यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
–सुरजसिंह
देशमा बा¥है महिना भ्रष्टाचारबारे चर्चा भइरहेको छ । तर, भ्रष्टाचार घट्नुको सट्टा बढेको बढयै छ । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने प्रधानमन्त्री केपी ओलीको बोली कहिल्यै लागू नहुने बोलीमात्र हो भनी थाहा भएका मन्त्री, सांसद, उच्चपदस्थ कर्मचारीदेखि तल्लो तहका कर्मचारी र प्रहरीसम्मले आ–आफ्नो कार्यक्षेत्रमा अनेक तवरले भ्रष्टाचार गरिरहेका छन् । पोख्तहरूले कानुन र नियमका छिद्रका आधारमा मिलाएर भ्रष्टाचार गरेका छन् भने जसरी भए पनि आफूले पनि अतिरिक्त आम्दानी गर्नुपर्ने सोचेकाहरूले ऐन–नियमलाई लत्याएरै भ्रष्टाचार गर्न भ्याएका छन् । मन्त्रिपरिषद्को निर्णयको गलत व्याख्या गर्दै प्रधानमन्त्री निवास बालुवाटार परिसरकै सरकारी जमिन व्यक्तिका नाममा लगेर किनबेच भइरहेको अवस्थामा अन्य क्षेत्रमा व्याप्त भ्रष्टाचारलाई अस्वाभाविक लाग्ने त कुरै भएन ।
महालेखापरीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । प्रतिवेदनअनुसार रु. ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको छ ।
“रामेछाप, ओखलढुंगा, ललितपुरलगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,” महालेखाले भनेको छ ।त्यस्तै शिक्षा विकास तथा समन्वय एकाइ झापाले निर्देशिकाविपरीत रकम बाँडेको देखिन्छ । लक्षित समूहका विद्यार्थीलाई दिवा खाजाको रकम दिनुपर्नेमा जिल्लाका ३ सय १३ प्राथमिक विद्यालयका १३ हजार ८ सय ६१ विद्यार्थीका लागि २ हजार ७ सय रुपैयाँका दरले ३ करोड ७४ लाख २५ हजार ७ सय रुपैयाँ निकासा दिएको देखिन्छ । निर्देशिकाविपरीत निकासा भएको रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनको निष्कर्ष छ ।
सरकारले १३ लाख ५४ हजार विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा कार्यक्रम लागू गरे पनि सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । विद्यालय पढ्ने गरिब परिवार र समुदायका स–साना नानीहरूको भोक मेट्ने उद्देश्यले छुट्याइएको रकममा समेत ¥याल चुहाउने द्रव्यपिशाचहरूले अरु शीर्षकका रकम र वस्तुमात्र नखाला भन्न सकिंदैन । मौकामात्र मिलेको खण्डमा भ्रष्टाचारीहरूले देशै पनि बाँकी राख्ने छैनन् ।
Leave a Reply