भर्खरै :

प्रम ओली असहिष्णु र अप्रजातान्त्रिक

–सुरज सिंह
बुटवलमा शनिबार एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाए । प्रधानमन्त्री ओलीले जितगढी उत्सवको समारोहलाई सम्बोधन गरिरहेकै बेलामा अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका थिए । प्रधानमन्त्रीभन्दा अगाडिपट्टि रहेको दर्शकदीर्घाबाट पत्रकारहरूले तस्बिर र भिडियो खिचिरहेको क्षेत्रनजिक आएर उनले कालोझण्डा देखाएका थिए । ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै उनले झण्डा देखाएका थिए ।
सुरुमा त उनलाई प्रहरीले अलमल भएर नियन्त्रणमा लिएनन् । प्रधानमन्त्री ओलीले ‘ऊ कालो झण्डा देखाइरहेका छन्, तपाइँहरूले के हेरिरहनुभएको छ ?’ भनेपछि मात्रै प्रहरीले ती युवालाई नियन्त्रणमा लियो । प्रहरीले नियनत्रणमा लिएपछि ती युवालाई प्रहरीले क–कस्तो व्यवहार ग¥यो र के–कस्तो मुद्दा चलाउने तयारी गर्ला वा त्यसै छाड्ला !? त्यो त हेर्नै बाँकी छ । तर एउटा प्रश्न भन्ने नेपाली जनमानसमा तड्कारो उठेको छ – कालो झण्डा पनि देखाउन नपाइने कस्तो लोकतन्त्र हो ? लोकतन्त्रमा सरकारको नीति निर्णयप्रति असहमतहरूले विरोध र आलोचना गर्न पाइन्छ । त्यसको लागि कसैले पनि कुनै प्रकारको कानुनी कारबाहीको भागीदार हुनुपर्दैन । तर दुईतिहाइ बहुमतको दम्भ बोकेका प्रधानमन्त्री ओलीलाई भन्ने अहिले आफू लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री हुँ, मेरो विपक्षमा पनि जनता छन् भन्ने हेक्का छ जस्तो लाग्दैन ।
नत्र ‘ऊ कालो झण्डा देखाइरहेका छन्, तपाइँहरूले के हेरिरहनुभएको छ ?’ भन्ने शब्दावली मुखमा आउने नै थिएन । यसले प्रम ओलीमा रहेको असहिष्णु र अप्रजातान्त्रिक चरित्रलाई सतहमा ल्याइदिएको छ । ओली सरकारले जुन किसिमले भारतसामु झुकेर जन्मसिद्ध नागरिकता, जन्मसिद्ध नागरिकता लिएकाका सन्तानलाई वंशजको नागरिकता र भारतीय लगानीलाई सहुलियतसहित स्वागतलगायतका निर्णय गरेको छ, त्यसआधारमा प्रम ओलीलाई जीतगढीमा जाने र वीर उजिरसिंह थापालगायतको शालिकमा माल्यार्पण गर्ने नैतिक अधिकार भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *