भर्खरै :

सिन्च्याङदेखि सिस्वानबानासम्म–६

नीरज लवजू
संसारलाई चीनले दिएका अनेकन आविष्कारमध्ये चिया पनि एक मानिन्छ । कागज, कम्पास, भूकम्पमापक यन्त्रदेखि अन्य धेरै विज्ञान–प्रविधि चीनले संसारलाई दिएका अनुपम उपहार हुन् । सिङ्गापुरका प्राध्यापक किशोर महाबुबानीले आफ्नो पुस्तक ‘ह्याज द वेस्ट लस्ट इट ?’ पुस्तकमा संसारको आजसम्मको इतिहासलाई दुई चरणमा विभाजन गरी दुई सय वर्षअघि पश्चिमा जगत संसारकै केन्द्रको रूपमा उदाउनअघि चीन र भारत नै सभ्यताको केन्द्र भएको कुरा लेखेका छन् । झण्डै सन् १ देखि १८२० सम्मको अवधिमा संसारको सभ्यताको केन्द्र बनेको चीनले संसारलाई दिएका अनेकन अनुपम आविस्कारमध्ये चिया पनि एउटा उपहार हो । सिस्वानबानाको एउटा निकै पुरानो चिया उत्पादन कारखानाको भ्रमणबाट चिनियाँ समाजमा चियाको महत्व र आविस्कारको इतिहासबारे बुझ्न मद्दत मिल्यो । चिया भन्नासाथ हामी सामान्यतः दूध, चिनी र चियापति मिसिएको दूध चिया अथवा दूध नभएको कालो चिया सम्झन्छौँ । हदै भए हामी ग्रिन टी सम्झन्छौँ । नेपालमा चियाको अर्थ सामान्यतः यही परिधिमै सीमित छ । तर, हामी पुगेको चिया उत्पादन केन्द्रले चियासम्बन्धी यी सबै मान्यतालाई नराम्ररी भत्काइदियो । हामीले बुझ्ने चिया र यहाँको चियाको परिभाषाबीच धेरै अन्तर थियो ।
चिया उत्पादनमा निकै लामो इतिहास बोकेको यो कारखानामा हामीलाई स्वागत गर्दैै कर्मचारीहरूले प्राङ्गणमा आफूले उत्पादन गर्ने चिया बनाउने तरिका देखाए । त्यहींबाट हाम्रो मानसपटलमा रहेको चियासम्बन्धी परिभाषाले धक्का खाइसकेको थियो । चिया उत्पादन केन्द्रमा दुई सय वर्ष पुरानो चिया पनि सङ्ग्रहित थियो । चियाको पात सुकाएर तातो पानीले वफाई कपडाभित्र गुइँठा आकारमा पोको पारिएको चियापतिलाई ‘टी–केक’ भनियो । तातोपानीले वफाएको चियापतिलाई सकेसम्म थिचेर पोको पारिने रहेछ । त्यसरी सङ्ग्रह गरिएको चियापति जति पुरानो भयो, त्यसको स्वाद त्यति नै खुल्ने रहेछ । चिया बनाउने पनि आफ्नै विधि थियो । यसरी गुइँठा पारिएको चियाको केकबाट थोरै थोरै खोस्रेर तातो पानीमा हालेर पहिलो खेपको तातो पानी फालियो । लामो समयदेखि थिचिएर बसेको चियापतिलाई ‘नुहाइदिएर’ त्यसभित्रको स्वादलाई उकास्न यस्तो गरिएको भनियो । अनि बल्ल तातो पानीमा थोरै चियापति राख्दै चिया तयार गरियो । ठूला आकारका गिलासमा चिया पिउने गरेका हामीले त्यहाँ चिया पिउन प्रयोग गरिएको स–साना चिया पिउने प्याला निकै सुन्दर लाग्यो ।
केहीबेर हामी चिया उत्पादन केन्द्रका कर्मचारीले थरीथरीका तरिका अपनाएर बनाएको चियाका स्वाद लिंदै गफिन थाल्यौं । चिनियाँ कम्युनिष्ट पार्टीका मेई चिङसँग केहीबेर कुराकानी भयो । उनको पाकिस्तान बसाई र हालको जिम्मेवारीबारे छोटो कुराकानी भयो । आज साँझको खाना मेकोङ नदीको किनारामा रहेको आदिवासी जनजातिका विभिन्न मौलिक परिकार खुवाइने रेस्टुराँमा खाने प्रबन्ध मिलाइएको थियो । तर, अलि समय बचेकोले चियासँगको रमाइलो कुराकानी लम्बिएको थियो । चिया थपी थपी खायौं । फरक–फरक स्वादका विभिन्न थरी चियाको अनुभव लियौं । केही साथीहरूले टी–केक किने । हामी भने हामी बसेको होटलमा उपहारस्वरुप राखिएको टी–केक यही उत्पादन केन्द्रको चियापति भएको खबरले दङ्ग थियौं ।
मेकोङ नदीको आडैमा रहेको रेस्टुराँमा स्थानीय आदिवासी जनजातिका सांस्कृतिक परिकारको स्वाद चाख्यौं । लगभग सूर्यास्तको समयमा मेकोङ नदीको किनारामा बस्दा कर्णाली नदीको सम्झना भयो । भियतनाममा संरा अमेरिकाले हमला गर्दाको इतिहास पढ्दा आइरहने मेकोङ नदीको नाम चीनबाट त्यत्ता झरेको कुरा मलाई थाहा थिएन । चिनियाँहरू यो नदीलाई लानचाङ नदी भन्दा रहेछन् । उत्तरी चीनमा मूलस्रोत रहेको लानचाङ सिस्वानबाना हुँदै म्यानमार पस्छ । म्यानमारबाट यो नदी थाइल्याण्ड, लाओस, कम्बोडियाबाट भियतनाम हुँदै दक्षिण चिनियाँ सागरमा मिसिने गर्छ । पूर्वी एसियाका धेरै देशको जीवन र इतिहासको साक्षी बनेर मेकोङ नदी लगातार बगिरहेको छ । पूर्वी एसियाली देशको एकताको प्रतीक बनेको छ –मेकोङ नदी ।
मेकोङ नदीकै किनारामा रहेको काओचुआङसिस्वानचिन बजारमा सन्ध्याकाल बितायौं । प्रकाशको अद्भूत प्रयोग गरी बनाइएको यो बजारमा सिस्वानबानासँग जोडिएका पूर्वी एसियाली देशका विभिन्न उत्पादन बिक्रीका लागि राखिएका थिए । विशेषतः भियतनाम, म्यानमार र कम्बोडियाका संस्कृति झल्कने उपहार साम्रगी र खानाका परिकारका कारण यतातिर घुमफिरमा आउने मानिस धेरै थिए । मेकोङ नदीबाट बहने शितल हावासँगै अन्तरदेशीय वास्तुकलामा आधारित बजारलाई प्रकाशको अद्भूत संयोजनले चित्तार्षक बनाएको थियो । जति जति आकाश अँध्यारो बन्दै जान्छ, यो बजार अझ चहकिलो बन्दै गएको देखियो । जताबाट तस्वीर खिचे पनि उत्तिकै चहकिलो देखिने यो बजारमा तस्वीर खिच्न चिनियाँ मित्र थान वेइले समेत मन थाम्न सकेनन् । त्यहाँको प्रकाश संयोजनजस्तै भक्तपुरका मन्दिर र प्रमुख सांस्कृतिक केन्द्रलाई राति पनि चहकिलो र उज्यालो बनाउन सके भक्तपुरको परिचय र सांस्कृतिक उचाइ अझ उँचो हुने कुरा मनमा खेल्यो ।
सिस्वानबानामा आज अन्तिम रात । भोलि खाना खाएर हामी कुनमिङ उड्नेछौं । सिस्वानबानाबाट नेपालले सिक्न सक्ने धेरै कुरा छन् । जङ्गली जनावर र वनस्पतिको अधिराज्यको रूपमा परिचय बनाएको यो ठाउँ संसारकै लागि आणुवंशिक बैड्ढ मानिएको छ । यसलाई चीनको राष्ट्रिय स्तरको पर्या–पर्यावरणीय प्रदर्शन केन्द्र घोषणा गरिएको छ । यो ठाउँ संसारकै सबभन्दा गर्मी हुने १२ पर्यटकीय केन्द्रमध्ये एउटा मानिन्छ । नेपालको चितवन र बर्दियासँग धेरै कोणबाट मिल्ने यो क्षेत्र चितवन र बर्दियाजस्तै आदिवासी जनजातिको क्षेत्र पनि हो । चितवन र बर्दियाका थारु जातिजस्तै यताका विभिन्न जाति पनि प्रकृतिपुजक जाति हुन् । सिस्वानबानामा ताई, हान, हानी, यी, लाहु, बुलाङ, चिनो, याओ, मिआओ, हुई, वा, चुनाग र चिङ्पो आदिवासी जनजातिको बसोबास छन् । त्यसकारण यो ठाउँलाई आदिवासी जनजातिको केन्द्र पनि भन्ने गरिन्छ ।
सहरभरि बनाइएका हात्तीका प्रतिमाले सिस्वानबानाको जैविक विशेषता झल्काएको छ । साथै कतिपय प्रतिमामा गणेशका आकृति देख्दा नेपाली प्रतिनिधिमण्डलका हामी चकित प¥यौं ।
२ मार्च २०१९ (१८ फागुन २०७५)
युनान प्रान्तको प्रमुख सहर कुन्मिङ फर्कियौं । सिस्वानबानाबाट कुनमिङ अवतरण हुन ५५ मिनेट लाग्यो । त्यो दिन चीन भ्रमणको अन्तिम दिन थियो । अर्को दिन बिहान घाम झुल्कनुअघि नै पाकिस्तानी मित्रहरू आफ्नो देश फर्कनेछन् । इस्लामाबाद जान कुनमिङबाट सिधा उडान सेवा नभएको कारण उनीहरू चीनको राजधानी पेइचिङ हुँदै आफ्नो देश फर्कनेछन् । रातिको खाना खाइसकेर उनीहरूलाई बिदाई अभिवादन गरियो । हामीले साथै ल्याएको अङ्गे्रजी पत्रिका ‘सोलिडारिटी’ले उनीहरूसमक्ष हामीलाई अझै परिचित बनायो । नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको अङ्ग्रेजी अनुवाद ‘भक्तपुर आफ्टर अ सेन्चुरी’ केही पाकिस्तानी प्रतिनिधिमण्डल सदस्यलाई दियौं । केही मित्रहरूले पढेर प्रतिक्रिया पठाउने वाचा गरे ।
उनीहरूले बोलेको उर्दु भाषा मिठो सुनिन्थ्यो । उनीहरूबीचको संवाद लयात्मक थियो ।
प्रतिनिधिमण्डल सदस्यमध्ये कोही पनि वामपन्थी पार्टीका थिएनन् । पाकिस्तानमा काम गरिसकेका चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका मेइ चिङ हिजो भन्दै थिए,“पाकिस्तानमा त कम्युनिष्ट पार्टी हामीले भेटाएनौं ।”
सोभियत सङ्घको विघटनपछि पाकिस्तानको कम्युनिष्ट पार्टीले अब संसारमा कम्युनिष्ट पार्टी हुनुको कुनै अर्थ छैन भन्ने गलत निष्कर्षसहित पार्टी विघटन गरेका थिए । तर, समयक्रमले पाकिस्तानी कम्युनिष्ट पार्टीको सो निष्कर्ष गलत प्रमाणित भयो । सोभियत संशोधनवादले छिमेकी अफगानिस्तानमाथि गरेको हमलाको नकारात्मक प्रभाव पाकिस्तानी कम्युनिष्ट पार्टीमा परेको थियो ।
आफ्नै बलबुत्तामा कम्युनिष्ट पार्टीलाई अघि बढाउनुभन्दा पनि सोभियत सङ्घकै भरमा कम्युनिष्ट पार्टीलाई सञ्चालनमा लान खोज्नु वा सोभियत सङ्घबाट फाइदा उठाउनमात्र कम्युनिष्ट आवरण लगाएका विश्वासघातीका कारण त्यहाँ त्यो अवस्था बनेको थियो ।
अलग–अलग देशको प्रतिनिधिमण्डललाई अलग–अलग गाडीको बन्दोबस्त र आपसमा अन्तरक्रिया हुने कार्यक्रम कम हुनुले पाकिस्तानी मित्रहरूसँग त्यत्ति धेरै विषयमा कुराकानी हुन पाएन ।
बङ्गलादेशी प्रतिनिधिमण्डलको बिहान १०ः३० ढाकातर्फ उडान थियो । नेपाली प्रतिनिधिमण्डलको काठमाडौँतिरको उडान समय २ः५० बजे थियो । खाना खाएर नेपाल फर्किने कार्यतालिका थियो ।
सिस्वानबानाबाट फर्किने दिन बिहान खास केही विशेष कार्यक्रम भएन । बिहान सिस्वानबानाको एउटा जैविक बगैंचाको अवलोकन भ्रमण भयो । चीनले संसारभरिकै विभिन्न वनस्पति आफ्नो देशमा जम्मा गरी संसारकै सभ्यताबाट लाभान्वित हुने दौडमा लागेको छ । नेपालमा ‘सजीवन’ वा ‘सोहिजन’ भनिने एक प्रकारको औषधिजन्य बिरुवाको अनुसन्धान केन्द्रमा हामीलाई लगियो । अङ्ग्रेजी भाषामा यसलाई अरिन्गा भनिन्छ । यो विरुवाको पात निकै पोषणयुक्त हुने भएकाले मानिसहरू तरकारी बनाएर पनि खान्छन् । यसलाई सलादको रुपमा पनि खाइन्छ । यो विरुवा चीन र क्युवाबीच मित्रताको चिन्ह पनि भएको जानकारी दिइयो । चीनका राष्ट्रपति सी चिनफिङ क्युवा भ्रमण जाँदा क्युवाली क्रान्ति नेता फिडेल क्यास्ट्रोसँग भेटको क्रममा चीनमा सजीवनको अनुसन्धान केन्द्र बनाउने सहमति भएको थियो । अनुसन्धान केन्द्रको द्वारमै क्यास्ट्रो र सीसँगै बसेको तस्वीर देख्दै सजीवनको क्युवा र चीनको मित्रतामा विशेष महत्व रहेको हामीले महसुस ग¥यौँ ।
काठमाडौँ उपत्यकामा त्यस्तो बिरुवा हामीले देखेजस्तो लागेन । तर, नेपाली प्रतिनिधिमण्डलका अन्य साथीहरू विशेषतः तराईमा सजीवनका विरुवा पाइने भन्दै थिए । यसको तरकारी वा सलाद नेपालमा नखाइने बरु गाईवस्तुलाई घासको रुपमा खुवाइने एक जना तराईको साथी भन्दै थिए । आफ्नै आँगन र खेतबारीतिर पाइने यो विरुवाको महिमा यति बृहत् होला भन्ने कुरा सायद उनलाई पनि थाहा थिएन । यस्ता धेरै बोटविरुवा होलान् हाम्रै वरपर जसको हामीले महत्व नबुझेर त्यत्तिकै बेवास्ता गरिरहेका छौं । बाटो छेउछाउ उमे्रका हामीले घाँस भन्ने गरेका कति विरुवाको जडीबुटीजन्य महत्व भएको कुरा हामीलाई पत्तो पनि छैन । वैज्ञानिक अनुसन्धान र प्रयोगको अभावकै कारण हामीसँग भएका सम्पत्ति पनि हामीले बेवास्ता गरिरहेका छौं । झार बनेको विरुवाको चीनमा यति महत्वका साथ अनुसन्धान गरिएको देख्दा हामीसँग छक्क पर्नुको अर्को के नै पो विकल्प थियो र !
समय अभावका कारण हामीलाई विद्युत्तीय रिक्साबाटै जैविक बगैंचा घुमाइयो । गोदावरीको जैविक बगैंचाको सम्झना दिलाउने बगैंचा भए पनि सिस्वानबानाको त्यो बगैंचा निकै ठूलो र व्यवस्थित थियो । मानिसहरू बगैंचाभित्रका विभिन्न सुन्दर स्थानमा तस्वीर खिचिरहेका थिए । हरेक प्रकारका फलफूलका व्यवस्थित खेती गरिएको थियो । हामीलाई पथप्रदर्शन गरिरहेकी बहिनी अङ्ग्रेजी जान्दिनन् । औंलाले देखाउँदै चिनियाँ भाषामा धेरै कुराको उनले व्याख्या गरिन् । तर, उनले भनेका कुरा हामीले उनको सड्ढेतअनुसार अनुमानमात्र गर्न सक्यौं ।
कुनमिङ फर्किनुपर्ने भएकाले हामीलाई हतार थियो । व्यवस्थापक साथीहरूलाई समय भ्याउन हम्मे हम्मे भइरहेको थियो ।
….
कुनमिङमा हाम्रो बसाइ अस्ति बसेकै होटलमा भयो । बेलुकाको समय किनमेलको लागि छुट्याइएको थियो । हामी बसेको होटलनजिकै एउटा सपिङ मलमा लगियौं । खास केही किन्ने योजना थिएन । पसले चिनियाँ भाषाबाहेक केही नबुझ्ने, हामी चिनियाँ भाषा नबुझ्ने । मोलमोलाई पनि चर्कै । निकै चर्को मूल्य भन्ने, तर दिन भने भनेको भन्दा निकै कम मूल्यमा दिने अवस्थाले सामान किनिहाल्दा पनि सस्तैमा पाए पनि महँगोमा पो किनिएछ कि भन्ने मनमा लागिरहने । क्यालकुलेटर थिच्दै मोलमोलाई गर्नुपर्ने । ठूलो विशाल बजारमा घुम्दै समय धेरै लाग्यो । एकाध सामान किनेपछि चकलेट किन्ने पसलको खोजी ग¥यौं । लुगाफाटो र जुत्ताको विशालबजारमा कहाँबाट हुनु चकलेट ! विशालबजारबाट बाहिर निस्केर केही बेर घुम्दा भेटिएको चकलेट पसलमा केही चकलेट किन्यौं । भेटिन पनि गज्जबको पसल भेटियो । चकलेट किलोमा बेच्ने–‘के खोज्छस् कानो ? आँखो’ भने जस्तै भयो ।
कुनमिङ चीनका सुन्दरमध्ये गनिने सहर हो । नेपालबाट नजिकको सहर भएकोले कुनमिङमा नेपालीहरूको आवतजावत भइरहने गर्छ । विशेषतः ‘चिनियाँ व्यापार’ गर्ने नेपालीहरूको मुख्य नाकामध्ये कुनमिङ पनि पर्दछ । धेरै नेपाली विद्यार्थीहरू कुनमिङमा अध्ययनरत छन् ।
जापानविरोधी युद्धको क्रममा चीनका प्रमुख विश्वविद्यालयहरू पेकिङ विश्वविद्यालय र सिन्ह्वा विश्वविद्यालय सुरक्षाको लागि यही सहरमा स्थानान्तर गरेर चलाइएका थिए । भीषण युद्धको समयमा समेत विश्वविद्यालय भने सुचारु चलेका थिए र कुनमिङ त्यत्तिबेलाको सुरक्षित आश्रयस्थल थियो । नेपालमा कुनै पनि राजनीतिक सङ्घर्ष हुँदा सबभन्दा पहिले विश्वविद्यालय र विद्यालयलाई निशाना बनाउने राजनीतिक दलले यसबाट केही पाठ सिके राम्रो हुनेथियो ।
युनान प्रान्तलाई चीनको आदिवासी जनजातिको केन्द्र वा भण्डार मानिन्छ । चीनका अरु कुनै पनि प्रान्तको तुलनामा युनानमा धेरै सङ्ख्यामा आदिवासी जनजाति समुदायको बसोबास छ ।
हामी बसेको कोठाबाट कुनमिङ सहरको भव्यता र समृद्धि अझ प्रष्ट देखिन्थ्यो । जति जति आकाश अँध्यारो हुँदै गयो, कुनमिङ झन्–झन् चहकिलो देखिएको थियो । झण्डै मध्यरातमा कोठामा राखिएको चिनियाँ कफीको स्वाद लिंदै कुनमिङको चहकिलो रुप नियालेर पूरै भ्रमणमा सिकेका देखेका दृश्यको स्मरण गर्दैथिएँ । ३४ औँ तल्लाको कोठाबाट हेर्दा तल सडकमा गुडिरहेका कार केटाकेटीका खेलौनाजस्ता देखिएका थिए ।
३ मार्च २०१९ (१९ फागुन २०७५)
कुनमिङ र काठमाडाँैको दूरी झण्डै तीन घण्टाको उडान समयमात्र हो । कुनमिङलाई आकाशबाट नियाल्दा दुई ठूलठूला ताल देखिएका थिए ।
काठमाडाँै फर्किने दिनको बिहान कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । सिन्च्याङदेखि सँगै आएका चिनियाँकम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका साथीहरू पनि पेइचिङ फर्किसकेका थिए । हामीलाई कुनमिङकै अन्तर्राष्ट्रिय विभागका साथीहरूको जिम्मा लगाएर उनीहरू आफ्नो कार्यस्थलमा फर्किसकेका थिए । पाकिस्तानको प्रतिनिधिमण्डल त बिहान सूर्य उडाउनुअघि नै विमानस्थल जाने कार्यक्रम थियो । बङ्गलादेशको प्रतिनिधिमण्डलका केही सदस्यसँग बे्रकफास्टमा भेट भयो । बिदाई ग¥यौं ।
ब्रेकफास्टपछि हामीसँग अझै केही घण्टा खाली समय बच्यो । होटेलकै वरपर केही बेर घुमफिर गर्ने निधो गरी निस्क्यौं । एउटा पसलमा केही सानातिना उपहार किन्यौं । चीनका पसलेहरू प्रविधिमैत्री छन् । अङ्ग्रेजी उनीहरू नबुझ्ने र चिनियाँ भाषा हामी नबुझ्ने समस्याको प्राविधिक समाधान आइसकेको थियो । उपहार पसलकी बहिनी निकै टाठी थिइन् । मोबाइलमा उनी चिनियाँ भाषामा बोल्थिन् अनि मोबाइलले अङ्ग्रेजी अनुवाद गरी मलाई सामानको मोल र अर्थ बुझाइरहेकी थिइन् ।
“तपार्इँ नै आजको मेरो पहिलो ग्राहक हो । तपाईले केही किन्नैपर्छ ।”, मलाई फकाउँदै थिइन् ।
“मलाई पनि उपहार मन परेको छ । सस्तोमा दिए किन्छु ।”, मैले अङ्ग्र्रेजीमा बोल्दा मोबाइलले चिनियाँ भाषामा अनुवाद गथ्र्यो ।
“यो पसलका सबै सामानको मूल्य फिक्स (निर्धारित) हो । तलमाथि हँुदैन । यहाँका सामान अन्यत्रको भन्दा त सस्तै हो ।”, मोबाइल अनुवादमार्फत कुराकानी चालू रह्यो ।
“भन्नेमात्र हो । तिमीले मिलाए त मिलिहाल्छ नि ।”, मेरो जवाफ ।
“यस्तो कुरा चल्दैन । मूल्य त उही हो । कुनै सामान किनिदिनु भए आभारी हुनेछु ।”
“हुन्छ । पहिले सामान हेर्छु ।”
“तपाईँको विवाह भयो ?”, उनले सोधिन् ।
“अँ । किन र ?”
“यो काइँयो लानुस्, आफ्नी श्रीमतीलाई ।”, उनले एउटा काठको बुट्टे काइयो हातमा थमाउँदै भनिन् ।
म अक्कनबक्क भएँ ।
….
होटेल फर्किंदा नेपाली प्रतिनिधिमण्डलका साथीहरू खाना खाँदै थिए । हामी केहीबेर ढिला भयौं । बिहान ब्रेकफास्ट गरेको रेस्टुराँभन्दा माथिल्लो तल्लामा खानाको बन्दोबस्त गरिएको थियो । हामीलाई खाना खाने ठाउँ भेटाउन नै समय लाग्यो ।
विमानस्थलमा कुनमिङ विदेश विभागका साथीहरूसँग केहीबेर कुराकानी र फोटो खिचेपछि बिदा मागेर काठमाडाँै जाने विमानमा उक्लियौं । विमानमा नेपालीहरूको सङ्ख्या पनि कम थिएन । नेपाली युवाहरूको सङ्ख्याले कुनमिङ र काठमाडाँैको निकटता स्मरण भयो ।
त्रिभुवन विमानस्थलको आगमन कक्ष र झोला लिने ठाउँको व्यथा उस्तै थियो । बुटिक एयरपोर्टको कथा कथै रह्यो ।
विमानस्थलबाट भक्तपुर फर्किंदै गर्दा वसन्तको उन्मादपूर्ण चिसो हावा चल्न थालिसकेको थियो । तर, त्यो चिसो हावा सिन्च्याङको जस्तो मुटु ठिहि¥याउने हावा थिएन ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *