भर्खरै :

पार्टी भीड होइन

– गौरव प्रधान
कुनै नेता, मन्त्री, सांसद र कार्यकर्ताले राम्रो या प्रभावकारी भाषण गर्नु अन्यथा होइन । तर, प्रभावकारी भाषण गर्दैमा आफ्नो दलको सिद्धान्त र विचार व्यवहारमा लागू हुन्छ भन्ने होइन । देशमा कम्युनिष्टको सिद्धान्त र विचारप्रति जनताको विश्वास बढेको हो । कम्युनिष्ट पार्टीले मात्र बहुमत जनता या श्रमजीवी वर्गको हित हेर्छ भन्ने जनतामा छाप परेकै हो । सरकार कम्युनिष्ट पार्टीको नेतृत्वमा छ । बहुमत प्राप्त सरकार छ भनेर गर्व गर्नुभन्दा कम्युनिष्ट पार्टीको सरकारले एक वर्षको कार्यकालमा कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम भइरहेको छ कि छैन भन्नेबारे नेता, मन्त्री, सांसद र कार्यकर्ताबीच आत्मसमीक्षा हुनुपर्ने हो तर त्यो भइरहेको छैन । सरकारले गरेका दुई चारवटा विकासको बखान गरेर, बखान गर्न दबाब दिएर कम्युनिष्टको सिद्धान्त व्यवहारमा लागू हुने होइन । प्रधानमन्त्री केपी ओलीले सरकारले गरेका विकासका कुरा जनतासमक्ष पु¥याउन अनुनय विनय गर्नुभन्दा कम्युनिष्टको सिद्धान्त विचार गाउँ–गाउँ र बस्तीमा पु¥याउन र नेता तथा कार्यकर्ता त्यस काममा खटाउन जोड दिनुपर्ने हो । कम्युनिष्ट पार्टीको सिद्धान्त र विचारलाई श्रमजीवी जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्छ । शोषित पीडित जनताको जीवनमा खुसी नछाएसम्म कसरी मुलुक समृद्ध बन्छ ? बहुमत प्राप्त सरकारको नाउँमा अल्पमत वर्गको सेवा गर्नु कम्युनिष्टको धर्म होइन ।
एमाले र माओवादी मिलेर बनेको नेकपाको सरकारले जस्तोसुकै राम्रो काम गरेको गुणगान गरे पनि सर्वसाधारण जनता त के नेकपाकै नेताहरू असन्तुष्ट छन् । पार्टीको गतिविधि या कार्यशैलीप्रति असन्तुष्ट अन्य नेताहरूबाहेक युवराज ज्ञवाली पनि एक हुन् । उनले केपी ओलीको नेतृत्वमा रहेको सरकारप्रति लक्षित गर्दै कुरा होइन काम गर्नुपर्छ भन्नेमा जोड दिँदै भने, “लोकप्रिय नारा लगाउनु, घोषणा गर्नु र लामा लामा भाषण गर्नु ठूलो कुरो होइन, त्यसलाई व्यवहारमा रुपान्तरण गर्नु महत्वपूर्ण काम हो ।” “पार्टी कुनै जुलुस, आमसभा, मेला या भीड होइन, यो त समाजका सबभन्दा अगुवा, अनुशासित, इमानदार, क्रियाशील र सङ्गठित मानिसको सामूहिक संस्था हो” उनको बुझाइ हो । पार्टी त्यस कार्यमा अघि नबढेको उनको गुनासो हो । पार्टीभित्र देखापर्ने भ्रष्ट आचरण, अनैतिकता, अराजकता र पछौटेपनलाई बदलेर स्वच्छ, चरित्रवान, इमानदार र अनुशासित मानिस तयार पार्नु पार्टीको प्रमुख र अनिवार्य काम भए पनि तद्नुरुप अघि नबढेको उनको टिप्पणीले नेकपा कुन दिशा या मोडमा लागिरहेको छ भन्ने अड्कल गर्न सकिन्छ । यस्तै कार्यशैलीलाई नेकपा र नेकपाको सरकारले निरन्तरता दिए अर्को निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपर्ने उनको चिन्ता नेकपाको लागि विचारणीय छ । अयोग्य नेताको चाकरी र प्रशंसामा भुलेर सरकार र पार्टीले दिशा निर्देश गर्न नसक्ने उनको बुझाइमा सत्यता छैन कसरी भन्ने !

Leave a Reply

Your email address will not be published. Required fields are marked *