भर्खरै :

शान्तिपूर्ण तरिकाले बिस्केट जात्रा सफल पारौँ

– दानबहादुर कपाली
भक्तपुरमा आज बुधबारदेखि बिस्केट जात्रा सुरु हुन्छ । यो सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्वको जात्रामा नयाँ वर्षको अघिल्लो दिन लिङ्गो उठाउँछ भने नयाँ वर्षको थालनीसँगै या नयाँ वर्षकै दिन लिङ्गो ढाल्छ । विश्व सम्पदास्थल टौमढीमा रहेको भैरवकोे रथ तानेर यो बिस्केट जात्रा प्रारम्भ हुन्छ । काठै काठैले बनेको तीनतले भैरवको रथ टौमढीबाट तानेर गःहिटीमा पु¥याउनुपर्ने परम्परा छ । निर्णयअनुसार भैरवको रथ बढीमा थने (माथिल्लो भेग) मा बुलबुल हिटी (धारा) सम्म र कोने (तल्लो भेग) मा नासमनासम्म पु¥याएर गःहिटीमा पु¥याएपछि पहिलो दिनको जात्रा अन्त्य हुन्छ ।
जात्रालाई शान्तिपूर्ण रूपमा सफल पार्न दिउँसो २ बजे नै भैरवको रथ तान्ने व्यवस्था गरिएको छ । समयमै रथ तानेर साँझपख नै गःहिटीमा पु¥याउने सम्बन्धित सरोकारवाला पक्षबीच सहमति भएको छ । उक्त सहमतिअनुसार बेलुका ६ बजेसम्ममा जात्रा सम्पन्न हुनेछ । पालैपालो माथिल्लो र तल्लो भेगमा लगेर निर्धारित स्थानमा भैरवको रथ पु¥याउनु सबै भक्तजन तथा श्रद्धालुहरूको दायित्व हो । त्यो दायित्व भैरवको रथ तान्ने श्रद्धालुहरूले पूरा गर्नुपर्छ । भैरवको रथ तान्ने कामलाई शक्ति प्रदर्शनको रूपमा हेर्नु हुँदैन । माथिल्लो भेग र तल्लो भेगमा सहज ढङ्गले रथ तान्ने या पु¥याउने काम भए जात्रा शान्तिपूर्ण हुन्छ र हर्षाेल्लासका साथ मनाउन पाइन्छ ।
जात्रा हामी सबैको हो । रथ तल्लो र माथिल्लो भेगमा पु¥याउने जिम्मेवारी पनि हाम्रो हो । हाम्रो जात्रालाई हामीले नै शान्तिपूर्ण रूपमा सफल बनाउने हो । रथ निर्धारित स्थानमा पु¥याउन दुवै भेगका भक्तजन तथा श्रद्धाहरूले साथ र सहयोग गर्नुपर्छ । माथिल्लो र तल्लो भेग भनी शक्ति प्रदर्शनको हिसाबले रथ तान्ने होइन । दुवै पक्षबाट रथ सहज ढङ्गले तान्नुपर्छ । रथको छाना या अन्य कुनै भाग खस्ने गरी जबरजस्ती तान्नु पनि हुँदैन । रथको स्वरुप बिग्रेपछि जात्राको शोभा बढ्दैन । रथको छाना या अन्य कुनै भागको टुँडाल, गजुर खसेर श्रद्धालुहरू घाइते हुन्छन् । रथ तान्दा बलमात्र गरेर हुँदैन विवेक पनि पु¥याउनुपर्छ । रथको कुनै पनि संरचना नबिग्रिने गरी तानेर निश्चित ठाउँमा पु¥याउनुपर्नेतर्फ सबैको ध्यान जानुपर्छ । कुनै पनि श्रद्धालु या भक्तजनले जात्रा बिथोल्नु हुँदैन । जात्रा बिथोलेर झगडा गर्ने र गराउनेहरूतर्फ सबै चनाखो हुनुपर्छ । जात्रा हर्षोल्लासका साथ मनाइनुपर्छ, जात्रा सफल पार्नुपर्छ । जात्राको बेला कहीं कतै कुनै पनि झगडा नहोस् । बिस्केट जात्रा सभ्य तरिकाले मनाइनुपर्छ । आन्तरिक र बाह्य पर्यटकहरूको समेत घुइँचो हुने यस जात्रालाई शान्तिपूर्ण बनाउन सके देशभरि राम्रो सन्देश जानेछ । प्रत्येक वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरुको सङ्ख्या बढ्नेछ । यसले भक्तपुर र देशकै आम्दानीको स्रोत बढ्नेछ । यसले प्रत्येक वर्ष यो जात्रा समयमै शान्तिपूर्ण तरिकाले मनाउन ऊर्जा प्रदान गर्छ । यही उद्देश्य राखेर भैरवको रथ तान्नुपर्छ र पछिल्लो दिन तान्ने भैरवको रथ पनि शान्तिपूर्ण तरिकाले सफल पार्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *