नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
अल्जियर्स, २० चैत (रासस-एएफपी) – बुढ्यौलीका कारण अशक्त अवस्थामा पुग्नुभएका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिनुभएको सरकारी सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । राष्ट्रपतिको घोषणालगत्तै सडकमा मानिसहरु भेला भएर खुशीयाली मनाएका थिए । अल्जेरियाको राजधानी अल्जियर्सका मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएका थिए । टेलिभिजन फुटेजमा राष्ट्रपति बौतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका प्रमुख तायिब बेलाइजलाई बुझाउनुभएको देखाइएको थियो । अशक्तताका कारण सार्वजनिक समारोहमा समेत उपस्थित हुन छाड्नु भएका ८२ वर्षीय राष्ट्रपति अब्देलाजीजले राजीनामा गर्नुपर्ने माग गर्दै केही समयदेखि देशव्यापी विरोध प्रदर्शन समेत भएका छन् । देशव्यापी प्रदर्शन बढ्दै गएपछि राष्ट्रपतिका विश्वासपात्र उच्च पदस्थ व्यक्तिहरुले समेत राजीनामा दिएका थिए । विगत २० वर्षदेखि अल्जेरियाको राष्ट्रपति रहनुभएका अब्देलाजीजलाई सन् २०१३ मा हृदयाघात समेत भएको थियो । “केही महत्वपूर्ण निर्णयहरु” गरेपछि राजीनामा गर्ने यसअघि बताए पनि देशव्यापी विरोध बढ्दै गएपछि बाध्य भएर उहाँले राजीनामा गर्नुभएको हो । राष्ट्रपति अब्देलाजीजले गत फेब्रुअरीमा आफू पुनः राष्ट्रपतिमा उठ्न सक्ने बताएपछि राष्ट्रव्यापी प्रदर्शन तीव्र बनेका थिए । उहाँ अहिले चौथो कार्यकालमा हुनुहुन्छ । तर राष्ट्रपतिले गत महिना राष्ट्रपतिमा उम्मेदवार नहुने घोषणा गर्नुभएको थियो तर अप्रिलका लागि तयारी गरिएको राष्ट्रपतिको चुनाव एकाएक स्थगित गरेपछि जनतामा अझ आक्रोश बढेको थियो । गत मङ्गलबार अल्जेरियाका सेनाप्रमुख जनरल अहमद सलाहले राष्ट्रपति स्वयंले राजीनामा गर्नुपर्ने अथवा संसदले राष्ट्रपतिलाई संविधान बमोजिम विस्थापित गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । सेनाप्रमुख सलाहलाई सन् २००४ मा राष्ट्रपति अब्देलाजीजले नै नियुक्त गर्नुभएको थियो । गत बुधबार हालै मात्र हटाइएका प्रधानमन्त्री अहमद औहाइयाले पनि राष्ट्रपतिको राजीनामा माग गर्नुभएको थियो । अल्जेरियाको संविधान अनुसार राष्ट्रपतिले राजीनामा बुझाएको अवस्थामा राष्ट्रियसभाका सभामुखले अन्तरिम राष्ट्रपतिका रुपमा कार्य गर्न सक्नुहुनेछ । अन्तरिम राष्ट्रपतिले ९० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्नेछ ।
Leave a Reply