अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाण्डौ, २१ चैत । रुसी साहित्यकार निकोलाई गोगोलको २१० औं जन्म दिवसको अवसरमा बिहीबार रुसी साँस्कृतिक केन्द्रमा साहित्यिक साँझ भयो । कार्यक्रम नेपाल–रुस साहित्य समाज र रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रको आयोजना भएको थियो ।
कार्यक्रममा वक्ताहरूले ‘निरीक्षक’, ‘ओभरकोट’ र ‘मृतआत्माहरू’ जस्ता उत्कृष्ट साहित्यका स्रष्टा गोगोलको साहित्यिक व्यक्तित्वको चर्चा गर्नुभयो ।
सन् १८०९ अप्रिल १ मा युक्रेनमा जन्मेका गोगोल रुसी साहित्यमा समाजको विषादपूर्ण परिस्थितिलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्नसक्ने सफल साहित्यका रुपमा परिचित हुनुहुन्छ । रुसी कवि पुश्किनका नजिकका मित्र गोगोलले युरोपका विभिन्न देशको भ्रमण गरी लेखकीय वृत्तलाई बिराट बनाउनुभएको थियो । लेखक बाबुका छोरा गोगोलले जीवनको अन्तिम समयसम्म लगातार लेखन कार्यमा लाग्नुभयो । समाजको तल्लो वर्गका कुरालाई साहित्यमा ल्याउने रुसी प्रकृतिवादी साहित्यिक सिद्धान्तका पक्षधर गोगोलको ४२ वर्षको कम उमेरमा देहान्त भएको थियो ।
कार्यक्रममा नेपाल–रुस साहित्य समाजका पूर्व अध्यक्ष तेजेश्वरबाबु ग्वङ्गले विश्वका साहित्यकारहरूबारे गोष्ठीको आयोजनाले विश्व साहित्यबारे सिक्ने अवसर प्राप्त हुने बताउनुभयो ।
नेपाल–रुस साहित्य समाजका अध्यक्ष डा. जङ्गब चौहानले गोगोलको दुःखदायी जीवनको चर्चा गर्दै रुसी साहित्यकारहरूमध्ये उनी सबभन्दा रहस्यमयी साहित्यकार भएको बताउनुभयो ।
प्रा.डा. बलराम अर्यालले गोगोल आँसु झार्दै हास्यव्यङ्ग्य गर्न सक्ने साहित्यकार भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा रुसी सांस्कृतिक तथा विज्ञान केन्द्रका निर्देशक युलिया आन्द्रोसोभाले गोगोलको साहित्यिक व्यक्तित्वबारे चर्चा गर्नुभयो ।
व्यङ्ग्य कवि लक्ष्म्ण गमनामेले ‘जनताको कविता’ व्यङ्ग्य कविता वाचन गर्नुभयो ।
कार्यक्रममा नाटक निर्देशक नवराज बुढाथोकी, नेपाल–रुसी साहित्य समाजका चन्द्रकान्त आचार्यलगायतले बोल्नुभएको थियो ।
Leave a Reply