भर्खरै :

सिन्च्याङदेखि सिस्वानबानासम्म–५

नीरज लवजू
बेलुका हामी बसेकै रिसोर्टमा सिस्वानबाना जातीय स्वशासित प्रिफेकचरको जनसरकारका गभर्नर लुओ होङ चियानसँग शिष्टाचार भेट भयो । नेपाल, बङ्गलादेश र पाकिस्तानका जम्मा २३ जना प्रतिनिधिमण्डलको नेतृत्व बङ्गलादेशको अवामी लिगका वरिष्ठ नेता र बङ्गलादेशको संसदका उपसभामुख फेजल रब्बी माहले गरेका थिए । सिस्वानबानाका गर्भनर होङले आफ्नो प्रिफेक्चरको बारे विस्तृत जानकारी दिए । भौगोलिक रुपमा सानो भए पनि चीनकै सबभन्दा बढी जङ्गली जनावर भएको प्राकृतिक विविधतायुक्त, कम जनसङ्ख्या भए पनि सबभन्दा बढी जनजाति भएको क्षेत्रको रुपमा सिस्वानबानाको परिचयसँगै त्यहाँको पर्यटन क्षेत्रबाट हुने आम्दानीको चर्चा चकित पार्ने खालको थियो । हरेक वर्ष पर्यटन क्षेत्रमा मात्र १० अर्ब अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ । मूलतः रबर र चियाको उत्पादन बढी हुने यो क्षेत्र म्यानमारको सिमानाबाट मात्र ३० किलोमिटरको दूरीमा छ ।
सो क्षेत्रमा ताई अल्पसङ्ख्यकहरूको बहुमत भएकोले त्यहीअनुसार ताई संस्कृतिको संरक्षण गरिएको छ । सिस्वानबानालाई ताई जातीय स्वशासित क्षेत्र बनाइएको छ । सँगै अन्य १२ जनजातिलाई पनि त्यहाँका आर्थिक, सामाजिक र राजनीतिक गतिविधिमा सहभागी बनाइएको गभर्नरले जानकारी दिए ।
भेटमा सबै प्रतिनिधिमण्डल सदस्यले आ–आफ्नो परिचय दिए ।
रात्री भोजमा सिन्च्याङको रात्रीभोजमा पनि सँगै परेका मिस्टर ल्यु नै मेरो टेबुलमा परे । प्रतिनिधिमण्डलका केही नेपाली साथीहरू र स्थानीय सरकारी अधिकारीहरू पनि त्यही टेबुलमा थियौं । स्थानीय अधिकारीहरूलाई चिनियाँ भाषा र आफ्नै स्थानीय भाषामात्र बोल्न आउँथ्यो । अंग्रेजी र चिनियाँ दुवै भाषा बुझ्ने ल्युलाई एकक्षण बसेर खाने फुुर्सद पनि थिएन । त्यसैले स्थानीय अधिकारीहरूसँग केही कुराकानी गर्न पाइएन । सड्ढेतमैमात्र केही कुराकानी भयो । नजिकै दबुमा देखाइएको साँस्कृतिक कार्यक्रम हेर्नमै समय बित्यो । स्थानीय आदिवासी साँस्कृतिक नाचहरू प्रदर्शन गरिएका थिए । कति नाच त नेपालकै कुनै जनजाति समुदायका जस्ता थिए । माछा मार्ने नाच नेपालकै थारु जातिको नाचजस्तै थियो ।
आयोजक साथीहरूले बीचमै सबैसामु एउटा रहस्य खोले । त्यो दिन बङ्गलादेशको प्रतिनिधिमण्डल सदस्य दिलिप बरुवाको ७० औं जन्म दिन थियो । यो कुरा सुनेर बरुवा आफैं चकित परेका थिए । सबैले उनलाई शुभकामना दिए । केक काटे । हामीले पनि भादगाउँले टोपी र पार्टीका केही प्रकाशन दिएर उनलाई शुभकामना दियौं ।
दिलिप बरुवा बङ्गलादेश कम्युनिष्ट पार्टी मालेका महासचिव हुन् । उनीसँग पहिलो भेट सन् २०१३ मा चीनमा भएको थियो । सन् २०१७ मा पनि उनी हामीसँगै थिए । यो पटक पनि उनी हामीसँगै थिए । बङ्गलादेशको राजनीतिमा उनको पार्टी अहिले राजनीतिक रुपमा शक्तिशाली छैन । तर, उनी चीनका नजिकका मित्र हुन् । सोभियत सङ्घ र चीनबीच सैद्धान्तिक सङ्घर्ष चल्दा बङ्गलादेशका धेरै कम्युनिष्ट पार्टीले सोभियत लाइनलाई समर्थन गर्दा बरुवाले चीनको क्रान्तिकारी बाटोको समर्थन गरेका थिए । कुनै बेला बङ्गलादेशका उद्योग मन्त्री बनिसकेका बरुवा चीनमा बरोबर आइरहने गर्छन् । उनका जन्म दिनको शुभकामनासँगै रात्रीभोजको समापन भयो ।
बिहान चिया खाने समयमा नेपालबाट दुःखद् समाचार सुन्यौं । पाथीभराबाट फर्केको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्रीलगायत हेलिकप्टरमा सवार सबैको ज्यादै दुःखद् निधन भयो । अनलाइन स्रोतमार्फत धेरैभन्दा धेरै जानकारी थाहा पाउने कोसिस ग¥यौं ।
आज काठमाडौंमा हिउँ परेछ । सिन्च्याङमा कपासजस्तै आकाशबाट झरेको हिउँको कुरा कुनै दिनको चिया गफमा साथीहरूलाई फुर्ती गरेर सुनाउँला भनेको उतै पो हिउँ परेछ !
१ मार्च २०१९ (१७ फागुन २०७५)
यु नान खा ३३ वर्षकी भइन् । कुनै समय उनको जीवन आजको जस्तो थिएन । उनी दुई वर्षकी हुँदा आमा र बुबाको सम्बन्ध विच्छेद भयो । हजुरआमा र आमा नमिल्दा आमाले नाबालक युलाई बुबाको काखमा छोडेर गइन् । अलि हुर्केपछि बुढो बुबाको स्याहार र घरकैै काममा व्यस्त हुनुपर्दा युले निम्न माध्यामिक तहका कक्षासम्म मात्र पढाइमा चित्त बुझाउनुप¥यो ।
तर, समय सधैं उस्तै रहेन । युको विवाह उनलाई निकै माया गर्ने केटोसँग भयो । उनीहरूले प्रेम विवाह गरे । चीनमा मागी विवाह भन्ने चलन छैन । उनको श्रीमानको घर—घरमा सामान पु¥याउने व्यवसाय छ । यु दम्पत्तीका दुई छोरा छन् । एक जना एघार वर्षको अनि अर्को एक वर्षको । एघार वर्षको छोरा गाउँकै एउटा आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्छ । सानो कान्छो स्कूल गइसकेको छैन ।
यु नान खा मान्ले एन नामको गाउँको महिला सङ्गठनकी अध्यक्ष हुन् । उनको समितिले एघार स्थानीय गाउँमा काम गर्छ । महिला समितिका धेरै सामाजिक गतिविधिमै यु नान खाको दिन बित्ने गर्छ । सामाजिक गतिविधिमा उनी आफूसँगै कान्छो छोरालाई पनि लिएर जान्छिन् ।
मार्च १ को बिहान मेकोङ नदी नजिकैको मान युआन गाउँ पुग्दा गाउँलेहरू बाजागाजासहित नेपाली, बङ्गलादेशी र पाकिस्तानी प्रतिनिधिमण्डलको प्रतिक्षा गरिरहेका थिए । ताई अल्पसङ्ख्यक जातिको यो गाउँका मानिसहरूले हामीलाई स्वागत गर्न बजाइरहेको बाजा नेवार समुदायको धिमे बाजाजस्तै थियो । दुईतिर विभिन्न रङ्गीन लुगा लगाएका ताई युवाहरू गमलाका फुलजस्तै लामबद्ध उभिएर स्वागत गरिरहेका थिए । सबै पाहुनालाई उनीहरूले आफ्नो मौलिक हातले बनेको जन्तर जस्तै डोरी लगाइदिएका थिए ।
यु नान खा पनि कार्यक्रममा सहभागी बन्न पारि गाउँबाट त्यहाँ आएकी थिइन् । कार्यक्रममा ताई जातिसँगै चिनो र हानी आदिवासी र अल्पसङ्ख्यक जातिका मानिस आ–आफ्ना सांस्कृतिक पहिरनमा सहभागी भएका थिए ।
ताई जातिका मानिसहरू नेपालका थारु समुदायजस्तै देखिएका थिए । ताईहरूका घर खाबा उठाइएका तल्लो तल्ला खाली र माथिल्लो तल्लादेखि बस्ने चुच्चे छाना भएका हुन्छन् । ताईहरू किसानी गर्ने जाति भएको हुनाले उनीहरूले घरको भुई तल्लामा आफ्ना कृषि औजार राख्ने गर्छन् । आजभोलि भने कसैको छिँडीमा ट्याक्टर र कसै कसैको घरमा कार राखिएका देखियो । गर्मी ठाउँ भएकाले भुई तल्लामा बसेर लुगा सिउनेलगायतका घरेलु काम पनि छाँयामा बसेर गर्छन् । ताई जातिका घर नेपालकै तराईका घरजस्ता थिए । नेपालका थारुहरूजस्तै ताई जाति पनि प्रकृति पुजक जाति हो । उनीहरू रुखलाई पूजा र संरक्षण गर्छन् । पहाडको फेदमा रहेको यो गाउँलाई सिस्वानबाना प्रिफेक्चरकै जनजाति नमुना गाउँको रुपमा विकास गरिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग र पार्टीको सिस्वानबाना प्रिफेक्चरको आयोजनामा आदिवासी जनजातिसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रम गाउँकै एउटा ताई घरको आँगनमा गरिएको थियो । सफा चिटिक्क परेको आँगनमा मिलाइएका स्थानीय शैलीकै गोलो टेबुल वरपर राखिएको मेचमा प्रतिनिधिमण्डल सदस्यसँगै स्थानीय सांस्कृतिक पहिरन लगाएका प्रतिनिधिहरू पनि बस्ने बन्दोबस्त गरिएको थियो । टेबुलमा स्थानीय किसानहरूद्वारा उत्पादित सुन्तला, केरा र इमली राखिएका थिए ।
जनजातिसम्बन्धी प्रतिनिधिमण्डलमा सहभागी तीन देशका एक एक जना प्रतिनिधिले बोल्ने कार्यक्रम थियो । चिकपा अन्तर्राष्ट्रिय विभागकी महानिर्देशक सुन, सिस्वानबानाका उपगर्भनर र स्थानीय पार्टी समितिको विदेश विभागका प्रमुखले आदिवासी जनताको लागि चीनमा राज्यले गरिरहेका पहलबारे चर्चा गरे ।
त्यही कार्यक्रममा भेट भएको थियो– यु नान खासँग । उनले आफ्ना दुई छोरामध्ये एक जनालाई सेना बनाई देशको सेवामा लगाउने र अर्कोलाई चिकित्सक बनाउने सपना साँचेको बताइन् । मैले सोधें, “कान्छो छोरालाई आफ्नो बुढेसकाल सजिलो होस् भनेर चिकित्सक बनाउने सपना देख्नुभएको हो ?”
उनले भनिन्, “होइन । हाम्रो समुदायमा चिकित्सक कम छन् । छोरालाई चिकित्सक बनाउन सके हाम्रो समुदायका मानिसले सहज स्वास्थ्य उपचार पाउनेछन् ।”
उनको सामाजिक भावना सम्मानजनक लाग्यो ।
स्थानीय जनतासँग संवाद गर्न भाषिक समस्या थियो । तथापि एक जना अनुवादिकाको सहयोगमा यु नान खासँग उनको जीवनका विविध पाटाबारे कुराकानी भयो । फर्कनुअघि एउटा सामूहिक तस्वीर खिच्ने कार्यक्रम थियो । तस्वीर खिच्न लहरै बस्दा यु नान खा मेरो आडैमा उभिन आइन् । केही मिनेटको सङ्क्षिप्त कुराकानीले हामीबीच एउटा भावनात्मक सम्बन्ध गाँसिएको आभास भयो । उनी आडैमा बस्न आएको देख्दा म पनि खुशी भएँ । मानिसलाई नजिक बनाउन कति नै पो समय चाहिने रहेछ र !
गाउँपुग्ने बाटो पूरै ढलान गरिएको पक्की थियो । दुई वटा गाडी गुड्न सक्ने बाटोले गाउँले जीवन सहज बनाएको छ । कृषियोग्य भूमिमा अन्य कुनै प्रकारको भौतिक निर्माण गरिएको देखिएन । ठूलठूला फाँटमा कतै खुर्सानी, कतै करेला, कतै केरा, कतै विभिन्न अन्य बालीनाली लगाइएको थियो । नेपालकै कुनै तराईको भ्रमण गरिरहेको धेरै कुराले भान पा¥यो । तर बाटोघाटो व्यवस्थित हुनु, ठूलठूला आकारका जमिनमा बाली लगाइनु भने बाहिर देखिने केही भिन्नता थिए । कहीं कतै त मानिसहरू एक्साभेटरले खेत खनिरहेको देख्दा केही मित्रहरू ताजुब परे । मेकोङ नदीको किनारै किनार बनेको सडक हुँदै सिस्वानबानाको मुख्य सहर फर्कदै गर्दा चितवनबाट काठमाडांैतिर फर्किरहेको महसुस भयो । तल तल त्रिशुलीजस्तै मेकोङ नदी बगिरहेको थियो । बाटोमा देख्यौं, प्रत्येक पहाडका थुम्कामा भुईकटहर फलेका थिए । कुनै पनि माटोको टुक्रालाई खेर फालिएको थिएन । हरेक टुक्रा माटोलाई देशको सेवामा लगाइएको थियो । चीनको आजको अवस्था कुनै जादुको छडीले सम्भव भएको होइन । चिनियाँ जनताको मिहिनेती स्वभाव र सिर्जनात्मकता नै यसको मूल आधार हो ।
चिनियाँ मित्रहरूले हामीलाई चीनमा अल्पसङ्ख्यक आदिवासी जनजाति समुदाय कसरी चीनको तीब्रतर आर्थिक विकासमा समेटिएका छन् भन्ने विषयमा सकेसम्म बढी जानकारी दिन खोजिरहेका थिए । बिहानको अल्पसङ्ख्यक जातिको गाउँ भ्रमणपछि लगिएका तीन वटै स्थान उही मनसायमा आधारित थिए । दिउँसो सिस्वानबानाको एउटा प्रिफेक्चर स्तरको माध्यामिक विद्यालय भ्रमणमा गयौं । सामान्यतः विद्यालत्न्दा हाम्रो दिमागमा आउने कुनै पनि चित्रभन्दा निकै भिन्न अल्पसङ्ख्यक जनजातिको लागि बनेको त्यो विद्यालय भव्य थियो । विद्यालयको खेलमैदान नेपालको कुनै क्षेत्रीय स्तरको रङ्गशालाभन्दा कम थिएन । विद्यालयका सयौं विद्यार्थी खेलमैदानमा विभिन्न खेलको तालिम गर्दै थिए । भलिबल, फुटबलको तालिममा सयौं विद्यार्थी व्यस्त थिए ।
एक जना पाकिस्तानी मित्र भलिबलको तालिम लिइरहेका विद्यार्थीहरूको तस्वीर खिच्दै आफ्नो साथीलाई भन्दै थिए,“ओलम्पिकमा चीनको लागि पदकको कारखाना यही रहेछ ।”
खेलको तालिम लिंदै गरेका केही सय विद्यार्थीबाहेक विद्यालयको परिसर सुनसान नै थियो । कक्षामा पढिरहेका विद्यार्थीलाई बिथोल्न हामीलाई उचित लागेन । फर्कने कुरा भयो । तर, हाम्रो प्रतिनिधिमण्डल त्यत्तिबेला चकित प¥यो जब दुईतिरबाट सयौं सङ्ख्यामा विद्यार्थीहरू दौडेर विद्यालयको प्राङ्गणमा जम्मा भए । सबै विद्यार्थीहरूले विभिन्न आदिवासी जनजातिका सांस्कृतिक पोशाक लगाएका थिए । विद्यालयको चौडा प्राङ्गणमा लामबद्ध भएका सात सय विद्यार्थीले सिस्वानबानाका आदिवासी जनताको संस्कृति झल्किने सामूहिक नृत्य प्रस्तुत गर्दा हामीसँग जिल्ल पर्नुको विकल्प भएन । हाम्रो लागि त्यो दृश्य एक प्रकारले अनपेक्षित पनि थियो । केही बेरअघि सम्म सुनसान विद्यालयमा अचानक सयौंको सङ्ख्यामा आएका विद्यार्थीले छमछम एकै तालमा नाच्दा प्रतिनिधिमण्डलका सबै सदस्यहरूको मुहारमा खुशी र आश्चर्यको भाव प्रस्ट देख्न सकिन्थ्यो । सात सय विद्यार्थीले नाचिसकेपछि अर्को सात सय विद्यार्थीले पनि यही तरिकाले विभिन्न भावमा नृत्य प्रस्तुत गरे । सबैले विभिन्न थरीका सांस्कृतिक पहिरन लगाएका थिए–त्यसले विद्यालयको सिङ्गोे प्राङ्गण रङ्गिन बगैंचाजस्तै देखिएको थियो । विद्यालयका प्रधानाध्यापकलाई भादगाउँले टोपी लगाएर विद्यालयको भव्य प्रस्तुतिको लागि सम्मान व्यक्त ग¥यौं ।
क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *