भर्खरै :

स्तालिन–२

अन्ना लुई स्ट्रङ
(अमेरिकी पत्रकार अन्ना लुई स्ट्रङको प्रस्तुत लेख पहिलो पटक सन् १९४१ मा द डायल प्रेस, न्युयोर्कमा प्रकाशित भएको थियो । सोभियत नेता स्तालिनबारे पुँजीवादी प्रचारमाध्यमले स्तालिनको विषयमा प्रचार गर्ने अनेकन झूटा कुरा, सत्यसँग मेल नखाने कुरा अन्नाको यो लेखबाट थाहा पाउन सक्छौँ । लेखलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद हौसलाले गर्नुभएको हो ।)
यस कुरालाई अभिव्यक्त गर्ने सोभियत जनताको आफ्नै तरिका छ । अमेरिकीहरूलाई यो सुन्दा अनौठो लाग्न सक्छ । “स्तालिन एक्लै सोच्दैनन्”, सोभियत जनता भन्छन् । ‘व्यक्तिवाद’ आदर्शको ठीकविपरीत हुन्छ । तर, उनीहरू यसलाई एकदम उच्चत्तम प्रशंसाको रूपमा लिन्छन् । उनीहरू यो मान्छन् कि स्तालिन आफ्नो मस्तिष्कबाट मात्र सोच्नुहुन्न, बरु विज्ञान प्रतिष्ठान, उद्योगका प्रमुखहरू, मजदुर सङ्गठनका नेताहरू, पार्टी नेताहरूसँगको सरसल्लाहमा सोच्नुहुन्छ । वैज्ञानिकहरू यही तरिकाबाट सोच्छन् । यसरी नै राम्रा मजदुर सङ्गठनवादीहरू सोच्छन् । उनीहरू व्यक्तिगतरूपमा सोच्दैनन् । उनीहरू एक्लाएक्लैको मस्तिष्कको निष्कर्षमा विश्वास गर्दैनन् । यो अत्यन्त महत्वपूर्ण विशेषता हो । आजको विश्वका जटिल समस्याहरूको निर्णय गर्न एक व्यक्तिको मस्तिष्कको आकार पर्याप्त हुँदैन । धेरै मस्तिष्कहरूको संयुक्त सोचाइले मात्र आजका समस्याहरूलाई सुरक्षित किसिमले व्यवस्थापन गर्न सकिन्छ, द्वन्द्वबाट होइन सहकार्यबाट ।
स्तालिन आफैंले विभिन्न अन्तर्वार्ताहरूमा यस कुरा दोहो¥याउनुभएको छ । जब इमिल लुडविग ले र पछि रोए होवार्ड (१५) ले बुझ्न खोजे, “कसरी एक महान अधिनायकले आफ्नो मस्तिष्क बनाएको हुन्छ ?” स्तालिनले जवाफमा भन्नुभयो, “एक्लो व्यक्तिले निर्णय लिनसक्दैन । हाम्रो अनुभवले देखाएको छ कि अरुले नसच्याएको व्यक्तिगत निर्णयहरूमा धेरै प्रतिशत गल्तीहरू हुन्छन् ।”
सोभियत जनता कहिल्यै ‘स्तालिनको इच्छा’ वा ‘स्तालिनको निर्देशन’ भन्दैनन् । उनीहरू ‘सरकारको निर्देशन’ र ‘पार्टीको विचार (लाइन)’ भन्छन् । ती सामूहिक रूपमा बनेका निर्णयहरू हुन् । ‘स्तालिनको तरिका’ बारे भने उनीहरू धेरै चर्चा गर्छन् । यसबाट सबैले सिक्न जरुरी छ । धेरै मानिसहरूको मस्तिष्कबाट चाँडै साझा निर्णय लिने तरिका हो यो, राम्रो सामूहिक कार्य गर्ने तरिका । सोभियत सङ्घको राजनीतिमा लाग्ने उज्ज्वल युवाहरूले यो विषय ध्यान दिएर पढ्ने गर्छन्  ।
त्यो पहिलो बैठक पछिका अन्य बैठकहरू त्यस्तै विधिबाट सञ्चालन भएको मैले देखें । स्तालिन, भोरोसिलोभ, कागानोविच र अरु सबै जना कुनै निश्चित निर्णय वा कामको लागि छलफल गरी एकमत भएको मैले देखें । विस्तारै दिनहरू बित्दै गए । स्मृति धमिलिंदै गयो । पहिलो बैठक कुनै सपना जस्तै धमिलो बन्दै गयो । मैले एक रुसी मित्रसँग आफ्ना चिन्ता ढुक्कसँग व्यक्त गरेँ, ऊ हाँस्यो । “यो हाम्रो भयानक प्रजातन्त्र हो”, उसले मलाई भन्यो । “तिम्रो मामला वास्तवमा समाधान भइसक्या ।े तर, प्राविधिकरूपमा सम्पूर्ण पोलिटव्युरो सदस्यहरूबाट अनुमोदित हुन बाँकी छ । उनीहरूमध्ये कोही ककेससमा छन् र कोही लेनिनग्राडमा । नियमित कार्यतालिकाअन्तर्गत नै अन्य धेरै निर्णयहरूसँगै यो पनि सबैतिर पठाइनेछ । तर, उनीहरूमध्ये कसैले पनि तिम्रो प्रश्नबारे ध्यान दिनेछैन किनकि उनीहरूलाई यसबारे केही जानकारी नै छैन । कुनै निर्णयमा केही थप्न वा निर्णय परिवर्तन गर्ने अवसरका लागि यो हाम्रो नियमित प्रक्रिया हो । सबै जना सहमत नभएको निर्णयमाथि थप छलफलका लागि समितिमा फर्काइन्छ ।”
संयुक्त निर्णय प्रणालीका यस्ता अभ्यासमा स्तालिनले केही महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँलाई भेट्ने जो कोही प्रथमतः उहाँको सीधापन र सरलता, उहाँको छरितो दृष्टिकोणबाट प्रभावित हुन्छन् । दोस्रोमा कुनै जिज्ञासा वा प्रश्नलाई सम्बोधन वा व्यवस्थापन गर्दा उहाँको स्पष्टता र वस्तुगत दृष्टिकोण अनुभव गर्छन् । हिटलरको जस्तो भावनात्मक उन्माद र मुसोलिनीको जस्तो उग्र आत्मअहङ्कारबाट स्तालिन पूर्णरूपमा मुक्त हुनुहुन्थ्यो । उहाँ प्रकाशमा आउन नचाहने स्वभावको हुनुहुन्थ्यो । मानिसहरूले बिस्तारै उहाँको गहिरो विश्लेषण, उहाँको विशाल ज्ञानको भण्डार, विश्व राजनीतिमा उहाँको पकड, तथ्यको सामना गर्ने उहाँको इच्छा शक्ति, विशेषगरी समस्यालाई इतिहासको सापेक्षमा बुझ्न् उहाँको दूरदृष्टि बुझ्ने गर्छन् । तत्कालीन अवस्थाको आधारमा मात्र निक्र्यौल निकाल्ने होइन, बरु त्यसको विगत र भविष्य पनि नियाल्नुहुन्थ्यो ।
स्तालिन ढिलो गरी शक्तिमा आउनुभएको हो । उहाँजस्तो व्यक्तिको उदय विस्तारै तर पक्की ढङ्गमा हुन्छ । यसको सुरुवात उहाँले मानव इतिहासको अध्ययन र विशेषगरी क्रान्तिको इतिहास अध्ययनबाट भएको थियो  । एच. जी. वेल्ससँगको कुराकानीको क्रममा स्तालिनसँग क्रामवेल नेतृत्वको बेलायती पुँजीवादी क्रान्तिबारेको जानकारी सुनेर राष्ट्रपति रुजवेल्ट चकित परेको मलाई सुनाउनुभएको थियो । बेलायती र अमेरिकी ऐतिहासिक क्रान्तिहरूबारे बेलायत र अमेरिकाका राजनीतिज्ञहरूले भन्दा धेरै मिहिन ढङ्गले स्तालिनले अध्ययन गर्नुभएको छ । जारशाही रुसी क्रान्तिको दमनका लागि तयार थियो । स्तालिनले त्यसमा सहभागी हुने सोच्नुभयो र त्यसलाई आकार प्रदान गर्न मद्दत गर्नुभयो । उहाँले आफैंलाई माक्र्सवादी दृष्टिकोणमा आधारित इतिहासको प्रक्रियाको पूर्ण वैज्ञानिक चित्रण गर्नसक्ने बनाउनुभयो ः जनताको ठूलो समूह कसरी बाँच्दछ, कसरी जनताको औद्योगिक र सामाजिक विकास कसरी हुन्छ, समाजमा वर्गहरू कसरी उदाए र सङ्घर्षहरू कसरी उठे, उनीहरू कसरी सफल भए ? स्तालिनले सबै पुराना क्रान्तिहरूको विश्लेषण र तुलना गर्नुभयो । उहाँले त्यसबारे धेरै पुस्तकहरू लेख्नुभएको छ । तर, उहाँ एक वैज्ञानिकमात्र हुनुहुन्न, उहाँ आफैं मैदानमा उत्रेर क्रियाशील हुने व्यक्ति हुनुहुन्छ ।
क्रान्तिका सुरुआती दिनहरूमा स्तालिनको नाम पार्टी बाहिर मुस्किलले सुनिन्थ्यो । सन् १९२३ मा लेनिन जीवनका अन्तिम दिनहरू बिताइरहनुभएको थियो । त्यत्तिबेला मलाई मेरा एक जना विश्वासिलो मित्रहरूले भनेका थिए – “स्तालिन ‘हाम्रा भावी नेता’ हुनुहुन्छ ।” पार्टी सचिवको रूपमा राजनीतिक शक्तिहरूका बारेमा स्तालिनको गहिरो ज्ञान र पार्टी सङ्गठनहरूमाथि उहाँको नजिकको सम्बन्धका आधारमा उनीहरूले यस्तो भनेका हुन् । उनीहरूको अर्को आधार भनेको ठीक समयमा छरितो कदम चाल्न सक्ने उहाँको क्षमता हो । क्रान्तिको यति लामो समयसम्म उहाँको विश्लेषण एक पटक पनि गलत नभएको पनि भनिन्छ । स्तालिनको बारेमा उनीहरू भन्छन् – उहाँ यस्ता व्यक्ति हुनुहुन्थ्यो जोसँग पार्टीका जिम्मेवार व्यक्तिहरू पनि आफ्ना सोचाइबारे स्पष्ट धारणा बनाउन भेट्ने गर्थे । ती दिनहरूमा स्तालिनलाई पार्टीको सबैभन्दा साधारण मान्छे भन्दै ट्रोत्स्की (१६) गिज्याउने गर्थे । एक अर्थमा त्यो सत्य पनि थियो । स्तालिन ‘साधारण मानिसहरूसँग नजिक बस्नुहुन्थ्यो, साधारण मानिस नै राजनीतिका महत्वपूर्ण आधार पनि हुन् । तर, स्तालिन आफ्ना कार्य सर्वोत्कृष्ट ढङ्गबाट गर्नुहुन्थ्यो जुन साधारणभन्दा धेरै माथि थियो ।’
एकपटक स्तालिनले भन्नुभएको थियो, “नेतृत्वको कला भनेको अत्यन्तै गम्भीर विषय हो । कसैलाई आन्दोलनभन्दा पछाडि पर्ने छुट हुँदैन किनकि यसो गर्नु भनेको जनताबाट एक्लिनु हो । तर, कोही अगाडि दौडिन पनि हुँदैन, त्यसो गर्दा जनतासँग उसको सम्बन्ध टुट्छ ।” उहाँ आफ्ना कमरेडहरूलाई कुशल नेता कसरी बन्ने भन्ने कुरा बताइरहनुहुन्थ्यो, उहाँ आफ्ना विचारहरू व्यक्त गरिरहनुहुन्थ्यो । त्यस्ता विचारको उहाँ स्वंयले अत्यन्त प्रभावकारी ढङ्गले अभ्यास गर्नुभएको थियो ।
बीस वर्षअघिको रुसी गृहयुद्धमा जीत हासिल गर्न साधारण जनताप्रति स्तालिनको भावनात्मक सम्बन्धले सोभियत सेनालाई धेरैपटक सहयोग ग¥यो र तीमध्येको एउटा उत्कृष्ट क्षण भनेको उत्तरी ककेससमा अगाडि बढ्ने विषयमा स्तालिन र ट्रोट्स्कीबीच भएको विवाद हो । ट्रोट्स्की सबैभन्दा छोटो सैनिक मार्ग भएर जाने पक्षमा थिए । छोटो बाटो ककेससका असहज र अपरिचित जमिन भएर जानुपर्ने हुँदा अझ लामो र कठीनतम हुनेछ भनी स्तालिनले विमति जनाउनुभएको थियो । उहाँले एउटा घुमाउरो बाटो अवलम्बन गर्नुभयो जुन कामदार वर्गको सहर र मित्रवत कृषिक्षेत्र भएर जान्थ्यो, जहाँ साधारण जनता लालसेनालाई सहयोगको निम्ति उठ्न सक्थे । उनीहरूबाट लालसेनालाई अवरोध हुने थिएन । त्यो भिन्न विश्लेषण स्पष्ट र व्यवहारिक थियो । त्यसपछिका बीस वर्षमा पनि उहाँको कुशलताको प्रदर्शन निरन्तररूपमा भइरहेको छ । सामाजिक मुद्दा र शक्तिको व्यवस्थापनको कुरा आउँदा स्तालिन पूर्ण सहजताका साथ अघि बढ्नुहुन्छ । उदाहरणका लागि जर्मनी सेनाको पछाडि ‘जनताको युद्ध’ का निम्ति आज गरिएको उहाँको आह्वानले प्रदर्शित गरेको छ । क्रोधित जनताको अथाह शक्तिलाई कसरी जगाउने, त्यसलाई कसरी व्यवस्थापन गर्ने र जनताको आकाङ्क्षा पूरा गर्न त्यसलाई कसरी जारी राख्ने भन्नेबारे उहाँ जानकार हुनुहुन्छ ।
पहिलो पञ्चवर्षीय योजनापछिका छलफलहरूमा बाहिरी विश्वले बल्ल स्तालिनका बारे सुन्न थालेका थिए । मैले करिब पाँच वर्षअघि एउटा लेख लेखेकी थिएँ, लेनिनको उत्तराधिकारीको रूपमा अनुमान गर्दै । तर, त्यो लेख त्यत्ति चर्चामा आएन । कम्युनिष्ट पार्टीबाहिरका रुसी कामदारहरूले स्तालिनलाई त्यतिबेलै आफ्ना नेताका रूपमा मान्न थालेका थिए जब सोभियत उद्योगको भव्य विस्तार पहिलो पटक हुँदै थियो । ‘सफलताको उत्कर्ष’ (Dizziness from success) शीर्षकको चर्चित लेखबाट सन् १९३० को मार्चबाट उहाँ पहिलोचोटि किसानहरूमाझ नेताका रूपमा उदाउनुभयो । त्यस लेखमा उहाँले कृषि सामूहिकीकरणमा भइरहेका दुरुपयोगहरूबारे जाँच गर्नुभएको थियो । यसै लेखको पछिल्ला अध्यायहरूमा मैले ग्रामीण जिल्लाहरूमा सामूहिक खेतीमा भइरहेका दुरुपयोगको प्रभावबारे चर्चा गरेको छु । म सम्झन्छु, वाल्टर डुरान्टी (१७) ले मलाई त्यस लेख दिंदै भनेका थिए, “अन्ततः यस माटोले आफ्नो नेता पायो ।”
संवैधानिक आयोगको अध्यक्षको हैसियतमा समाजवादी मुलुकको ‘नयाँ संविधान’ जारी गरेको समय नै पहिलो पटक स्तालिन सम्पूर्ण सोभियत जनताका नेताका रूपमा उदाएको महान क्षण थियो । देशका सर्वश्रेष्ठ इतिहासविद्, अर्थशास्त्री र राजनीतिशास्त्रका वैज्ञानिकहरूको ३१ सदस्यीय आयोगलाई संसारको सबैभन्दा प्रजातान्त्रिक संविधान निर्माण गर्ने निर्देशन दिइएको थियो, जसमा ‘जनताको आकाङ्क्षा’ प्राप्त गर्ने सबैभन्दा प्रभावकारी विधि अपनाइएको देखियो । उनीहरूले विश्वमा उपलब्ध विगतका प्रत्येक संविधानको विस्तृत अध्ययन गर्न करिब डेढ वर्षको समयावधि खर्चे । सरकारका संविधानहरूमात्र नभई मजदुर सङ्गठन (ट्रेड युनियन) र स्वयम्सेवी समाजहरूको विधानको गहन अध्ययन गरे । उनीहरूले प्रस्तुत गरेको खेस्रामाथि कैयौं महिनासम्म चलेका पाँच लाखभन्दा बढी बैठकहरूमा तीन करोड पैंसठ्ठी लाख जनता सहभागी भई छलफल गरे । जनताबीच भएका छलफलहरूबाट प्राप्त सुझावहरूमध्ये त्यस संवैधानिक आयोगले एक लाख चवन्न हजारको सङ्ख्यामा संशोधनहरू गरे । स्तालिन आफैंले जनताबाट प्राप्त दसौं हजार पत्रहरू पढ्नुभयो ।
क्रेमलिन दरबारको महान श्वेत बैठक कक्षमा स्तालिनले आफ्नो प्रतिवेदन सोभियत संसदमा प्रस्तुत गर्नुभएको बेला त्यहाँ दुई हजार मानिस उपस्थित थिए । सञ्चार कर्मीहरू बस्ने स्थानमा म बसेकी थिएँ जसको मुनितिरको मुख्य कक्ष मा सांसदहरू बसेका थिए । मेरो वरिपरिको बार्दलीमा विदेशी कूटनीतिज्ञहरू बसेका थिए, मेरो पछाडिको गहिरो भागमा सोभियत नागरिकहरू थिए । हल बाहिर करोडौं जनता रेडियोमार्फत सुन्दै थिए, केन्द्रीय एसियाको दक्षिणी कपासका खेतहरूदेखि आर्टिक किनारका वैज्ञानिक केन्द्रहरूसम्म । तर स्तालिनका शब्दहरू सीधा, सरल र त्यतिकै अनौपचारिक थिए जति उहाँ आफ्ना केही साथीहरूसँग आगो ताप्दै गफिंदा बोल्नुहुन्थ्यो । उहाँले संविधानको महत्वबारे विवेचना गर्नुभयो, संशोधनका लागि आएका सुझावहरू समेट्नुभयो, तीमध्येको ठूलो सङ्ख्यालाई कानुन निर्माण गर्ने अङ्गहरूमा पठाउनुभयो र सबैभन्दा महत्वपूर्ण बुँदाहरूमाथि आफंै परिचर्चा गर्नुभयो । प्राप्त १,५४,००० सुझावहरूमध्ये प्रत्येकलाई सम्बन्धित महलमा वर्गीकृत गर्दै सरल बनाउनुभयो ।
दर्जन वा सोभन्दा बढी संशोधनमध्ये प्रजातान्त्रिक अभिव्यक्तिलाई सहज पार्न सबै बुँदा उहाँले अनुमोदन गर्नुभयो र प्रजातन्त्रलाई सङ्कुचित गर्ने खालका सबै बुँदा अस्वीकृत गर्नुभयो । सोभियत सङ्घमा आबद्ध विभिन्न गणराज्यहरूलाई सङ्घबाट छुट्टिने आत्मनिर्णयको अधिकार प्रत्यायोजन गरिनुहुँदैन भन्ने विचार केही व्यक्तिको थियो । स्तालिनले भन्नुभयो, “सायद उनीहरूले कहिल्यै छुट्टिने चाहना राख्ने छैनन् । तर, त्यस्तो अधिकार संविधानमै प्रत्याभूत गर्नु प्रजातान्त्रिक अधिकार हो । जनताको ठूलो हिस्साले धर्मगुरु हरूलाई राजनीतिक अधिकार अस्वीकार गरे किनकि यसले अनावश्यक खराब राजनीतिलाई प्रोत्साहन गर्छ ।” सोभियत जनता आफ्नो विचार बुझ््न सक्ने गरी परिपक्व भइसकेको तर्क गर्दै स्तालिनले भन्नुभयो, “विश्वव्यापीरूपमा सीमाहीन मताधिकारको सुरुआत गर्ने समय आइसकेको छ ।”
संविधानले कसरी काम गर्छ भन्दा पनि धेरै उल्लेखनीय अंश स्तालिनको सम्बोधनमा थियो । युरोपमा उदाउँदो नाजी खतरालाई ठाडो चुनौती दिंदै उहाँले आफ्नो सम्बोधनको अन्त्य गर्नुभएको थियो । युरोपेली सरकारहरूले हिटलरवादको गम्भीर विरोध गर्नुअघि नै सन् १९३६ नोभेम्बर २५ का दिन स्तालिनले भन्नुभयो, “नयाँ सोभियत संविधान फासीवादको विरुद्ध हो, यो संविधानले भन्छ–समाजवाद र प्रजातन्त्र अजेय हुन्छ ।”
संवैधानिक संसदका वर्षहरूमा नै स्तालिनको व्यक्तित्वको प्रभावले व्यापकता पाउन थाल्यो । सोभियत सङ्घमा उहाँका तस्वीर र नाराहरूले महत्व पाइरहँदा विदेशीहरूले त्यसलाई बलपूर्वक र कपटपूर्ण ढङ्गले ‘व्यक्तिपूजा’ का रूपमा चित्रण गरे । मैले चिनेका प्रायशः मित्रहरू साँचो अर्थमा स्तालिनप्रति अत्यन्त श्रद्धा गर्थे । उनीहरूका लागि स्तालिन आफ्नो देशका निर्माता र सफलतासम्म पु¥याउने नेता हुनुहुन्थ्यो । मैले त्यस्ता मानिसहरू पनि चिनेको छु जसले आफ्नो जिल्लाका कम रोमाञ्चक उम्मेदवारलाई भोट गर्नुको साटो सिधा स्तालिनलाई भोट गर्ने अवसर पाउनका निम्ति निर्वाचनको ठीक अघिल्लो दिन आफ्नो अस्थायी ठेगाना परिवर्तन गरेका थिए ।
सोभियत अखबारहरूमा आजका दिनसम्म स्तालिनको पारिवारिक जीवनका कुनै जानकारी छापिएको छैन । रुसी परम्परामा सबैजनालाई आफ्नो व्यक्तिगत जीवनको गोपनीयताको अधिकार सुरक्षित छ, राजनीतिक नेतृत्वमा रहेकालाई पनि । व्यक्तिगत जीवन र सार्वजनिक जीवनलाई एउटा मसिनो रेखाले छुट्याइएको हुन्छ । जब स्तालिनकी श्रीमतीको निधन भयो, अखबारहरूमा कालो किनारा भएको सूचना छापियो । जसमा उनको आफ्नै नाम उल्लेख थियो, ‘स्तालिन’ कहीं कतै थिएन । त्यसमा उनका योगदानहरू र उनी आबद्ध विभिन्न सार्वजनिक संस्थाहरूको सूची उल्लेख थिए त्यसमा उनलाई ‘स्तालिनका मित्र र कमरेड’ भनी उल्लेख गरिएको थियो । उनीहरूले त्यसमा उनलाई स्तालिनकी पत्नी भनी उल्लेख गरेनन् । वास्तविकता के हो भने उनले स्तालिनसँग गरेका काम र कमरेडको रूपमा स्तालिनका निर्णयहरूमा उनको प्रभाव सार्वजनिक विषय थियो । त्यसको विपरीत स्तालिनसँग उनको विवाह उनीहरूको आफ्नै व्यक्तिगत मामिला थियो । केही समयपछि स्तालिनले दोस्रो विवाह गर्नुभयो तर प्रेसले त्यसबारे कहिल्यै उल्लेख गरेन ।
सन्दर्भ व्यक्ति परिचय
१५) रोए डब्ल्यु हवार्ड संरा अमेरिकी पत्रकार र अखबार सञ्चालक हुन् । उनको ई डब्ल्यु स्क्रिप्स कम्पनीले चार दसकसम्म अमेरिकी प्रकाशनमा नेतृत्व ग¥यो । मालिक भएर पनि उनले संवाददाताको काम भने छोडेका थिएनन् ।
१६) लिओनल ट्रोत्स्की सोभियत सङ्घका नेता थिए । उनी अराजकतावादी विचारका थिए । उनको अराजकतावादी विचारका कारण सोभियत क्रान्तिसमेत खतरामा परेको थियो । उनी विश्व र स्थायी क्रान्तिको कुरा गर्थे । तर, उनको त्यस्तो विचारले सोभियत सत्तालाई कमजोर बनाउने भएकाले लेनिन र स्तालिनले उनको अराजकतावादी विचारविरुद्ध सैद्धान्तिक सङ्घर्ष गर्नुभएको थियो । उनको एउटा विमान दुर्घटनामा निधन भएको थियो ।
१७) वाल्टर डुरान्टी बेलायती पत्रकार थिए । उनको जन्म लिभरपुलमा भएको थियो । उनी सन् १९२२ देखि १९३६ सम्म चौध वर्ष ‘द न्यु योर्क टाइम्स’ पत्रिकाका मस्को शाखाका प्रमुख थिए ।
–क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *