भर्खरै :

असान्जको पक्राउ खोज पत्रकारितामाथिको क्रुर धम्की

अन्ततः बिहीबार विश्व प्रसिद्ध अनलाइन पत्रिका विकिलिक्सका सम्पादक तथा खोज पत्रकार जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाटै बेलायती प्रहरी र गुप्तचरहरूले अपमानपूर्वक पक्राउ गरेका छन् । असान्जलाई इक्वेडरको राजदूतावासबाट निकाल्न र पक्राउ गर्न संरा अमेरिकी शासकहरू र पिछलग्गूहरू कैयौं वर्षदेखि लागिरहेका थिए । सन् २०१२ मा तत्कालीन इक्वेडरका वामपन्थी राष्ट्रपति राफेल कोर्रेया र उनका विदेशमन्त्री रिकोर्डो पेटिनोले असान्जलाई लन्डनमा रहेको आफ्नो देशको दूतावासमा शरण दिएका थिए । इक्वेडरमा राफेल कोर्रेयाको सरकार रहुञ्जेल असान्ज आवश्यक सम्पूर्ण सुविधाका साथ राजनीतिक शरणमा रहेका थिए । तर, जब इक्वेडरमा २०१६ मा सरकार बदलियो र विश्वासघाती मोरेनो राष्ट्रपति बन्यो असान्जलाई दिइएको सुविधा एक–एक गरी कटौती गर्दै उनलाई दूतावासबाट निकाल्ने प्रपञ्च गर्नथाल्यो । मोरेनो सरकारले असान्जमाथि शरणको सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै कुनै पनि बेला असान्जलाई दूतावासबाट निकाल्ने तयारी गरेको जानकारी पहिलेदेखि नै बाहिरिंदै आएको हो ।
अष्ट्रेलियाली नागरिक तथा अनलाइन पत्रिका विकिलिक्सका संस्थापक सम्पादक असान्जले अँध्यारो युगमा उज्यालो छर्ने अपराध गरेका छन् । विकिलिक्ससित विश्व राजनीतिको अतुलनीय तथ्यको अभिलेख र आधिकारिकता छ, जुन आजका कुनै समाचार पत्र, टेलिभिजन च्यानल, रेडियो स्टेशन बीबीसी, न्युयोर्क टाइम्स, वासिङ्टन पोस्ट वा गार्जियन कसैसित पनि छैन । बरू त्यसका तथ्यले अरू सञ्चारमाध्यमको पनि पोल खोलिदिन्छ । असान्जलाई किन सजाय दिइँदैछ भन्ने प्रश्नको जवाफ पनि विकिलिक्समा प्रकाशित खुलासाहरूले दिन्छन् ।
विकिलिक्सले विभिन्न सहयोगी ह्याकरहरूमार्फत प्राप्त संरा अमेरिकाका गुप्त दस्तावेजहरू बिनाडर सार्वजनिक गर्दैैआएको छ । त्यसबाट संरा अमेरिकाको बाहिरी मुकुन्डो प्रजातन्त्र र मानव अधिकारको रहेको तर भित्र भित्र हतियार व्यापार, अरू देशको स्रोतसाधन कब्जा र नरसंहार गर्ने योजना रहेको घृणास्पद सथ्यतथ्य उदाङ्गो गरिदिएको थियो र हुँदैछ । असान्ज र उनका साथीहरूले सार्वजनिक गरेका ती अमेरिकी दस्तावेजहरूले संरा अमेरिकाले कसरी स्वयम् आफ्ना मित्र राष्ट्रहरूमा गुप्तचरी गरिरहेको छ ? सीआईएले कसरी हामीले प्रयोग गर्ने आइफोनमार्फत हामीमाथि निगरानी गरिरहेको छ भनी खुलाउनुका साथै संरा अमेरिकी राष्ट्रपति, उपराष्ट्रपति, मन्त्रीहरूलगायत शासकहरूको स्वदेशी र विदेशी हतियार व्यापारी, बैङ्कर, आदिसितको स्वार्थपूर्ण सम्बन्ध रहेको तथ्य सप्रमाण सार्वजनिक गरेको छ ।
असान्ज र उनका साथीहरूले गरिरहेको पत्रकारिता वास्तविक पत्रकारिता हो । त्यसलाई खतरनाक किसिमको पत्रकारिता मान्ने गरिन्छ, जुन आजको मूलधारको पत्रकारिताको धारविरूद्ध छ । वास्तविक पत्रकारिताले नै मात्र जनतालाई उनीहरूका वास्तविक शत्रुबारे बताउँछ । त्यसैले असान्जको पक्राउ र कानुनी कारबाही पश्चिमा प्रजातन्त्रमा निहित निरङ्कुशताको एउटा ज्वलन्त नमुना र सत्यतथ्य जनसमक्ष ल्याउने उद्देश्य बाकेको पत्रकारितामाथिकै दमन हो । यो विश्वकै खोज पत्रकारहरूमाथिको क्रुर धम्की हो ।
असान्जको कामदेखि रिसाएका संरा अमेरिकी र पश्चिमा शासक वर्ग असान्जदेखि क्रुद्ध थिए । आफ्ना षड्यन्त्रको गोप्यता भङ्ग गरिदिएकोमा तिनीहरू उनलाई जीवनभर कैद गर्न वा ज्यानै लिन चाहन्थे र चाहन्छन् । त्यसैले उनीहरूले ल्याटिन अमेरिकी देश इक्वेडरमा राष्ट्रपति बनेपछि त्यहाँका जनता र नागरिक क्रान्तिप्रति विश्वासघात गरेका राष्ट्रपति लेनिन मोरेनोलाई प्रयोग गरे । मानव अधिकारको खिल्ली उदाउँदै राजदूतावासभित्रैबाट बलजफ्ती असान्जको पक्राउमा प्रत्यक्षरूपमा शरण पर्नेलाई मरन गर्ने मोरेनो सरकार र स्वतन्त्रता र प्रजातन्त्रको जननी मुलुक दाबी गर्ने बेलायती सरकार दोषी छन् । तर तिनीहरूको पछाडि असान्जलाई झुन्ड्याउन लालायित संरा अमेरिकी साम्राज्यवाद नै रहेको छ । असान्जमाथिको भौतिक र मानसिक यातनाका लागि साम्राज्यवादीहरूले तिनीहरूको हरेक दुष्टतापूर्ण कदममा प्रश्न उठाउने विश्वभरका जनतालाई जवाफ दिनैपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *