भर्खरै :

दुई अन्तर्राष्ट्रिय प्रसङ्ग

इरानी सेनामाथिको आरोप
सोमबार संरा अमेरिकी सरकारले इरानको सेनालाई ‘आतङ्कवादी’ घोषणा ग¥यो । ट्रम्पकै शब्दमा इतिहासमै पहिलोपटक संरा अमेरिकी सरकारले इरानी सेनालाई ‘आतङ्कवादी’ घोषणा गरेको हो । मध्यपूर्वमा आफ्नो एकछत्र प्रभाव विस्तार गर्न संरा अमेरिकी साम्राज्यवादको निम्ति इरान धारिलो काँडा बन्दै आएको छ । इरानलाई मध्यपूर्वको भूगोलबाट मेट्न सके अथवा कम्तीमा इरानको अहिलेको सत्तालाई कमजोर बनाउन सके संरा अमेरिकाले प्रत्यक्षरूपमा दुई वटा फाइदा हासिल गर्नेछ । पहिलो, तेलमा समृद्ध मध्यपूर्वका देशहरूमाथि संरा अमेरिका नेतृत्वको गठबन्धनको एकछत्र नियन्त्रण हुनेछ । दोस्रो, क्षेत्रीय मठाधिशको रुपमा जबरजस्ती स्थापना गरेको यहुदीवादी इजरायली सत्ताको सो क्षेत्रमा अझ प्रभाव बिनाअवरोध बलियो हुनेछ । संरा अमेरिकी साम्राज्यवादविरोधी इरानी सत्तालाई ध्वस्त बनाएर यी उपलब्धि हासिल गर्न वाशिङ्टनले लामो समयदेखि प्रयास गरिरहेको छ । तर, इरानका साम्राज्यवादविरोधी जनता इराक, लिविया, अफगानिस्तान र सिरियाको इतिहास आफ्नो देशमा दोहोरिन नदिन एकजुट भएर लागेका छन् ।
इरानी जनताको साम्राज्यवादविरोधी एकताको सबभन्दा बलियो रक्षाकवच इरानी क्रान्ति रक्षा दल अर्थात् आइआरजीसी हो । इरानमा आफ्नो लक्ष्य पूरा गर्न संरा अमेरिकाको लागि सबभन्दा ठूलो अवरोध आइआरजीसी बनेको छ । त्यसकारण आज त्यो सेनालाई उसले सबभन्दा ठूलो शत्रु देखेको छ । आफ्नो देशको सार्वभौमिकता रक्षा गर्नु हरेक देशको सेनाको पहिलो दायित्व हो । संरा अमेरिकी सेनाले आफ्नो देशको सार्वभौमिकता जसरी रक्षा गर्न लागिरहेको छ, इरानी सेनाले पनि आफ्नो देशको स्वतन्त्र अस्तित्व रक्षाको लागि लड्ने तयारी गर्नु स्वाभाविक हो । आइआरजीसीको कर्तव्य निर्वाहलाई संरा अमेरिकाले आफ्नो दुश्मनी देख्नु उसको साम्राज्यवादी मानसिकताको अभिव्यक्तिमात्र हो ।
लिविया सङ्कट
उत्तर अफ्रिकी देश लिवियाले आज भोगिरहेको सङ्कटको कारक संरा अमेरिका र नाटो देशहरू हुन् । मुअम्मर गद्दाफीलाई सत्ताच्युत गरी संरा अमेरिकाले उछालेको अस्थिरताको पीडा आज पनि लिवियाली जनताले भोगिरहेका छन् । संरा अमेरिकाको अगुवाइमा संयुक्त राष्ट्र सङ्घले त्रिपोलीमा स्थापना गरेको सरकार लिवियाली जनताको सरकार होइन । हिजोका गद्दाफीका सेना र देशभक्त लिवियाली जनताले साम्राज्यवादले थोपरेको त्रिपोली सरकारलाई ध्वस्त बनाएर आफ्नै स्वतन्त्र सरकार बनाउन चाहेका छन् । उनीहरू आज राजधानी त्रिपोली कब्जा गर्न अघि बढिरहेका छन् । त्रिपोली पसेका देशभक्त लिवियाली विद्रोही सेनालाई दबाउन नेपाली शान्ति सेना परिचालन गरिएको समाचार प्रकाशित भयो ।
इतिहासमा माल्भिनस टापु (फकल्यान्ड टापु) का जनतामाथि दमन गरेर नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा त्यसै पनि बदनामी कमाइसकेको छ । अब फेरि लिवियामा नेपाली सेनालाई अग्रभागमा परिचालन गरेर नेपालको बद्नाम गराउन साम्राज्यवादी शक्ति लागेका छन् । भारतीय सेनाले जिम्मा पाएको क्षेत्रमा ‘उनीहरूले नसकेपछि’ नेपाली सेनालाई अघि सारिएको प्रचार लिवियालीलाई मार्ने वा आफू मरिने क्षेत्रमा नेपालीलाई प्रयोग गरिएको वास्तविकता हामीले बुझ्न जरुरी छ । झण्डै चालीस वर्षअघि साहित्यकार हरिबहादुर श्रेष्ठले लेख्नुभएको कविता ‘तिम्रो बहादुरी तिम्रो अभिसाप’ आज लिवियामा पुनरावृत्ति हुन लागेको देखिन्छ ।
नेपाली शान्ति सेनाले लिवियाली देशभक्त जनताविरुद्ध हमला होइन, उनीहरूलाई सम्मान गर्नुपर्छ । साम्राज्यवादविरोधी योद्धालाई आफ्नो देश छोडिदिनुपर्छ । नेपाली सेनाले फेरि पनि लिवियाली जनताविरुद्ध हत्या, हिंसा मच्चाएर बदनामी कमाउनुहुन्न । नेपाल आफैं साम्राज्यवादबाट पीडित अविकसित देश भएको हुँदा लिवियाली जनताको स्वतन्त्रता सङ्घर्ष र साम्राज्यवादविरोधी लडाइँमा ऐक्यबद्धता जनाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *