका, महाभारत, पहाड, नदी, बगर, लेक तथा बेँसीलगायत धेरै भूमि कुनै न कुनै कृषि उत्पादनको निम्ति उपयुक्त छ । तराईमा मात्र होइन विश्वको सबभन्दा उँचो भागमा धान फल्ने भूमि पनि नेपालमै छ । विभिन्न जातका फलफूलको निम्ति नेपाल स्वर्ग नै हो । अनेक खालका तरकारीको निम्ति पनि नेपालको हावापानी राम्रो छ ।
देशको समृद्धिको पहिलो शर्त नै आफ्नो निम्ति चोखो र शुद्ध खाद्यपदार्थ उत्पादन होे । अनेक सरकारी योजना हुँदाहुँदै पनि नेपालले कृषि क्षेत्रमा समय सुहाउँदो प्रगति गर्न सकेको छैन । खेतबारी बाँझो हुने क्रम तीव्र छ । किसानमा यो व्यवसायप्रति आकर्षण घट्दै गएको छ । गाउँमा खेती गर्ने युवा भेटिन छोडेको अवस्था छ । बलिया युवाको श्रम अरब र खाडीका मरुभूमिमा तरकारी फलाउन र भेँडा चराउन लगाउने शासकहरूकै कारण कृषिमा नयाँ सीप र प्रविधि नभित्रिएको हो ।
कृषिमा यान्त्रिकीकरण हुनुपर्ने एकातिर छ भने आधुनिक बीउबिजन, सिचाइ, कृषि मलको पर्याप्तता केही आवश्यकीय पक्ष हुन् । खुला सीमाको कारण भारतबाट आउने सस्तो र कमसल कृषि उपज निर्वाध नेपाल भित्रिँदा नेपाली किसान मारमा परेको बारे पनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । नेपालको कृषि उत्पादनलाई भारतबाहेक अन्तर्राष्ट्रिय बजारमा पु¥याउने हो भने नेपाली कृषकले उचित मूल्य पाउँथे होलान् । बिचौलियाको कारण पनि वास्तविक किसान निराश भएको पाउँछौँ । बजारको उचित बन्दोबस्त छैन । किसानको कुनै बाली बिग्रिए राज्यको तर्फबाट कुनै क्षतिपूर्तिको व्यवस्था हुन्न । मानिसलाई नभई नहुने खाद्यान्न, मासु, तरकारी तथा फलफूलको उत्पादन गर्ने आफै खान नपाउने अवस्था हुँदासम्म देश उँभो लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *