भर्खरै :

पाउलो फ्रेरेको पुस्तक ‘उत्पीडितहरूको शिक्षाशास्त्र’ – २

राकस्था
पाठ ३ को सार
संवादमा मुख्यतः ‘शब्द’ हुन्छ जुन प्राक्सिस बराबर हुन्छ । प्राक्सिसको अर्थ विचार÷प्रभाव (रिफ्लेक्सन) र काम (आक्सन) को संयोजन हो । विचार कर्मसँग जोडिएन भने त्यो शब्दाडम्वर (भर्वालिज्म) हुन्छ र शब्दले आफ्नो शक्ति गुमाउँछ । कर्म विचारसँग जोडिएन भने यो सक्रियतावाद (आक्टिभिज्म) बन्छ । आफ्नो कर्मको पूर्ण अर्थ थाहा नपाई कर्म गर्नु मानिस जोखिम हो । स्वतन्त्रता र आफ्नो जीवनको अर्थ बुझ्न संवाद आवश्यक छ ।
संसार बदल्नको निम्ति सबै मानिसले आफैले सत्य बोल्नैपर्छ – कसैले अर्कोे व्यक्तिको मनको बोली ठ्याक्कै बोल्न सक्दैन वा कोही अरू कसैको प्रतिनिधि बन्न सक्दैन ।
संवाद प्रेममा अडिएको ‘सृजनाको एक काम’ हो । संवाद अरुलाई, खासगरी कमजोर मानिएकालाई विश्वास गर्नु हो । उनीहरूको खोजी गर्नु र उनीहरूको अनुभवलाई स्थान दिनु उनीहरूप्रतिको प्रेम हो । यो मानवता र विश्व दुवैको प्रेम पनि हो । यो नम्रताको काम पनि हो । कसैले अरू सबैजनाभन्दा आफू राम्रो जानकार भन्ने विचार गर्छ भने उनी संवाद गर्न सक्दैनन् वा उनी गहिरो विचारको आशा गर्दैनन् । आफूले थाहा पाएभन्दा बढी जान्ने अभिलाशा दुवै पक्षमा हुन्छ भने संवादले काम गर्छ । संवाद विश्वासको काम पनि हो । दुवै पक्षको चेतना र कामको माध्यमबाट विश्वासको वातावरण बन्छ । मानिसले भनेअनुसार गर्दा विश्वासको वातावरण बन्छ । असल संवादमा आशा महत्र्वपूर्ण कुरा हो । आशाहिनताको अवस्थामा संवाद हुनसक्दैन । आशाहिनताले मौनता ल्याउँछ । चाख भएका विषय वा विद्यार्थीको जीवनमा प्रभाव पार्ने खालका विषयमा शिक्षकले प्रस्तुति राख्ने बेला विद्यार्थी खुशी हुन्छन् । त्यस्तो अवस्थामा विद्यार्थीले संसार बदल्न सक्ने अनुभव गर्छन् ।
उत्पीडित जनताबीच काम गर्दा शिक्षक र राजनीतिज्ञहरूले जनताले बुझ्ने भाषाको प्रयोग गर्नुपर्छ, अन्यथा जनता ‘विमुख’ (एलिएनेटेड) हुन्छन् । तिनीहरूले उत्पीडित जनताले राखेका ‘समस्याहरू’ मा छलफल गर्नुपर्छ र शिक्षकहरूले उत्पीडित जनतामा देखेका सस्याहरूबारे । ‘उत्पादनशील विचार’ को माध्यमबाट मानिस आफ्ना कामहरूबारे आफ्नो परिवेशअनुसारको आफ्नै विश्लेषण गर्नसक्छन् । यो क्षमताले मानवलाई जनावरभन्दा फरक छुट्याउँछ । जनावर कुनै विश्लेषण नगरीमात्र बाँच्छ । जनावरलाई भूत र भविष्यको मतलव हुन्न । यसको विपरीत मानिस शारीरिक एवम् ऐतिहासिकरूपमा बाँचेको हुन्छ । मानिस इतिहासमा आफ्नो ठाउँ खोज्छ र भविष्य बदल्ने अवसर खोज्छ । मानिससँग भौतिक वस्तु, प्रणाली र विचारमा सृजनशिल परिवर्तन ल्याउन सक्छन्, जनावर त्यसो गर्न सक्दैन ।
इतिहासलाई विभिन्न युग (इपोक्स) मा बाँड्न सकिन्छ । हरेक समयावधिमा विशेष ‘विचार र समाधानका उपाय’ (थिम) आउँछन् । हरेक थिममा भूत, वर्तमान र भविष्य हुन्छ । त्यसैले एउटा थिम एउटा समयावधिमा मात्र लागू हुन्न । हरेक थिम विगतको परिणाम हो र भविष्यमा यसको प्रभाव पनि हुन्छ । उत्पीडित जनताले समस्याहरू (थिमहरू) कसरी बन्छन् अथवा अझ राम्रो भविष्यको निम्ति आफ्नो परिवेश कसरी परिवर्तन गर्न सकिन्छ भन्ने थाहा पाउन्नन् । उत्पीडितको अज्ञानताबाट फाइदा लिने उत्पीडकहरूले उनीहरूलाई सचेत बनाउने काम मुश्किलैले गर्छन् । शिक्षाले ‘विषयगत अनुसन्धान’ अथवा एक विशेष विषयमा छलफल गर्न मद्दत गर्छ । उत्पीडित विद्यार्थीहरूलाई शिक्षकले त्यही थिमबारे प्रस्ट पार्न सक्छन् । विद्यार्थीले उत्पीडनको चित्रलाई ‘सरल भाषामा रूपान्तरण’ (डिकोड) गरी आफ्नो परिवेशलाई अझ राम्ररी बुझ्छन् । शिक्षक थिममा शिक्षा दिन्छन् र विद्यार्थी ‘सहअनुसन्धानकर्ता’ हुन्छन् । विद्यार्थीले आफ्नो यथार्थ बुझ्छन् र संसारलाई बदल्छन् । छलफलको क्रममा शिक्षकले विद्यार्थीलाई स्वतन्त्र चिन्तन गर्न र ‘समग्र सत्य’ (कम्प्लिट ट्रुथ) बुझ्न रोक्नु हुन्न ।
पाठ ४ को सार
संस्कृति र समाजमा परिवर्तन ल्याउन ‘विचार र काम’ (प्राक्सिस) को आवश्यकतामा छ र प्राक्सिसको निम्ति सिद्धान्त (आलोचनात्मक पद्धतिको) चाहिन्छ । क्रान्तिकारी नेताहरू र पीडित जनता दुवैले स्वतन्त्रताको सङ्घर्षमा प्राक्सिसलाई प्रयोग गर्नुपर्छ, किनभने नेताहरूले आफ्नो विचार पीडित जनतालाई मात्र थोपर्न सक्छन् । अन्यथा, सङ्घर्ष खोक्रो हुन्छ । ‘जनताको निम्ति क्रान्ति’ भन्नु ‘जनता विनाको क्रान्ति’ पनि हुनजान्छ । उत्पीडित जनतासँग संवाद नगर्ने नेताहरू या ‘पूर्णतः भ्रममा’ हुन्छन् या उनीहरू ‘हस्तक्षपकर्ता’ हुन्छन् । क्रान्तिको प्रभावकारी साँचो नै ‘संवाद’ (डायलग) हो ।
नेताहरूले जनतामाथि विश्वास गर्न सकेनन् भने क्रान्ति सम्भव छैन । उत्पीडित जनतालाई संवादमा ल्याउनुपर्छ । धेरै ‘माथिबाट लाद्ने सम्भ्रान्तहरू’ (डोमिनेटिङ एलिट्स) जनतासँग कुराकानी गर्न चाहन्नन् किनभने उनीहरूमा जनतामाथिको आफ्नो नियन्त्रण गुम्ने डर हुन्छ । नियन्त्रणकारी सम्भ्रान्तहरू जनताले आफ्नोबारे सोचेको चाहन्नन् । उत्पीडनकारी शक्ति र क्रान्तिकारी शक्तिमा फरक छ । क्रान्तिकारी नेताहरू मानवताको स्वतन्त्रताको निम्ति उत्साहित हुन्छन् भने उत्पीडनकारीहरू मानवताको दमनमा उत्साहित हुन्छन् ।
क्रान्तिको बाटो पूर्णतः शैक्षिक विशेषताको हुन्छ र त्यहीअनुसारको शिक्षण विधि हुनुपर्छ । उनी उत्पीडकहरूले प्रयोग गर्ने संवादविरुद्धका साधनहरूको प्रयोग गर्छन् र क्रान्तिकारीहरूले त्यसलाई जित्न संवादका साधन प्रयोग गर्छन् ।
उत्पीडकहरूले प्रयोग गर्ने ‘गैरसंवाद’ (एन्टिडायलोजिकल) का हतियार निम्न छन् ः
जीत (कन्क्वेष्ट) ः उत्पीडकहरू अरुमाथि विजय खोज्छन् अथवा नियन्त्रण गर्न खोज्छन् । स्वतन्त्र विचार र संवादबाट जनतालाई वञ्चित गर्नु नै उनीहरूको जीतको पहिलो पाइला हो । यसको निम्ति उत्पीडकहरू संसारलाई कुनै ‘दिन्त्य कथा’ (मिथ) मा परिणत गर्छन् र ‘प्रोपागाण्डा’
(प्रचारबाजी) र नाराहरूको माध्यमबाट गलत तथ्यहरू राख्छन् । यस्ता किस्साको सुचि नै प्रस्तुत गर्छन्, त्यसमध्ये ‘सबैको निम्ति शिक्षाको अधिकार’, ‘सबै व्यक्तिको समानता’ र ‘सम्भ्रान्तहरूको दान र उदारता’ ।
फूट गर र शासन गर (डिभाइड एण्ड रुल) ः जव अल्पमत समूह शक्तिमा हुन्छ, त्यसले धेरैजसो बहुमतबीच फूट ल्याउँछ र एकअर्कोबीच लडाईं गराउँछ । उनीहरूको एउटै सोच हुन्छ, आफूविरुद्ध बहुमत जनता एकजूट नहोऊन् । अल्पमतले बहुमतबीच फूट ल्याउन कुनै पनि उपाय प्रयोग गर्छ, यहाँसम्म कि उनीहरू हिँसा गर्न पनि पछि हट्दैनन् । विभाजनको एक व्यापक अभ्यासमा ‘समस्यालाई अलगअलग तरिकाले हेर्ने’ (फोकलाइज्ड भिउज) पर्दछ । नेताहरूले एक ठूलो क्षेत्रलाई ‘स्थानीय समुदायहरूमा’ विभाजन गर्छ र हरेक समुदायको ध्यान आफैमा केन्द्रित गराउँछन् । सतहबाट हेर्दा यसले समुदायलाई सबलिकरण गर्न सहयोग गर्छ तर खासमा यसले समाजका साना समुदायहरूलाई एक्ल्याउँछ । उनीहरूले गर्ने ‘नेतृत्व तालिम’ लाई पनि त्यही नजरले हेर्न सकिन्छ । यसले पूरै समाजको सफलताभन्दा पनि व्यक्तिको सफलतालाई उत्साहित गर्छ । नेताहरू तालिम लिइसकेपछि समुदायमा फर्कन्छन्, तर तिनीहरू समुदायलाई स्वतन्त्र पार्न भन्दा पनि तिनीहरूमाथि नियन्त्रण गर्न थाल्छन् ।
छलकपट (म्यानुपुलेसन) ः उत्पीडित जनतामाथि विजय पाएपछि छलकपट सुरु हुन्छ र ‘प्रभुत्वशाली सम्भ्रान्त’ ले आफ्नो पूर्ण नियन्त्रण कायम नभएसम्म यो निरन्तर जारी राख्छ । साधारणतया, उत्पीडित जनताले ‘प्रचारबाजी’ (प्रोपागाण्डा) र अन्य तरिकाबाट उनीहरूमाथि छलकपट भइरहेको थाहा पाउँदैनन् । पुँजीपतिहरू (प्रभुत्वशाली सम्भ्रान्तको अर्को नाम) साँचो संवाद गर्दैनन् किनभने उनीहरूमा प्रभुत्व गुम्ने डर हुन्छ । त्यसैले, ‘वर्ग चेतना’ को विकास नहोस् भनी भौतिक हिंसालगायत गर्न सक्ने कुनै पनि उपाय बाँकी राख्दैनन् ।
सांस्कृतिक अतिक्रमण (कल्चरल इन्भेजन) ः गैरसंवादको अन्तिम हतियार सांस्कृतिक अतिक्रमण हो । यसमा उत्पीडकहरू उत्पीडितको संस्कृतिभित्र पस्छन् र उनीहरू ‘सहयोगी मित्र’ भएको बहाना गर्छन् र उत्पीडित जनताको विचारलाई बदल्छन् । उत्पीडित जनतालाई उनीहरूको संस्कृतिबाट अलग गरी उत्पीडकहरूले आफ्ना सांस्कृतिक अभ्यासहरूलाई उत्कृष्ट भएको देखाउँछन् । उत्पीडित जनता उत्पीडकजस्तै हिँड्न, कपडा लाउन र बोल्न चाहना राख्न थाल्छन् । सांस्कृतिक अतिक्रमण कक्षा कोठा र घरमा देखिन थाल्छ र केटाकेटीलाई आफ्नो विचारअनुसार नभई आफ्ना अधिकारीले भनेअनुसार गर्न सुुझाव दिन थालिन्छ । केटाकेटी हुर्किएपछि झन् यो विचारलाई बढावा दिइन्छ । यससँग सामना गर्न क्रान्तिकारी नेताहरूले ‘संवादको सांस्कृतिक काम’ को माध्यमबाट समाजलाई रूपान्तरण गर्न अह्वान गर्नुपर्छ । आधुनिकीकरण धेरैजसो बाहिरबाट आउँछ तर विकास भित्रैबाट आउँछ ।
उत्पीडकहरूको गैरसंवादका ‘माध्यमहरू’ (मिन्ज) माथि विजय पाउन क्रान्तिकारी नेताहरूको लागि तल उल्लिखित माध्यमहरू अपनाउनु उपयुक्त हुन्छ ।
सहकार्य (कोअपरेसन) ः संवादका कार्यमा सहभागीले आफ्ना समस्याहरू पत्ता लगाउन बैठक बस्छन् र व्यावहारिक समाधान निकाल्छन् । काममा एउटा समूह बढ्दा प्रभावशाली हुन्न, सबैजना साथै काम गर्छन् । यसको अर्थ नेता चाहिन्न भन्ने होइन । नेताहरूले जनतालाई आफ्नो सम्पत्ती ठान्दैनन् र उनीहरू ‘आफ्नो स्वार्थको निम्ति जनतालाई अन्धसमर्थक बनाउन्नन्’ । साँचो सहकार्य राख्न क्रान्तिकारी नेताहरूले उत्पीडित जनताको विश्वास जित्नैपर्छ । विश्वास जित्न क्रान्तिकारी नेताहरूले उत्पीडित जनताको क्षमतामा इमानदारीसाथ विश्वास गर्नुपर्छ । जनताको विश्वास गर्ने क्रममा क्रान्तिकारी नेताहरूले जनतासँग घुल्नुपर्छ, नेताहरूको समाजको एक अङ्ग बन्नुपर्छ ।
स्वतन्त्रताको निम्ति एकता (युनिटि फर लिवरेसन) ः प्रभावशाली संभ्रान्तहरूले उत्पीडित जनतामा फूट ल्याउने प्रयाश गर्दा क्रान्तिकारी नेताहरूले तिनीहरूलाई एकजूट गर्नुपर्छ । यो कठिन छ किनभने ‘व्यवहाराबाट हुने प्रभाव’ (प्राक्सिस) विना एकता कायम हुन्न । जनतामा फूट ल्याउनुभन्दा एकता स्थापना गर्नु गा¥हो हुन्छ । जनता एकत्रित भएर उत्पीडित वर्गको हिस्सा बन्नुभन्दा अगाडि तिनीहरूले आफूलाई चिन्नुपर्छ, तर उत्पीडकहरूका दुष्प्रचार भएको समाजमा त्यो कठिन पक्ष हो ।
सङ्गठन (अर्गनाजेसन) ः क्रान्तिकारी नेताहरूले उत्पीडित जनताबीच एकता स्थापित गर्ने सफलता पाएपछि तिनीहरू अरु विशाल समूहलाई आफ्नो परिस्थिति बदल्न सङ्गठित गर्न सफल हुन्छन् । यसो गर्न नेताहरूले ‘स्वतन्त्रताको निम्ति सङ्घर्ष गर्नु सामान्य काम’ भएको जनतामा ‘साक्षी’ भई प्रस्तुत हुनुपर्छ । नेताहरूसँग सङ्घर्षको ऐतिहासिक परिवेश, जनताका दृष्टिकोणहरू र समाजको मुख्य अन्तरविरोधहरूबारे गम्भीर बुझाइ अनिवार्य छ । जनताको वास्तविकतामा रूपान्तरण गरी समाजमा परिवर्तन ल्याउन क्रान्तिकारी नेताहरूले जनतासँग काम गर्दा साँचो सङ्गठन बन्छ ।
सांस्कृतिक संश्लेषण (कल्चरल सिन्थेसिस) ः सांस्कृति संश्लेषण सांस्कृतिक अतिक्रमणको ठ्याक्कैविपरीत हो । सांस्कृतिक अतिक्रमणले जनतामा फूट ल्याउने काम गर्छ भने संस्कृतिक संश्लेषणले तिनीहरूलाई पुनः एकजूट बनाउँछ । यसले विभिन्न सांस्कृतिहरूका समानतालाई चिनेर तिनीहरूलाई एक पार्ने प्रयाश गर्छ । यसले विभिन्न संस्कृतिबाट सिक्न उत्साहित गर्छ र विभिन्न संस्कृतिका जनतालाई सिकाउँदैन । उच्च पारिश्रमिकको माग गर्ने मजदुरहरूको उदाहरण दिन सकिन्छ । क्रान्तिकारी नेताहरू उनीहरूको सङ्घर्षमा सामेल भएर पुग्दैन बल्कि तिनीहरूले कम पारिश्रमिक किन भएको भन्ने बुझ्न मजदुरहरूलाई सहयोग गर्नुपर्छ । त्यसो भएमा उत्पीडित जनताको वास्तविकतामा परिवर्तन ल्याउन न्यून पारिश्रमिक पाएका मजदुरहरूलाई सङ्घर्षमा समावेश गर्न सकिन्छ ।
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *