भर्खरै :

लगानी सम्मेलनमा उद्योगमन्त्रीको अङ्ग्रेजी भाषण

दोस्रो लगानी सम्मेलनमा उद्योगमन्त्री मातृका यादवले अङ्ग्रेजी भाषामा दिएको मन्तव्य विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सुनेका नेपाली जनताले लज्जाबोध गरे । विभिन्न देशका विशिष्ट पाहुना सहभागी रहेको सम्मेलनमा यादवको अर्थ न बर्थको अङ्ग्रेजी भाषाको मन्तव्यले देशको बेइज्जत भयो । लगानी भित्याउने लक्ष्यले गरिएको सम्मेलनमा उद्योगमन्त्रीको भाषण सुन्दा लगानीकर्तासमेतले लज्जा महसुस गरे ।
अङ्ग्रेजी नेपाली जनताको मातृभाषा वा सरकारी भाषा होइन । औसत नेपालीको अङ्ग्रेजी भाषा स्तरीय छैन । संवादको निम्ति आवश्यक भाषिक शिल्प सामान्यतः नेपालीसँग कम नै छ । मातृका यादव वा नेपालका अरु मन्त्रीको अङ्ग्रेजी भाषा स्तरीय नहुनु अस्वाभाविक होइन । अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दखल नभएको भाषामा नै संवाद गर्नुपर्छ भन्ने कुनै बाध्यता थिएन । मन्त्रीले नेपाली भाषामा बोलेर अङ्ग्रेजी भाषाका दक्ष अनुवादकलाई अनुवाद गराउँदा उनले भन्न खोजेका कुरा अझै पाहुनाले बुझ्ने थिए । त्यसो गर्दा उनको कद कहीं पनि होचो देखिने थिएन । बरु त्यसलाई आफ्नो भाषाप्रतिको प्रेमकै रुपमा बुझिन्थ्यो ।
मातृका यादवले एक त आफ्नो लिखित भाषण नै व्यवस्थित रुपमा वाचन गर्न सकेनन् । त्यसमाथि उनले बीचबीचमा थपेका प्रसङ्गले भाषणलाई अझ भद्रगोल बनाएको थियो । विदेशी भेटेपछि अङ्ग्रेजी भाषामै संवाद गर्नुपर्छ भन्ने चिन्तन लघुताभाषी चिन्तनको अभिव्यक्ति हो । अङ्ग्रेजी भाषा बोल्दामात्र जान्ने र बुझ्ने भइन्छ भन्ने सोचाइ बेलायती उपनिवेशकालमा भारतीय उपमहाद्वीपमा फैलिएको शासित चिन्तनकै अवशेष हो ।
भाषामा दख्खल हुनुले व्यक्तिको व्यक्तित्वमा थप आयाम थप्ने गर्दछ । नेतृत्वमा बसेका मानिसले बढीभन्दा बढी भाषामा दख्खल हासिल गर्नसके बढीभन्दा बढी मानिसको मन जित्न सक्छ । तर, आफूलाई आत्मविश्वास नभएको वा दक्षता नभएको भाषामा बोल्नुले कसैलाई पनि खोक्रो व्यक्तित्व उजागर हुन पुग्छ । लगानी सम्मेलनमा मातृका यादवका भाषणले उनको इज्जतमात्र रसातलमा मिल्काएन, बरु देशकै इज्जत धुलोमा मिसाएको छ ।
संसारका महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनहरूमा अङ्ग्रेजी वा अन्य कुनै अन्तर्राष्ट्रिय भाषामा दख्खल भएका नेताहरूसमेत आफ्नो मातृभाषा वा राष्ट्रिय भाषामा भाषण गर्ने गर्छन् । दक्ष अनुवादकको सहयोग लिने गर्छन् । मातृका यादवले पनि त्यसै गरेका भए देशको इज्जत जोगिने थियो । मन्त्रीहरूको चाला देखेर राजनीतिप्रति नकारात्मक सोचाइ राख्ने नयाँ पुस्ता राजनीतिप्रति अझ टाढा जानेछन् । राजनीतिमा लाग्ने मानिस पढ्दैनन् अथवा कमजोर पढाइ भएका विद्यार्थी राजनीतिमा लाग्ने भन्ने सोचाइले यसले मलजल गर्नेछ ।
मन्त्रीको कमजोर अङ्ग्रेजीका कारण देशको बेइज्जत भएको यो पहिलो पटक होइन । यसअघि पनि श्रम मन्त्री गोकर्ण विष्टले अन्तर्राष्टिय श्रम सङ्गठनको सम्मेलनमा दिएको भाषणका अङ्ग्रेजीको हविगतले देशको बेइज्जत भएको थियो । यस्ता घटना आगामी दिनमा पनि हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न । अङ्ग्रेजी भाषामा दक्षता नभएका मन्त्रीले यसप्रकारका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सहभागी बन्दा नेपाली भाषामै बोल्ने आचारसंहिता पारित गर्नुपर्छ । यसले देशको इज्जत जोगिनेछ भने अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सन्देश अझ प्रभावकारी तरिकाले सम्प्रेषण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *