भर्खरै :

चाकडीबाजहरू

राणाशासनमा राणाको दरबारमा चाकडी जाने चाकडीबाजहरू राणाजीको नजरमा आफ्नो काया देखाउन प्रतिस्पर्धा गर्थे । खेतमा पसिना चुहाउनु र गाई भैंसी दुहुनुभन्दा राणाको चाकडी गर्नुमा गुण देख्ने चाकडीबाजहरू राणाकै निगाहमा केही हात पार्थे र अरू मिहिनेती किसान र भूदासमाथि दमन गर्थे । राणाशासनको घाम डुब्ने बेलामा तिनै चाकडीबाजहरू काङ्ग्रेसको दैलोभित्र पसे, अनि प्रजातान्त्रिक समाजवादी बने । तर, उनीहरूको पुस्तौनी चाकडबाजी फेरिएन । राणाको दरबारमा चाकडी जानेहरू वीपी, गणेशमान, सुवर्णका दैलोमा जान थाले । तिनकै आशीर्वचन सुनेर आफ्नो चुल्हो बाल्ने उपकर्म जारी राखे ।
पञ्चायती व्यवस्थामा यिनीहरू खाँती पञ्च बने । राजाभन्दा राजावादी बने । राजाको सवारी चल्दा राजाले पाइला टेकेको माटो खोस्रेर खोपीमा पूजाआजा गरे । राजाको नाममा बर्कोबाट रसाएको तेलले भान्छा चलाए ।
लोकतन्त्र आयो । राजा गए । नयाँ राजाहरू सत्तासीन भए । चाकडीबाजहरूले आफ्नो रूप फेरे । राजाको तस्वीर झुण्ड्याएको फ्रेममा नेताका तस्वीर घुसारे । राजावादीबाट लोकतन्त्रवादी भए । चाकडी अब नयाँ नयाँ दरबारमा स¥यो । नेतालाई खुसी बनाएर दुनो सोभ्mयाउने काम छोडेनन् । ‘कम्युनिष्ट’ नामको पार्टी सत्तासीन भयो । हिजो राजा र राणाअघि स्वस्ति गर्ने हातहरू लालसलाम गर्न अभ्यस्त भए । उनीहरू पनि ‘कम्युनिष्ट’ भए ।
समाजमा एकथरी मानिस छन् जो सधैं सत्ताको नजिक हुन मनपराउँछन् । पुस्तौँ पुस्तादेखि यही काम गर्दै आएको यो वर्ग सत्तासीनको अघि पुसको छाउरोजस्तै डल्लो पर्छ, सर्वसाधारण जनतासामु उन्मत्त साँढेजस्तो हुँकार गर्छ । सत्तामा जो पुग्छ, यो वर्ग गुलियोतिर कमिला ओइरिएजस्तै त्यतै ओइरिन्छ । कुनै निश्चित विचार नहुनु नै यो वर्गको विचार बनेको हुन्छ । विचार र सिद्धान्त भन्ने चिज उनीहरूलाई मनपर्दैन । कतिबेला उनीहरू आफै विचारवान भएर एउटै विचारको पछि लाग्नुलाई ‘साँघुरो विचार’ भनिदिन्छन् ।
विरोधाभासको कुरा के हो भने जब शासकको सत्ता डगमगाउँछ, सबभन्दा पहिले डुङ्गा छोड्ने वर्ग यही हुन्छ । अझ आफू बसेको डुङ्गाका पार्टपुर्जा काट्न सबभन्दा अघि यही वर्ग अघि सर्छ ।
यो वर्गको मूल चरित्र भनेको जसरी हुन्छ, सत्ताको नजिक बसेर उत्पादनशील जनतालाई शोषणको दाम्लोले डो¥याइरहनु । विडम्बना ! आजसम्मका शासकहरू त्यो वर्गको जयजयकारमै हर्षविभोर हुने गरेका छन् । तिनकै ‘महाराजको लुगा क्या सुहाएको !’ ले गद्गद् छन् । यस्ता प्रवृत्तिकै कारण आफ्नो विचारमा खिया लाग्दै गरेको शासकले पत्तै पाउँदैनन् । आफ्नो सिँहासनमा खिया परेको हेक्कै राख्दैनन् ।
चाकडीमै रमाउने भएर संसारका धेरै शासकले धुरूधुरू रूँदै सत्ता त्याग्नुप¥यो । गुलियो भएरै मात्र कमिला आफ्नो छेउ लागेको कुरा नबुझ्दा तिनीहरू नाङ्गिएको इतिहासको पाठ हो ।
चाकडीबाजहरू सधैँ जित्दैनन् । दूरविन सरहको जनताको आँखाले तिनीहरूलाई नियालिरहेको हुन्छ । अवसरवादको मैनको पखेटा लगाएर सूर्य छुन गएका चाकडीबाजहरू ‘युकारस’जस्तै रसातलमा भासिने दिन धेरै टाढा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *