भर्खरै :

के आजको विश्वमा नाटोको आवश्यकता छ ?

हे चिकाओ
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को आवश्यकतामाथि फेरि पनि प्रश्न उठिरहेको छ । जर्मनीको सङ्घीय संसद बुन्डेस्टेगका सदस्य अलेक्सान्द्र न्युले सत्तरी वर्ष पुरानो सैनिक गठबन्धन नाटो विघटनको प्रस्ताव गर्दै रुससहितको एउटा नयाँ सामूहिक सुरक्षा प्रणाली गठनको प्रस्ताव गरेका छन् । छलफलमा संरा अमेरिका र रुसप्रतिको धारणा भने फरक–फरक छन् ।
केही मानिसहरू अन्तरएन्टलान्टिक सम्बन्ध अझ सुदृढ गर्नुपर्ने पक्षमा छन् भने कोही विशेषतः ऊर्जा क्षेत्रमा रुससँग व्यापक सहकार्यको पक्षमा बोलिरहेका छन् । त्यसको अर्थ सुरक्षा मामिलामा संरा अमेरिका र जर्मनीबीच तथा संरा अमेरिका र युरोपबीचको प्रतिस्पर्धा अझै कम भएको छैन ।
नाटोलाई शीतयुद्धले जन्मायो । तर, शीतयुद्ध समाप्त भए पनि यसको अस्तित्व कायमै छ । बरु नाटोले परिवर्तित अन्तर्राष्ट्रिय परिस्थिति र शीतयुद्धको आरम्भमा उदाएको युरोपेली संरचनालाई सुहाउने गरी आफ्ना रणनीतिमा परिवर्तन ल्याएको छ । नाटो आज बलियोमात्र भएको छैन बरु त्यसको महत्व पनि बढ्दै छ । एक्काइसौं शताब्दीमा नाटोको अर्थ सामूहिक रक्षामा आधारित क्षेत्रीय सुरक्षा समुदायमात्र होइन । नाटो सुरक्षा मामिलाका साझा प्रयासलाई सहयोग गर्ने राजनीतिक सहकार्यको मूल्यमान्यतामा आधारित समुदाय पनि हो । तसर्थ नाटो भनेको त्यसका सदस्य देशहरूले आपसमा सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध मोर्चाबन्दीमात्र होइन, बरु संरा अमेरिकाले आफ्ना सबै सुरक्षा साझेदार देशको सुरक्षा गर्ने मोर्चा पनि हो । नाटोले एउटा अन्तर्राष्ट्रिय तह निर्माण गरेको छ जसको मूली वाशिङ्टन हो ।
संरा अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प आएदेखि संरा अमेरिका–युरोपबीचको सम्बन्धले नयाँ–नयाँ चुनौती सामना गरिरहेको छ । नाटो अन्तरएटलान्टिक सुरक्षा सहकार्यको आधार बनेको छ । तथापि ट्रम्पले नाटोको प्रभावकारितामाथि प्रश्न उठाउन भने छोडेका छैनन् । ट्रम्पले नाटोका सदस्य देशहरूलाई नाटोमा तिर्नुपर्ने दस्तुर नतिरेको र समयमै क्षेत्रीय सुरक्षाका विषय तथा आतङ्कवादको प्रतिकार नगरेको आरोप लगाएका छन् ।
दोस्रो विश्वयुद्धपश्चात् नाटोकै कारण युरोपको सुरक्षा बन्दोबस्त लाभान्वित भयो । यदि संरा अमेरिका–युरोपेली सुरक्षा मोर्चालाई ट्रम्पले लत्याउने हो भने नाटोको सामूहिक सुरक्षा संयन्त्रले आफ्नो उपादेयता गुमाउनेछ । एटलान्टिक समुद्रको दुई किनाराको सुरक्षा सम्बन्ध गतिरोध हुनेछ । कथित रुसी रणनीतिक दबाब सामना गर्न युरोपले आफ्नो रक्षा अवस्थालाई बलियो बनाउन खोज्नेछ ।
आफ्नो सुरक्षाको लागि युरोपले आफूमै निर्भर रहनुपर्छ । युरोपले आफ्नो रणनीतिक स्वायत्तता बलियो बनाउनुपर्छ । अनि संरा अमेरिकी मोर्चामाथि पूर्ण अधीनताबाट युरोप मुक्त हुनुपर्छ । मध्यम दूरीको आणविक शक्ति सन्धि र इरान आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिकेको अवस्थामा आफ्नो महादेशको सुरक्षा अवस्थाप्रति युरोपको सजगताले सुरक्षाको विषयमा युरोपेली एकतालाई अझ बलियो बनाउन सहयोग गर्नेछ । विशेषतः युरोपले अर्को कुनै बाह्य सुरक्षा सहयोद्धा देश नभेटाइसकेको अवस्थामा युरोपेली एकता अझ बलियो हुनेछ ।
नाटोमा हालै सदस्य बनेको पोल्यान्ड र नाटोको सदस्यता लिन चाहेका अरु देशहरूका लागि नाटो युरोपेली सामूहिक सुरक्षा व्यवस्थाको हिस्सा बन्ने मौका भएको छ । उनीहरूले यो सङ्गठनमा सदस्य बन्न चाहेका छन् । तर, यसले युरोपको सुरक्षा एकतालाई भने कमजोर बनाउनेछ ।
यस्तो परिस्थितिमा फ्रान्स र जर्मनीबीचको एकता बलियो भए उनीहरूले युरोपको नेतृत्व गर्नेछन् । “फ्रान्सको नेतृत्वमा युरोपेली सङ्घले युरोपेली सेना बनाइरहेको छ ।”, परराष्ट्र सम्बन्धबारे युरोपेली परिषद्को प्रतिवेदनमा उल्लेख छ । त्यो सेनाले संसारलाई “बलियो युरोेपले मात्र आफूलाई रक्षा गर्नसक्छ” भन्ने कुरा देखाउनेछ । नाटोमाथि एकपछि अर्को प्रश्न उठिरहेको र राजनीतिक लोकप्रियतावाद (पपुलिज्म) ले युरोपको सुरक्षालाई चुनौती दिइरहेको छ । यस्तो अवस्थामा युरोपले सुरक्षा सङ्कट सामना गर्ने सम्भावना प्रबल हुन्छ ।
संरा अमेरिकाको लागि नाटोले आफ्नो साझेदारीको अवधारणामा परिवर्तन गर्न आवश्यक छ । संरा अमेरिका नाटोलाई अन्तरएटलान्टिक मोर्चाभन्दा पनि विस्तार गर्न चाहन्छ । साथै ऊ नाटोलाई आफ्नो विश्वव्यापी सुरक्षा सञ्जालको हिस्सा बनाउन चाहन्छ ।
वाशिङ्टनले पूर्वी एसियामा आफ्नो ध्यान केन्द्रित गरिरहेको समयमा युरोपेली सङ्घले भने आफ्नै सुरक्षा शक्ति निर्माणमा जोड दिइरहेको छ । विश्वव्यापी सुरक्षा र क्षेत्रीय सुरक्षाले नयाँ–नयाँ चुनौती सामना गरिरहेको अवस्थामा उनीहरूले आफ्नै सामूहिक सुरक्षा प्रबन्ध गर्नसक्छन् । तथापि संरा अमेरिका र युरोपेली सङ्घले आफ्नो अलग अलग विश्वव्यापी रणनीतिक बोकेर अघि बढ्ने देखिन्छ ।
(लेखक चाइना एकेडेमी अफ सोसियल साइन्सअन्तर्गत युरोपेली अध्ययन प्रतिष्ठानका अध्येता हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *