भर्खरै :

सामन्ती संस्कार र अन्धपरम्पराविरुद्ध किन नलड्ने !

देशमा गणतन्त्र घोषणा भएको एक दसकभन्दा बढी भयो । तर, पनि यहाँ सामन्ती संस्कार र अन्धपरम्परा यथावत छन् । सामन्ती संस्कार र अन्धपरम्पराकै कारण नेपाली महिलाहरू मृत्युको शिकार बनिरहेका छन्, शारीरिक र मानसिक यातनाबाट पीडित बनिरहेका छन् । यसको एउटा कारण दाइजो पनि हो । दाइजो नदिएकै कारण लोग्नेको पिटाइबाट सुनिता यादवको शुक्रबार मृत्यु भयो । लोग्ने सचितानन्दले पत्नी सुनिताको माइतीबाट कार नदिएको निहुँमा कुटपिट गरिएको थियो । चिकित्सक सचितानन्दको निर्घात कुटपिटबाट पत्नी सुनिताको मृत्यु भएपछि स्थानीय जनताले दोषीमाथि कारबाहीको माग गरेका छन् । कारबाही हुन्छ या हुँदैन त्यो समयले देखाउनेछ ।
चिकित्सकजस्तो एक सचेत नागरिकले दाइजोको निहुँमा पत्नीलाई निर्घातसित कुटपिट गर्छ भने अरु सर्वसाधारणको हालत के होला ? दाइजो लिने दिनेमा अनिवार्य गर्नु ठीक होइन । लोग्ने पक्षले भनेजति र चीज दिनैपर्ने संस्कारमा सुधार्नुपर्छ । कसैले दाइजो दिन बाध्य पार्छ र नदिए हत्यासमेत गर्ने आपराधिक व्यक्तिहरूलाई कडा सजाय हुनुपर्छ, कडा सजायको बन्दोबस्त हुनुपर्छ । पहिले सानातिना दाइजोमै बिहे सम्पन्न हुन्थ्यो । आजभोलि यसले ठूलो रुप लिएको छ । दाइजोमा फ्रिज, दराजमात्र होइन मोटरबाइक, कार र घरसमेत माग्न थालेको पाइन्छ । यसरी बिहेमा दाइजो लिने दिने बाध्य स्थितिको अन्त्य हुनुपर्छ । दाइजो दिनुपर्ने बाध्यताले तराईका कति जिल्लामा छोरी जन्मेपछि अभिभावकहरू आफूले आफूलाई धिक्कार्छन् ।
सवाल कसैको छोरा र छोरी जन्मेकोमा खुसी र दुःखी हुने होइन, सामन्ती संस्कारको रुपमा समाजमा रहेको कुरीतिको हो । विशेषगरी दाइजोको कारण हत्या हुने शृङ्खला तराईमा बढी भएको पाईन्छ । तराईमा रहेका विभिन्न मधेसी दलले एक मधेस एक प्रदेशको नारा दिएर आन्दोलन छेडे, महिनौं हड्ताल र चक्काजाम गरे, आगो बालेर सडक तताए तर दाइजोको कारण हत्या भइरहेको सन्दर्भमा सङ्घर्ष गरेनन् । बोक्सीको आरोपमा घरबाट मात्र होइन गाउँबाटै निकाल्ने आपराधिक कार्यविरुद्ध सङ्घर्ष भएन । बोक्सीकै आरोपमा दिसा खुवाउने, दिनरात आँगनमा बाँधेर बेइज्जत गर्ने, मरणासन्न हुने गरी कुटपिट गर्ने, घिसार्ने, लछार्ने पछार्नेजस्ता शारीरिक र मानसिक यातना गर्ने अपराधीहरूमाथि कारबाही गर्न सङ्घर्ष गरिएन, कारबाही गर्न अघि बढेन ।
अहिले पनि सामन्ती संस्कारको रुपमा रहेका यस्ता परम्पराको विरोधमा तराईका मधेसवादी दलका नेता र कार्यकर्ताहरूको ध्यान गएको देखिंदैन । त्यस्ता आपराधिक कार्य, कुरीति र अन्धविश्वासलाई तिनीहरू आफ्नो धर्म ठान्छन्, परम्परागत संस्कार र संस्कृति ठान्छन् र निरन्तरता दिन चाहन्छन् । घाँसभित्र लुकेका यस्ता सर्परूपी सामाजिक अपराधीहरूलाई कडा कारबाही हुनुपर्छ, सामाजिक बहिष्कार गर्ने अभियान चलाइनुपर्छ ।
– वसन्तलक्ष्मी परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *