क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
सुरेन्द्रराज गोसाई
(नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले चैत १८ गते भएको प्रदेशसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा व्यक्त विचारको सार सङ्क्षेप – सं.)
सर्वप्रथम आइतबारको रात बारा, पर्सामा गएको विनाशकारी हावाहुरीको कारण धनजनको ठूलो क्षति भएकोमा दुःख व्यक्त गर्दछौँ । मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । पीडित जनताको निम्ति आवश्यक बन्दोबस्त गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ । भूकम्प, बाढीपहिरोमा झैं यतिखेर सरकारसँग संवेदनशीलता, पूर्वतयारी या उच्च सतर्कता नभएको प्रस्ट देखियो । जनताको जीउ–धन जोगाउन सरकार गम्भीर नभएको यो पछिल्लो दृष्टान्त हो । सरकारको परीक्षा प्राकृतिक विपत्तिको क्रममा हुनेहुँदा होशियारी अपनाउन हामी ध्यानाकर्षण गराउँदछौँ ।
एसईई अर्थात् कक्षा १० का देशभरका विद्यार्थीहरूको परीक्षा आज सम्पन्न हुँदैछ । तर, प्रदेश नम्बर दुईको परीक्षा मर्यादितरूपमा अगाडि बढाउन सरकार सफल हुनसकेन । परीक्षा पूर्णरूपमा स्थगित हुने स्थिति तयार हुनु देशकै निम्ति लज्जाको विषय हो । आज हजारौं–हजार विद्यार्थीहरूको भविष्यमाथि खेलवाड भएको छ । यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ । दुईतिहाइको शक्तिशाली सरकार एउटा राष्ट्रिय महत्वको परीक्षा सञ्चालन गर्न असक्षम बनेको देखेर विद्यार्थी तथा अभिभावक आक्रोशित छन् । दोषीमाथि कारबाही गर्दै त्यस घटनाबाट हुन पुगेको सम्पूर्ण नोक्सानीको जिम्मेवारी लिन सरकारसमक्ष सदनमार्पmत माग गर्दछौँ । त्यस्ता घटना आगामी दिनमा हुन नदिने सुनिश्चितताको प्रत्याभूति दिलाउन जोडदार माग गर्दछौँ ।
वर्तमान सरकार साम्राज्यवादी तथा विस्तारवादी शक्तिसामु झुक्दै गइरहेको व्यापक चर्चा छ । संरा अमेरिकी सरकारले रु. ५६ अर्बको आर्थिक सहयोग गर्ने प्रलोभन देखाई विभिन्न पूर्वसर्त अगाडि सा¥यो । त्यो सहयोग नेपालले प्राप्त गर्न आफ्नो सार्वभौमिकता रक्षा गर्न सङ्घर्ष गर्दै समाजवादको झण्डा फहराइरहेको एसियाली मुलुक प्रजग कोरियाविरुद्धको नाकाबन्दी समर्थन गर्नुपर्ने र छिमेकी देश चीनबाट अवैध ढङ्गमा नेपाल प्रवेश गरेका तिब्बतीहरूलाई चीन फिर्ता पठाउन नहुने दुईवटा सर्त अमेरिकाले अघि सा¥यो । यो हाम्रो देशको आन्तरिक तथा परराष्ट्र मामिलामाथि ठाडो हस्तक्षेप हो । यो सर्त नेपालप्रतिको संरा अमेरिकी हेपाहा नीतिको एउटा प्रमाण हो । उक्त सर्तको हामी विरोध एवं भत्र्सना गर्दछौँ । संरा अमेरिकी सरकारको सर्तसहितको सहयोग अस्वीकार गरी स्वतन्त्र तथा सम्प्रभुत्तासम्पन्न नेपाली जनताको आत्मस्वाभिमान जोगाउन यो सदनमार्पmत नेपाल सरकारलाई सचेत गराउँदछौँ ।
संरा अमेरिकाको यो सर्त छिमेकी देश चीन र नेपालबीचको बलियो सम्बन्धमा भाँजो हाल्ने र एसियाली मित्र देश प्रजग कोरियासँगको मित्रतामा खलल पु¥याउने कुत्सित उद्देश्यका साथ आएको स्पष्ट छ । एसियामा नयाँ युद्ध थोपर्ने संरा अमेरिकी चालबाजी असफल बनाउनु हरेक शान्तिकामीको कर्तव्य हो । बिम्स्टेक र हिन्द–प्रशान्त सैनिक गठबन्धन हुँदै पाइला–पाइला गरी नेपालमा समेत अमेरिकी सैन्य अखडा राख्ने पूर्वतयारीको रूपमा यो सर्त आएको हुनाले नेपाल सरकारले यसको विरोध गर्नु नेपालको पक्षमा मात्र होइन क्षेत्रीय शान्ति तथा विश्व शान्तिको पक्षमा हुनेछ ।
Leave a Reply