भर्खरै :

भिक्षु अश्वघोषप्रति श्रद्धाञ्जली

काठमाडौँ, २३ चैत । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले छैटौँ संघनायक भिक्षु अश्वघोषप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
काठमाडौँ ढल्कोस्थित संघराम विहारमा राखिएको उहाँको पार्थिव शरीरमा फूलको गुच्छा चढाएर सांसद सुवालले उहाँप्रति श्रद्धा व्यक्त गर्नुभएको थियो ।
सांसद सुवालले श्रद्धाञ्जली पुस्तिकामा मानव जातिको कल्याणको लागि बुद्धले प्रतिपादन गर्नुभएको बौद्ध दर्शनबारे सर्वसाधारण जनतालाई प्रशिक्षित गर्न संघनायक अश्वघोषले महत्वपूर्ण योगदान गर्नुभएको उल्लेख गर्नुभयो ।
यसैबीच अखिल नेपाल भिक्षु महासङ्घले शुक्रबार दिवङ्गत हुनुभएका भिक्षु अश्वघोष महास्थवीरको राजकीय सम्मानकासाथ अन्येष्टिको माग गरेको छ ।
महासङ्घले आइतबार बिजेश्वरी घाटमा भिक्षुको पार्थीव शरीरको अन्त्येष्टि गरी सातौँ दिनमा शोक मनाउन ढल्कोस्थित सङ्घराम बिहारमा सभा गर्ने भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो । उहाँको पार्थीव शरीर सर्वसाधारणको दर्शनका लागि सोही विहारमा राखिएको छ ।
करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका ९४ वर्षीय भिक्षु अश्वघोषका करीब १५० कृति प्रकाशित छन् । थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायकसमेत रहनुभएका भिक्षु अश्वघोष अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत हुनुहुन्थ्यो । पाटनको उकुवहालमा जन्मनुभएका भिक्षु अश्वघोषले बौद्ध साहित्य र दर्शनको विकासमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *