भर्खरै :

अक्टोबर समाजवादी क्रान्तिका नायक लेनिन

हरिबहादुर श्रेष्ठ
रुसमा भोल्गा भन्ने एउटा नदी छ । त्यस नदीको किनारमा सिम्बिस्र्क भन्ने एउटा सहर छ । पछि त्यस सहरको नाम उल्यानोबक्स राखियो । त्यस सहरमा १० अप्रिल सन् १८७० को दिन एक बालकको जन्म भयो । त्यस बालकको नाम भ्लादिमिर इलियच उल्यानोभ राखियो । भ्लादिमिर इलियच उल्यानोभले ठूलो भएपछि आफ्नो नाम ‘लेनिन’ राख्नुभयो ।
लेनिनको बाबुको नाम इल्या निकोलायभिच उल्यानोभ थियो । उहाँ एक शिक्षा निरीक्षक (स्कूल इक्स्पेक्टर) हुनुहुन्थ्यो । पछि उहाँ शिक्षा डाइरेक्टर हुनुभयो । उहाँकी आमा मारिया अलेक्जान्द्रभा एक डाक्टरकी छोरी हुनुहुन्थ्यो । उहाँ धेरै भाषा जान्नुहुन्थ्यो । केटाकेटीको शिक्षा–दीक्षामा उहाँ सा¥है ध्यान दिनुहुन्थ्यो ।
लेनिनका ६ दाजुभाइ र दिदीबहिनी थिए । अन्ना उहाँकी दिदी हुनुहुन्थ्यो । अलेक्सान्द्र उहाँका दाजु हुनुहुन्थ्यो । ओल्गा, दिमित्री र मारिया लेनिनका बहिनीहरू थिए । अलेक्सान्द्र क्रान्तिकारी विचारका थिए ।
५ वर्षको उमेरमै लेनिनले पढ्न सुरु गर्नुभयो । उहाँ सा¥है ध्यान दिएर पढ्नुहुन्थ्यो । ९ वर्षको उमेरमा उहाँ एक स्थानीय हाई स्कूलमा भर्ना हुनुभयो । उहाँ आफ्ना साथीहरूलाई पनि मद्दत गर्नुहुन्थ्यो । पौडी खेल्न, हिउँमा चिप्लेटी खेल्न र साथीहरूसँग टाढाटाढाका गाउँहरूमा घुम्न जान उहाँ सा¥है मन पराउनुहुन्थ्यो । डण्डीबियो र बुद्धिचाल पनि उहाँको मनपर्ने खेल थियो । उहाँ रुसका ठूल–ठूला लेखकहरूका किताब पढ्नुहुन्थ्यो । इतिहास, साहित्य र विदेशी भाषामा धेरै चाख राख्नुहुन्थ्यो । आफ्नो दाजुका क्रान्तिकारी र माक्र्सवादी किताब लिएर पढ्नुहुन्थ्यो । १६ वर्षको उमेरमै धर्ममाथि उहाँले विश्वास गर्न छोड्नुभयो ।
सन् १८८३ मा प्लेखानोभ भन्ने एक रुसी नेता थिए । उनले अरू साथीहरूसँग मिलेर स्विजरल्यान्ड भन्ने देशको एक मुख्य सहर जेनेभामा पहिलो रुसी माक्र्सवादी सङ्गठन बनाए । त्यस सङ्गठनको नाम ‘श्रममुक्ति’ थियो । त्यस सङ्गठनका सदस्यहरूले माक्र्स र एङ्गेल्सका किताबहरू रुसी भाषामा उल्था गर्थे र त्यसलाई गुप्तरूपले रुस पठाउने काम गर्थे ।
त्यसबेला रुसमा राजा जार अलेक्जेन्डर तृतीयले राज्य गथ्र्यो । ऊ जनतालाई सा¥है अत्याचार गथ्र्यो ।
रुसमा कल–कारखानाको विकास हुँदै थियो । त्यहाँका मजदुर र किसानहरूलाई सा¥है दुःख थियो । गरिब जनताको दुःखप्रति लेनिनको ध्यान गयो । उहाँ तिनीहरूलाई माया गर्नुहुन्थ्यो । त्यसबेला राजाको विरोधमा ‘जनताको इच्छा’ (नरोदनाया बोल्या) भन्ने एक गुप्त राजनैतिक सङ्गठन काम गर्दै थियो । लेनिनका दाजु अलेक्सान्द्र एक क्रान्तिकारी सङ्गठनमा काम गर्नुहुन्थ्यो । अलेक्सान्द्र त्यस क्रान्तिकारी सङ्गठनको सदस्य हुनुहुन्थ्यो । त्यस क्रान्तिकारी सङ्गठनले सन् १८८७ मार्च महिनामा पिटर्सवर्गमा राजा जार अलेक्जेन्डर तेस्रोलाई मार्ने योजना बनायो । त्यसै मुद्दामा लेनिनका दाजु समातिनुभयो र उहाँलाई फाँसीको सजाय भयो ।
दाजुको फाँसीको सजायले लेनिनको मनमा ठूलो चोट प¥यो । त्यसपछि उहाँले समाजवाद र माक्र्सवादको विषयमा गहिरो अध्ययन गर्नुभयो । अन्तमा उहाँ एक दुईजना मारेर क्रान्ति हुन्छ भन्ने बाटो खोटो छ भन्ने टुङ्गोमा पुग्नुभयो । उहाँले एकजना व्यक्ति मारेर समाजमा परिवर्तन आउँदैन भनी सोच्नुभयो । उहाँले देशका बहुमत जनता मजदुर र किसानहरूलाई उठाउनुपर्छ भन्ने बुझ्नुभयो । त्यसकारण उहाँले मजदुर र किसानहरूलाई उठाउने अठोट गर्नुभयो ।
सन् १८८७ डिसेम्बर महिनामा विश्वविद्यालयका विद्यार्थीहरूको एक बैठक भयो । त्यसमा लेनिनले पनि भाग लिनुभयो । त्यसबेला उहाँ १७ वर्षको मात्रै हुनुहुन्थ्यो ।
लेनिन एक गुप्त क्रान्तिकारी सङ्गठनको सदस्य बन्नुभयो । त्यो सङ्गठनले माक्र्स र एङ्गेल्सको शिक्षालाई मान्थ्यो । उहाँहरूको शिक्षालाई माक्र्सवाद भनियो । सर्वहारा वर्गले समाजवाद ल्याउन मजदुर–किसान एक हुनुपर्छ र सर्वहारा वर्गले क्रान्तिको नेतृत्व गर्नुपर्छ भन्ने कुरा उहाँले ठम्याउनुभयो । अन्तमा सर्वहारा वर्गले पुँजीपति वर्गलाई उल्टाउनेछ र राजसत्ता कब्जा गर्नेछ भन्ने कुरामा विश्वास गर्नुभयो ।
सन् १८८९ मई महिनामा लेनिनको परिवार काजानबाट समारामा स¥यो । लेनिनले त्यहाँ माक्र्सको ‘पुँजी’ भन्ने किताबको गहिरो अध्ययन गर्नुभयो । मजदुरहरूको माझमा माक्र्सवाद अध्ययन गोष्ठीहरू खोल्नुभयो र माक्र्सवादलाई प्रचार गर्न उहाँ गाउँमा किसानहरूको घर–घरमा पुग्नुभयो । किसानहरूको जीवनबारे उहाँ आफैले अनुभव गर्नुभयो । किसानहरूसँग बस्–उठ् गर्नुभयो र तिनीहरूको अवस्थाबारे गहिरो अध्ययन गर्नुभयो । ‘किसानको जीवनमा नयाँ आर्थिक आन्दोलन’ भन्ने लेख पनि लेख्नुभयो । त्यस लेखमार्फत उहाँले गरिब किसान, मध्यम किसान र धनी किसानको वर्ग भेदलाई छुट्याउनुभयो ।
रुसमा पिटर्सवर्ग भन्ने एक सहर छ । त्यो एक ठूलो औद्योगिक सहर थियो । त्यहाँ धेरै मजदुरहरू कारखानामा काम गर्दथे । त्यहाँ मजदुरहरूको सामूहिक अध्ययन गोष्ठीहरू थिए । सन् १८९३ तिर लेनिन त्यहाँ पुग्नुभयो र ती अध्ययन गोष्ठीहरूसँग सम्बन्ध राख्नुभयो । ती गोष्ठीहरूमा हाँस–खेल, गीत गाउने आदि कार्यक्रम पनि हुन्थ्यो । त्यसको मुख्य उद्देश्य सरकारी गुप्ती वा जासुसको आँखा छल्नु थियो । वास्तवमा ती गोष्ठीको मुख्य उद्देश्य नै पुँजीपति र जमिनदारवर्गको विरोधमा लड्नु थियो ।
लेनिनले मजदुर वर्गको समस्यालाई लिएर लेखहरू लेख्नुभयो । मजदुरहरूको ऐन–कानुन अध्ययन गर्नुभयो र त्यसबारे पनि लेखहरू लेख्नुभयो । ती लेखहरूलाई उहाँले मजदुरहरूको माझमा पढेर सुनाउनुहुन्थ्यो र ती लेखहरूलाई मजदुरहरू धेरै मन पराउँथे । त्यसबेला लेनिनले ‘हामी जनताको साथी’ भन्ने एक लेख लेख्नुभयो । उहाँले माक्र्सवादी किताबहरू उल्था गर्नुभयो र त्यसलाई गोष्ठीमा सुनाउनुहुन्थ्यो । उहाँ मजदुरहरूसँगै बस्नुहुन्थ्यो । उहाँले ‘मजदुरहरूको हित’ भन्ने पत्रिका गुप्तरूपले चलाउनुभयो । यसरी उहाँले मजदुर सङ्गठनहरूमा राम्रो काम गर्दै जानुभयो । उहाँ मजदुरहरूको समस्यालाई लिएर पर्चा बाँड्ने काम गर्नुहुन्थ्यो । यसरी लेनिन पिटर्सवर्गको एक नेताको रूपमा चिनिनुभयो । मजदुरहरूको रात्री पाठशालामा क्रुप्सकाया नामकी एक शिक्षिका हुनुहुन्थ्यो । उहाँले लेनिनलाई धेरै सहयोग गर्नुहुन्थ्यो । बिस्तारै उहाँहरू आपसमा नजिकिँदै जानुभयो ।
सन् १८९५ तिर पिटर्सवर्गमा पुगनपुग २० वटा माक्र्सवादी अध्ययन गोष्ठीहरू भए । लेनिनले ती सबैलाई एक गरेर मुक्ति सङ्ग्राम सङ्घ बनाउनुभयो र एक क्रान्तिकारी मजदुर पार्टीको जग हाल्नुभयो । ती सङ्गठनहरूलाई उहाँले एक राजनैतिक आन्दोलनको रूपमा मोड्नुभयो र उहाँले पर्चा, अपील तथा पुस्तिकाहरू लेखेर मजदुरहरूको सङ्घर्षलाई अगाडि बढाउनुभयो ।
रुसको पूर्वी भागलाई साइबेरिया भनिन्छ । त्यो ठाउँमा सा¥है जाडो हुन्छ । ठूल–ठूला अपराधीहरूलाई कालापानी भनेर त्यहाँ पठाउने गरिन्थ्यो । लेनिनको क्रान्तिकारी गतिविधि बढ्दै गयो । यसकारण सन् १८९५ डिसेम्बर महिनामा उहाँ पक्रिनुभयो र जेलमा राखिनुभयो । जेलबाटै उहाँले सङ्गठनहरूलाई निर्देशन दिइरहनुभयो तथा ‘हडतालहरूमा’ र ‘जार सरकारको नाममा’ भन्ने पुस्तिका एवम् पर्चा लेखेर पठाउनुभयो । उहाँले दूध र नदेखिने मसीले चिट्ठीहरू लेख्दै पठाउनुहुन्थ्यो । १३ फेब्रुअरी सन् १८९७ मा उहाँलाई ३ वर्षको निम्ति कालापानीको सजाय भयो । साइबेरियामा उहाँले किसानहरूलाई कानुनी सहयोग गर्नुुभयो । हरेक आइतबारको दिन उहाँले गरिब किसानहरूको मुद्दा मामिलामा सल्लाह दिनुहुन्थ्यो । उहाँले साइबेरियाका गाउँहरूको राम्रो अध्ययन गर्नुभयो र उहाँको निःस्वार्थ सेवाले गर्दा गरिब किसानहरू उहाँदेखि सा¥है प्रभावित भए ।
कालापानीको समयमा लेनिनले सङ्गठनसम्बन्धी योजनाहरू तयार गर्नुभयो । साथै उहाँले ठाउँ ठाउँका मानिसहरूसित सम्बन्ध राख्दै जानुभयो । उहाँले गुप्त तरिकाले सङ्गठनको कामलाई अगाडि बढाउँदै लानुभयो । कामको समयमा रात–रातभर नसुती काम सिध्याउनुहुन्थ्यो । यसै समयमा उहाँको डेरामा पुलिसले खानतलासी लियो । तर, पुलिसले कुनै गैरकानुनी कागजपत्र फेला पार्न सकेन । काला–पानीको सजाय सकिएपछि लेनिन पिटर्सवर्गको नजिक पस्कोव सहरमा जानुभयो ।
पुलिसले उहाँको पिछा गर्दै गयो । कुनै पनि समयमा उहाँ पक्राउ पर्न सक्नुहुन्थ्यो । रुसभित्र बसेर उहाँलाई काम गर्नु असम्भवजस्तै भइसकेको थियो । यसकारण उहाँ विदेश जानुभयो ।
कालापानीमै रहँदा उहाँले एक पत्रिका निकाल्ने योजना बनाउनुभएको थियो । सन् १९०० डिसेम्बर महिनामा जर्मनीको लिपजिग भन्ने ठाउँबाट एक पत्रिका निकाल्नुभयो । त्यसको नाम ‘इस्क्रा’ अथवा ‘फिलिङ्गो’ राखियो । लेनिन त्यसको निमित्त लेख लेख्नुहुन्थ्यो र पछि उहाँ आफैले त्यसको सम्पादन पनि गर्नुभयो । उहाँ त्यस पत्रिकालाई लुकी–छिपी रुसमा पठाउनुहुन्थ्यो ।
सन् १९०२ मा उहाँले ‘के गर्ने ?’ शीर्षकमा किताब लेख्नुभयो । सन् १९०३ मा ‘गाउँका गरिबहरूसँग’ भन्ने किताब लेख्नुभयो । ती किताबहरूमा उहाँले सबैले बुझ्ने गरी समाजवादको विषयमा लेख्नुभएको थियो ।
पार्टीमा त्यसबेला मजदुर वर्गको आर्थिक हितलाई मात्र लिएर सङ्घर्ष गर्ने एक गुट थियो । मजदुरहरूले राज्यसत्ता कब्जा गर्नुपर्छ भन्ने पक्षमा तिनीहरू थिएनन् । यसकारण तिनीहरूलाई अर्थवादी भन्ने गरिन्थ्यो । तिनीहरू मजदुर वर्गको सङ्घर्षबाट आफै समाजवादी विचार आउँछ भन्ठान्थे । तिनीहरू क्रान्ति गर्नै मान्दैनथे । तिनीहरू पुँजीवाद नास हुन्न भन्ने विचार राख्थे ।
लेनिन र उहाँका साथीहरूले मजदुरहरूको सशस्त्र क्रान्ति र राज्यसत्ता कब्जा गर्ने कार्यक्रम अघि सार्नुभयो । किसान र मजदुर एकता एवम् विदेशका सर्वहारा वर्गसँग एक हुने नीति लिनुभयो । १७ जुलाई १९०३ मा सामाजिक जनवादी मजदुर पार्टीको बैठकमा यी दुई विचारको चर्का–चर्की प¥यो । बैठकमा बहुमत साथीहरू लेनिनको पक्षमा थिए । यसकारण त्यसबेलादेखि लेनिनको पक्षलाई बोल्शेविक (बहुमत) पार्टी र अर्को पक्षलाई मेन्शेविक (अल्पमत) पार्टी भनियो ।
सन् १९०४ जनवरीमा रुस र जापानको लडाइँ भयो । लडाइँमा रुस हार्दै गयो । जार सरकारले युद्धको खर्च सबै जनतासँग उठाउँथ्यो । त्यसले गर्दा जनता झन्झन् गरिब हुँदै गए र आर्थिक बोझले उकुस–मुकुस हुन थाले । कारखानाहरू बन्द हुन थाले, मजदुरहरूले काम पाएनन् र ज्याला कम हुन थाल्यो । किसानहरूसँग जग्गा थिएन । भूदास र बाँधाहरूलाई निकै काम गराइन्थ्यो । यस्तो अवस्थामा मजदुर र किसान आन्दोलन सुरु भयो । डिसेम्बर १९०४ मा बाकूमा तेल खानीका मजदुरहरूले हडताल गरे । हडतालमा तिनीहरूको जित भयो । ३ जनवरी १९०५ मा पिटर्सवर्गमा कारखानाहरूमा सबभन्दा ठूलो हडताल भयो ।
सरकारले पिटर्सवर्गमा ग्यापोन नामको पादरीको नेतृत्वमा एक मजदुर सङ्गठन बनाउन दिएको थियो । त्यसको नाम ‘रुसी मिल मजदुरहरूको सङ्घ’ थियो । पिटर्सवर्गका जिल्लाहरूमा त्यसको सङ्गठन थियो । ग्यापोनले एक जुलुस निकाल्ने योजना बनायो । त्यो सरकारसँग मिलेको थियो । बोल्शेविकहरूले त्यस योजनाको विरोध गरेका थिए । तर, मजदुरहरू अझ सचेत भइसकेका थिएनन् । ९ जनवरी १९०५ को दिन ग्यापोनको नेतृत्वमा एक जुलुस भयो । जुलुसमा मजदुरहरूले राजा जारको र धार्मिक तस्वीरहरू बोकेका थिए । सरकारले जुलुसमा गोली चलायो । त्यस गोली काण्डबाट एक हजार मानिस मरे तथा पाँच हजार घाइते भए । त्यसको विरोधमा मजदुरहरूले सारा कारखानाहरूमा हडताल गरे त्यसपछि मजदुरहरूले सशस्त्र सङ्घर्ष सुरु गरे । गाउँ – गाउँमा किसानहरूले सामन्त र जमिनदारहरूको विरोधमा विद्रोह गरे ।
लेनिनले आन्दोलनलाई विदेशमै बसेर निर्देशन दिनुभयो । आन्दोलनलाई अगाडि बढाउन पार्टीको तेस्रो महाधिवेशन बोलाउनुभयो । अप्रिल १९०५ मा लन्डनमा महाधिवेशन सुरु भयो । त्यस महाधिवेशन केन्द्रीय पार्टीको मुखपत्र ‘प्रोलेटरी’ (सर्वहारा) लेनिनकै सम्पादनमा चलाउने निर्णय ग¥यो । बोल्शेविक पार्टी रुसमा पुँजीवादी जनवादी क्रान्ति गर्न चाहन्थ्यो । क्रान्तिको लागि सर्वहारा वर्गको नेतृत्व आवश्यक थियो । सहर र गाउँका मजदुर र किसानहरू मिलेर गर्ने सङ्घर्षको आवश्यकता थियो । तर, मेन्शेविक पार्टी भने पुँजीपति वर्गको नेतृत्वमा क्रान्ति गर्न चाहन्थ्यो र सशस्त्र क्रान्ति तथा मजदुर किसान एकताको विरोध गथ्र्योे । मजदुरहरूले कारखाना, नगर र जिल्लामा मजदुर परिषद्हरू बनाउन थाले । त्यस परिषद्को निम्ति कारखाना, नगर र जिल्लाहरूबाट प्रतिनिधिहरू चुनेर पठाउन थालियो । त्यसले हडताल कहिले गर्ने, कहिले हडताल टुङ्ग्याउने र कारखाना मालिकहरूसँग के–के माग राख्ने आदि निर्णय गर्दथ्यो । त्यस परिषद्को नाम ‘सोभियत’ थियो । डिसेम्बर १९०५ मा सिपाहीहरूले विद्रोह गरे । बोल्शेविकहरूको नेतृत्वमा सबै कलकारखाना, तार–टेलिफोन, रेल, हुलाक सबै अड्डा– अदालत पनि बन्द भए । त्यस्तै विभिन्न जातिहरूले पनि स्वतन्त्रता आन्दोलन चलाउन थाले । सन् १९०७ सम्म सङ्घर्ष भइरह्यो । त्यसपछि क्रान्ति सेलायो र दबाइयो ।
सन् १९०८ मा लेनिन फेरि जेनेभा जानुभयो । त्यहाँ प्रोलेटारी (सर्वहारा) भन्ने पत्रिका निकाल्ने काममा लाग्नुभयो । त्यसबेला रुसमा जार सरकारले निर्दयी भएर मजदुर वर्गका प्रतिनिधिहरूलाई दबाउँदै थियो, हजारौँलाई जेलमा थुन्यो र हजारौँलाई ज्यान सजाय दियो । त्यस गा¥हो समयमा लेनिनले कानुनी तथा गैरकानुनी तरिकाबाट सङ्गठनलाई अगाडि बढाउनुभयो । लेनिनले स्पष्ट गरिदिनुभयो–“कानुनी सङ्घर्ष त्याग्नाले पार्टी एक्लो हुन्छ तथा पार्टी र जनताको सम्बन्ध चुँडिन्छ ।”
त्यसबेला कम्युनिस्टहरू कुनै पनि कानुनी सङ्घ संस्था र सङ्घर्षमा भाग लिन चाहँदैनथे । तिनीहरू त्यस्ता सबै कानुनी सङ्घर्षहरू त्याग्ने कुरामा बल दिन्थे । तिनीहरू त्यस्ता कामबाट बाहिर बस्न या बहिष्कार गर्न चाहन्थे । तिनीहरू कुराकानी भने माक्र्सवादको गर्थे तर त्यस सिद्धान्तलाई काममा कसरी लागू गर्नुपर्छ भन्ने कुरा जान्दैनथे । लेनिनले त्यस विचारलाई छ्याँस्नुभयो । उहाँले पार्टीको सङ्घर्षशीलतालाई चालू राख्नुभयो । त्यस सङ्घर्षको सिलसिलामा धेरै विरोधीहरू देखापरे । तर, पछि सबै आ–आफै सङ्घर्षबाट भागे ।
अर्को, त्यसैबेलादेखि मेन्शेविकहरू पार्टीलाई भङ्ग गर्ने वा विसर्जन गर्ने कुरा गर्थे । तिनीहरू वास्तवमा भगुवाहरू थिए । लेनिनले तिनीहरूलाई पनि उदाङ्ग्याइदिनुभयो र छ्याँस्नुभयो । सन् १९०९ मा प्रोलेटारी (सर्वहारा) पत्रिकाको सम्पादक मण्डलको सम्मेलन भयो । सम्मेलनले बाहिर बस्ने (बहिष्कारवादी) हरूलाई निन्दा ग¥यो र पार्टीलाई भङ्ग गर्ने (विसर्जनवादी) हरूलाई पार्टीबाटै निकालिदियो । सन् १९१० मा लेनिन स्वीडेनको राजधानी स्टकहोम जानुभयो र आमासँग भेट गर्नुभयो । त्यसबेला आमा ७५ वर्षकी हुनुहुन्थ्यो ।
सन् १९१० मा रुसका धेरै सहरमा बोल्शेविक पार्टीको नेतृत्वमा मजदुर आन्दोलनहरू सुरु भए । पिटर्सवर्ग, मस्को र अरू ठूल–ठूला सहरहरूका कारखानाहरू बन्द भए । त्यस क्रान्तिमा किसान, सेना र जल सेनाले पनि भाग लिए ।
लेनिन कार्यकर्ताको तालिमबारे धेरै ध्यान दिनुहुन्थ्यो । उहाँले सन् १९११ मा एक पार्टी स्कूल खोल्नुभयो । त्यस स्कूलमा टाढा–टाढाबाट कार्यकर्ताहरू आई तालिम लिन्थे । लेनिन कार्यकर्तालाई राजनीतिशास्त्र, अर्थशास्त्र र कृषि– क्रान्तिबारे तालिम दिनुहुन्थ्यो । उहाँको भाषा सबैले बुझ्ने खालको हुन्थ्यो ।
सन् १९१२ मा साइबेरियाको लीना सुन खानीका मजदुरहरूको एक हडताल सुरु भयो । त्यस आन्दोलनमा जार सरकारको पल्टनले गोली चलायो र ५०० मजदुरहरू मरे । त्यस हत्याकाण्डले देशभरका मजदुर एक भए । देशव्यापी हडताल र प्रदर्शन सुरु भयो । २२ अप्रिल १९१२ मा सर्वहारा वर्गको एक खबर– कागज पिटर्सवर्गबाट निस्क्यो । त्यसको नाम ‘प्राब्दा’ (सत्य) थियो । लेनिन पेरिसबाट पोेलेन्डको क्रेका ९अचभअयध० भन्ने ठाउँमा पुग्नुभयो । त्यो ठाउँ रुसी सिमानानजिकै थियो । लेनिन त्यहाँका किसानहरूसँग बस्नुभयो । उहाँले तिनीहरूको जीवनबारे अध्ययन गर्नुभयो । त्यसै ठाउँबाट लेनिनले ‘प्राब्दा’ को लागि लेख तथा निर्देशन पठाउनुभयो । उहाँले त्यस खबर – कागजको बढी ग्राहक बनाउन ध्यान दिनुभयो । लेनिन ‘प्राब्दा’ को माध्यमबाटै मजदुर वर्गलाई सर्वहारा अन्तर्राष्ट्रवाद र वर्गीय एकताको कुरो सिकाउन लाग्नुभयो । ‘प्राब्दा’ मजदुर वर्गको चन्दाबाट चलेको पत्रिका थियो । मजदुरहरू त्यो पत्रिका सा¥है मन पराउँथे । त्यस पत्रिकाले लाखौँ मजदुरहरूलाई शिक्षित र सङ्गठित ग¥यो । लेनिन चिनियाँ क्रान्ति र एसियाका अरू देशहरूको राष्ट्रिय वा जातीय स्वतन्त्रता आन्दोलनलाई धेरै महत्व दिनुहुन्थ्यो ।
सन् १९१२ मा जार सरकारले ड्यूमा (संसद्) को चुनाव घोषणा ग¥यो । बोल्शेविक पार्टीले चुनावमा भाग लिने निर्णय लियो । बोल्शेविक पार्टीको नारा थियो– ‘जनवादी प्रजातन्त्र ल्याउने, कामको समय आठ घण्टा गर्ने र जमिनदारको जमिन खोसी किसानलाई बाँड्ने ।’
सन् १९१४ मा रुसमा बोल्शेविक पार्टीको नेतृत्वमा मजदुर आन्दोलन सुरु भयो । त्यस आन्दोलनमा १५ लाख जति मजदुरहरूले भाग लिए । लेनिनले किसान र मजदुरहरूलाई सङ्घर्षको निम्ति तयार गर्नुभयो । उहाँले विसर्जनवादी तथा अवसरवादीहरूसँग कहिल्यै सम्झौता गर्नुभएन ।
त्यसैबेला साम्राज्यवादी युद्ध सुरु भयो । त्यस युद्धमा जर्मन, अष्ट्रिया र हंगेरी एकातिर थिए । बेलायत, फ्रान्स र रुस अर्कोतिर थिए । संयुक्त राज्य अमेरिकाले लडाइँको आगोमा घ्यू थपिरहेको थियो । पछि जापान र अरू देश पनि युद्धमा फसे । फ्रान्स, बेलायत, बेल्जियम र अरू मित्र राष्ट्रहरूको पुँजी रुसमा लगानी भइरहेको थियो । यस हिसाबले रुस एक अर्धउपनिवेश देश थियो । त्यसबेला केही कम्युनिस्टहरू आ–आफ्नो देशको पक्ष लिन्थे । तिनीहरू मुखले आफूलाई समाजवादी भन्थे र काममा भने आ–आफ्नै देशको साम्राज्यवादी नीतिको समर्थन गर्थे । तिनीहरू आँखा चिम्लेर (अन्धो बनेर) आफ्नो देशको थिचोमिचो नीतिको समर्थन गर्थे । लेनिनले तिनीहरूलाई अन्धो ‘राष्ट्रवादी’ भन्नुभयो । साम्राज्यवादी नीतिलाई समर्थन गर्ने समाजवादी भनाउँदाहरूलाई ‘सामाजिक साम्राज्यवादी’ भन्नुभयो ।
युद्धका बेलामा लेनिन स्विजरल्यान्डको पोरोनिन भन्ने ठाउँमा बस्नुहुन्थ्यो । लेनिनले साम्राज्यवादी युद्धको विरोध गर्नुभयो । साम्राज्यवादीहरू जनतालाई युद्धमा फसाउन चाहन्थे र सामाजिक साम्राज्यवादीहरू पुँजीपति वर्गको विरोधमा हुने वर्गसङ्घर्ष रोक्न चाहन्थे । त्यस्तै अन्धो राष्ट्रवादीहरू जनतालाई धोका दिन चाहन्थे ।
स्विजरल्यान्डमा बर्न भन्ने एउटा सहर छ । सन् १९१५ फेब्रुअरी महिनामा त्यहाँ विदेशका बोल्शेविक सङ्गठनहरूको एक सम्मेलन भयो । त्यस सम्मेलनमा लेनिनले युद्ध र पार्टी नीतिबारे प्रतिवेदन पेश गर्नुभयो । त्यसबेला लेनिनको आर्थिक अवस्था राम्रो थिएन । उहाँ धेरै साधारण जीवन बिताउनुहुन्थ्यो । उहाँको डेरा जुरिचमा एक सार्कीको घरमा थियो । घरपति राम्रो थियो । उहाँले साम्राज्यवादको विरोधमा ‘साम्राज्यवाद पुँजीवादको माथिल्लो अवस्था’ भन्ने किताब लेख्नुभयो । युद्धले गर्दा किसान र मजदुर वर्गमाथि आर्थिक बोझ बढ्दै थियो । गरिब जनतालाई हात–मुख जोर्न गा¥हो हुँदै गयो । रुस लडाइँ हार्दै थियो र आर्थिक कठिनाइ चर्किँदै गयो । देशमा अनिकाल भयो र शासन चलाउन गा¥हो भयो । सरकारदेखि जनतामा झन्–झन् असन्तोष बढ्दै गए, यसरी रुसी क्रान्तिको परिस्थिति तयार हुँदै गयो । त्यस्तै अवस्थामा बोल्शेविक पार्टीको नेतृत्वमा रुसी मजदुर आन्दोलन सुरु भयो । सन् १९१७ फेब्रुअरीमा पिटर्सवर्गका मजदुरहरूले युद्धको विरोधमा ठूलो र व्यापक हडताल गरे । हडतालीहरूले नारा लगाए–‘जारशाही मुर्दावाद’,‘युद्ध–मुर्दावाद’ र हामीलाई रोटी देऊ ¤’ बोल्शेविक पार्टीको केन्द्रीय समितिको ब्यूरोले एक घोषणापत्र निकाल्यो ‘जारशाही सरकारलाई उल्टाइदेऊ । अस्थायी सरकार बनाऊ ¤ जनवादी प्रजातन्त्रको स्थापना गर । जमिनदारको जमिन जफत गरी किसानलाई बाँड र युद्धलाई बन्द गर ।’ यसरी बोल्शेभिक पार्टीले जारशाहीको राज्यसत्ता उल्टाउन जनतालाई आह्वान ग¥यो । २७ फेब्रुअरी १९१७ मा सेनाले पिटर्सवर्ग (पेट्रोग्राड) मा मजदुरहरूलाई गोली हान्न अस्वीकार ग¥यो । ६० हजार सेना जनतासँग मिल्न गए । मजदुर र सिपाहीहरू एक भए, तिनीहरूले जार सरकारका मन्त्री र जर्नेलहरूलाई गिरफ्तार गर्न थाले । जेलमा थुनिएका क्रान्तिकारीहरूलाई जेलबाट छुटाए । पुलिस ठूल–ठूला भवनहरूबाट मेशिनगनले गोली बर्साउँदै थियो । तर, सेनाले तुरुन्तै तिनीहरूलाई हराइदियो । जनताले पेट्रोग्राड कब्जा गरे । पेट्रोग्राडको समाचार देशभरि फैलियो । रुसका अरू सहरहरूका सैनिकहरूले पनि त्यस सङ्घर्षको समर्थन गरे । त्यस सङ्घर्षले जार सरकारको गद्दी पल्टियो । रुसमा पुँजीवादी–जनवादी क्रान्तिको विजय भयो ।
क्रान्तिले देशको परिस्थितिलाई बदलिदियो । मजदुर र सैनिक प्रतिनिधिहरूको परिषद् बस्यो, त्यसलाई ‘सोभियत’ भनियो । त्यो एक ठूलो सफलता थियो । क्रान्तिपछि जनताले भाषण दिने, सभा–सङ्गठन गर्ने र राजनैतिक गतिविधि गर्ने स्वतन्त्रता पाए । तर, देशको हुकुम पुँजीवादी र स–साना पुँजीवादी पार्टीहरूको हातमा गयो । ती पार्टीहरूमध्ये एउटाको नाम हो ‘जन मुक्ति पार्टी’ त्यसलाई छोटकरीमा ‘कैडेट’ भनिन्थ्यो । त्यो पार्टी भूमिपति, बैङ्कपति र सम्पत्तिवालहरूको पार्टी थियो । क्रान्तिपछिको सरकारमा तिनीहरू (कैडेटहरू) पनि सामेल भए । यो पार्टी उदारवादी र सुधारवादी देखिए पनि क्रान्तिले सामाजिक र आर्थिक क्रान्तिको रूप लिँदै गएपछि त्यो पार्टी झन्–झन् रुढीवादी हुँदै गयो । ‘अक्टुवरवादी’ भन्ने पार्टी पनि राजावादी र रुढीवादी पार्टी थियो । कैडेट र अक्टुवरवादीहरूलाई नेपालको राप्रपासँग दाँज्न मिल्छ । तिनीहरू क्रान्तिलाई रोक्न चाहन्थे । तिनीहरूले जनताको क्रान्तिकारी भावनालाई दबाउने नीति लिए । कैडेट र अक्टुवरवादी भन्ने पुँजीवादी र प्रतिक्रियावादीहरूले किसान र मजदुरहरूलाई धोका दिन खोजे । त्यो सरकार मजदुर वर्ग र गरिब किसानको क्रान्तिकारी सरकार थिएन । त्यो एक पुँजीवादी अस्थायी सरकार थियो ।
फेब्रुअरी क्रान्तिको बेलामा लेनिन स्विजरल्यान्डमै हुनुहुन्थ्यो । क्रान्तिको सफलताको निम्ति उहाँले बोल्शेविक पार्टीलाई एक चिट्ठी लेख्नुभयो । लेनिनले चिट्ठीमा पुँजीपति वर्गको त्यस अस्थायी सरकारलाई विश्वास नगर्न भन्नुभयो । स्तालिन पनि त्यसबेला साइबेरियामा कालापानीको सजाय भोग्दै हुनुहुन्थ्यो ।
लेनिन आफ्नो देशमा फर्कन चाहनुहुन्थ्यो । रुसी मजदुर वर्ग उहाँकै बाटो हेरिरहेको थियो । अस्थायी सरकारले उहाँको स्वदेश फर्कने राहदानी रोक्न लगायो । तर, त्यो चाल सफल भएन ।
दश वर्षको लामो समयपछि ३ अप्रिल १९१७ को दिन लेनिन स्वदेश फर्कनुभयो । हजारौँ मजदुर, सैनिक र जल–सेनाले लेनिनको स्वागत गरे । लेनिनले समाजवादको स्थापनाको लागि सङ्घर्ष गर्न मजदुर, सेना तथा जल–सेनालाई आह्वान गर्नुभयो । ‘अस्थायी सरकारलाई कुनै मद्दत नदेऊ’ – लेनिनले आह्वान गर्नुभयो ।
४ अप्रिलको दिन बोल्शेविक पार्टीको सभा भयो । त्यस सभामा लेनिनले पुँजीवादी प्रजातान्त्रिक क्रान्तिमा हुकुम पुँजीपति वर्गको हातमा रहन्छ, समाजवादी क्रान्तिमा मजदुर वर्ग र गरिब किसान वर्गको हातमा सत्ता रहनेछ भन्नुभयो । पुँजीवादी प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा फेरिदिने बताउनुभयो । तर, मेन्शेविकहरू चाहिँ रुस समाजवादी क्रान्तिको निम्ति तयार भइनसकेको बताउँथे । तिनीहरू रुसमा पुँजीवादी प्रजातन्त्रमात्र सम्भव छ भन्थे । तर, बोल्शेविक पार्टीको सम्मेलनले निर्णय ग¥यो– “अस्थायी सरकार स्वभावैले जमिनदार र पुँजीपतिहरूको सञ्चालक समिति हो ।” लेनिनले बोल्शेविक पार्टीको नेतृत्वमा क्रान्ति अगाडि बढाउन पाइला चाल्नुभयो । सेनालाई शान्ति र किसानलाई जग्गा दिने मागलाई अगाडि बढाउनुभयो । जनतालाई रोटी र मजदुरहरूलाई बढी ज्याला दिलाउने सङ्घर्षलाई अगाडि बढाउनुभयो । १८ अप्रिलको दिन अस्थायी सरकारको विदेशमन्त्रीले युद्ध गरिरहने कुरो बतायो । २० र २१ अप्रिलको दिन मजदुरहरूले त्यसको विरोधमा ठूलो जुलुश प्रदर्शन गरे । सरकारले प्रदर्शनमाथि गोली चलाउन आदेश दियो । तर, सेनाले जनतामाथि गोली हान्न अस्वीकार ग¥यो । २४ अप्रिल १९१७ को दिन बोल्शेविक पार्टीको सातौँ सम्मेलन भयो ।
१८ जून १९१७ को दिन पेट्रोग्राडमा ४ लाख मजदुरहरूले अस्थायी सरकारको विरोधमा शहीद स्मारकमा जुलुश प्रदर्शन गरे । प्रदर्शनकारीहरूले ‘युद्ध मुर्दावाद ¤ राजसत्ता सोभियतलाई देऊ ¤’ भन्ने नारा लगाए । ३ जुलाईको दिन त्यही मागको निम्ति लाखौँ मजदुरहरूले जुलुस गरे । सरकारले जुलुसमाथि गोली हान्यो । जनतालाई दबाउन युद्धको मोर्चाबाट प्रतिक्रियावादी सेना बोलायो । सबै पत्र–पत्रिकामा रोक लगायो । ७ जुलाईको दिन अस्थायी सरकारले लेनिनलाई पक्राउ गर्ने पूर्जी काट्यो । बोल्शेविक पार्टीका धेरै कार्यकर्ताहरू पक्रिए । सरकारले लेनिन र उहाँका साथीहरूलाई राजद्रोहको मुद्दा लगायो । जनतालाई साथ दिने पेट्रोग्राडको नगर रक्षा शक्तिलाई लडाइँमा पठायो र धेरैलाई पक्राउ ग¥यो । पार्टी भूमिगत (लोप) भयो । लेनिनले पनि भूमिगतरूपमा काम गर्नुभयो । उहाँ एक मजदुरको भेषमा बस्नुभयो । त्यसैबेला ‘राज्य र क्रान्ति’ भन्ने रचना लेख्नुभयो । उहाँले त्यस किताबमा क्रान्ति सशस्त्र ढङ्गले मात्र हुनसक्छ भन्ने कुरो प्रमाणित गर्नुभयो । त्यसपछि उहाँ कोइला मजदुरको भेषमा फिनलैन्ड जानुभयो । उहाँले त्यहीँबाट क्रान्तिलाई निर्देशन दिइरहनुभयो ।
सन् १९१७ जुलाई २५ देखि ३ अगस्टसम्म बोल्शेविक पार्टीको छैटाँै महाधिवेशन भयो । त्यस अधिवेशनमा लेनिनले भाग लिन सक्नुभएन । पुँजीपतिहरू उहाँको हत्या गर्न चाहन्थे । क्रान्तिको रूप बदलिसकेको थियो र बहुमतले लेनिन अदालतमा हाजिर हुन नजाने निर्णय ग¥यो । पार्टीले मजदुर, किसान र सेनालाई अन्तसम्म सशस्त्र सङ्घर्ष गर्न र पार्टीको झन्डामुनि एकभई तयार रहन आदेश दियो ।
७ अक्टोबरको दिन लेनिन फिनलैन्डबाट पेट्रोग्राड फर्कनुभयो । १० अक्टोबर १९१७ को दिन पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । त्यस बैठकले सशस्त्र सङ्घर्ष गर्ने निर्णय लियो । १६ अक्टोबरको दिन पार्टीको केन्द्रीय समितिको लामो बैठक बस्यो र विद्रोह सञ्चालन गर्ने एक केन्द्रको चुनाव ग¥यो । कामरेड स्तालिन त्यसको अग्रदूत चुनिनुभयो । उहाँको निर्देशनमा विद्रोह सुरु गर्ने निर्णय बैठकले ग¥यो । त्यसबेला बोल्शेविक पार्टीको मुखपत्र ‘रबोचिपूत’ (मजदुर बाटो) थियो । २३ अक्टोबर १९१७ को बिहान अस्थायी सरकारले पार्टी पत्रिकाको अफिसमा घेरा दिन सैनिक गाडीहरू पठायो । स्तालिनको निर्देशनमा लाल रक्षकहरूको दल र क्रान्तिकारी सेनाले सरकारको सशस्त्र सैनिक गाडीलाई पछाडि फर्काइदियो । ११ बजे पत्रिका निस्क्यो । त्यसमा अस्थायी सरकारलाई उल्टाउन आव्हान गरिएको थियो । त्यसै समय पार्टी केन्द्रको निर्देशनमा क्रान्तिकारी सेना र लाल रक्षक दललाई स्मोल्नीतिर पठाइयो । अब खुला विद्रोह भयो । लेनिन त्यसै रात स्मोल्नी पुग्नुभयो । स्मोल्नीबाटै उहाँले विद्रोह सञ्चालन सम्हाल्नुभयो । विद्रोह सुरु भयो ।
अस्थायी सरकारको मुख्य केन्द्र शरदको दरबारलाई क्रान्तिकारी सेनाले कब्जा ग¥यो । रेलवे स्टेसन, हुलाक, टेलिफोन र आकाशवाणीको अड्डा, मन्त्रीहरूको निवास र सरकारी बैङ्क आदि मुख्य–मुख्य अड्डाहरू कब्जा ग¥यो । संसद्लाई भङ्ग गरिदियो । स्मोल्नी क्रान्तिको केन्द्र बन्यो । युद्धपोत ‘अरोरा’ ले आफ्ना तोपहरू अस्थायी सरकारको केन्द्र शरद दरबारतिर तेस्र्यायो । २५ अक्टोबरको दिन तोप गज्र्यो । महान् सर्वहारा समाजवादी क्रान्तिको विगूल बज्यो ।
२५ अक्टोबर १९१७ को दिन रुसमा बोल्शेविक पार्टीले नागरिकहरूको नाममा एक घोषणापत्र निकाल्यो । घोषणापत्रमा पुँजीवादी अस्थायी सरकारलाई भङ्ग गरेको विषय थियो । देशको हुकुम सोभियतहरूको हातमा आएको कुरा घोषणा गरियो । अस्थायी सरकार शरद दरबारमा थियो । २५ अक्टोबरको राती क्रान्तिकारी मजदुर, सिपाही र जहाजीहरूले दरबारमा धावा बोले र कब्जा गरे । अस्थायी सरकारलाई गिरफ्तार गरे । पेट्रोग्राडमा सशस्त्र विद्रोहको जित भयो ।
२५ अक्टोबरको साँझ १०–११ बजे स्मोल्नीमा दोस्रो राष्ट्रिय सोभियतको महाधिवेशन भयो । महाधिवेशनमा ६५० प्रतिनिधिहरूले भाग लिएका थिए, त्यसमध्ये ४८० प्रतिनिधि बोल्शेविकहरू थिए । अर्थात् बोल्शेविकहरू बहुमतमा थिए । मेन्शेविक, दक्षिणपन्थी समाजवादी क्रान्तिकारीहरू र अरू प्रतिक्रियावादीहरूले महाधिवेशनमा भाग लिन अस्वीकार गरे । तिनीहरूले क्रान्तिलाई ‘फौजी षड्यन्त्र’ भनेर गाली गरे तथा महाधिवेशनबाट उठेर गए । तर, अरू वामपन्थी गुटले क्रान्तिको समर्थन गरे । महाधिवेशनले मजदुर, किसान र सैनिकहरूको सफल विद्रोहलाई समर्थन ग¥यो र सत्ता आफ्नो हातमा लिएको घोषणा ग¥यो ।
२६ अक्टोबरको राती लेनिनले महाधिवेशनमा युद्धसम्बन्धी सरकारी निर्णय पढेर सुनाउनुभयो । त्यसमा युद्धसँग सम्बन्धित सबै देशहरूलाई तीन दिनभित्र शान्ति सम्झौताको कुराकानी सुरु गर्ने आव्हान गरिएको थियो । युद्धमा भाग लिइरहेका बेलायत, फ्रान्स र जर्मनका वर्ग चेतन मजदुरहरूसँग आफ्नो सरकारलाई शान्ति सम्झौता गराउन आव्हान गरिएको थियो ।
त्यसै रात लेनिनले बिना मुआब्जा जग्गामा जमिनदारहरूको मालिकत्वलाई समाप्त गर्ने भूमिसम्बन्धी निर्णय पढ्नुभयो । सामन्त, मठ–मन्दिर र राज परिवारको जग्गा जनताको भयो । बोल्शेविक पार्टीको नेतृत्वमा एक मन्त्रिपरिषद् गठन गरियो । त्यसको अध्यक्ष लेनिन चुनिनुभयो । क्रान्ति गाउँ–गाउँ र सम्पूर्ण रुसमा फैलियो । लाल सेनाले प्रतिक्रियावादीहरूमाथि एकपछि अर्को प्रहार सुरु ग¥यो ।
अक्टोबर क्रान्तिको संसारव्यापी महत्व छ । रुस यूरोप र एसियाली देशहरूसँग जोडिएको मुलुक हो । यसकारण त्यसको असर यूरोप र एसियाका देशहरूमा पनि फैलिनु स्वाभाविक थियो । ती कारणहरूले साम्राज्यवादी देशहरू रुसलाई दबाउन चाहन्थे । सन् १९१८–१९१९ मा संरा अमेरिका, बेलायत, फ्रान्स र जापानले रुसको चारै तिरबाट फौजी हमला गरे । त्यसको विरोधमा बोल्शेविक पार्टीले किसान, मजदुर र युवकहरूबाट १० लाखभन्दा बढी सिपाहीहरू लडाइँका निम्ति तयार ग¥यो । त्यसको निम्ति रुसी मजदुर वर्गले दाना–पानी, कपडा र हतियार पु¥याउने काम ग¥यो । त्यो लडाइँ लामो समयसम्म चल्नसक्ने कुरा लेनिनले विचार गर्नुभयो । त्यसको निम्ति उहाँले ३० लाख सेनाको व्यवस्था मिलाउने निर्णय गर्नुभयो ।
जर्मनीको सिमानासँगै रुसको ब्रेष्टलि तोब्स्क भन्ने एक इलाका थियो । जर्मनी साम्राज्यवाद त्यस इलाकामाथि दाबी गर्दै थियो र त्यहि निहुँ गरेर रुसमाथि हमला गर्न चाहन्थ्यो । तर, त्यसबेला रुसको सैनिक शक्ति बलियो थिएन । लडाइँ भएको खण्डमा भर्खरै जन्मेको समाजवाद अप्ठेरोमा पर्दथ्यो । त्यस कारण लेनिनले ३ मार्च १९१८ मा त्यो इलाका जर्मनीलाई दिएर शान्ति सन्धि गर्ने नीति लिनुभयो र अर्कोतिर लाखौँ कम्युनिस्ट, मजदुर, किसान तथा क्रान्तिकारी युवक विद्यार्थीहरूको पल्टन तयार गर्नुभयो । त्रोत्स्कीजस्ता उत्ताउला कम्युनिस्टहरूले त्यस सन्धिलाई ‘देश बेच्ने’ र ‘आत्मसमर्पण’ भनेर विरोध गरे । तर, लेनिन र स्तालिनले जर्मनीको मुखमा एकछिन बुजो लगाएर सङ्घर्षको निम्ति पूरा तयारी गर्ने नीति लिनुभयो ।
३० अगस्ट १९१८ मा लेनिन एक कारखानामा जानुभयो । त्यहाँ मजदुरहरूको एक ठूलो सभा थियो । त्यहाँ लेनिनले भाषण गर्नुभयो र भाषण सिध्याएर मोटरमा बस्न जानुभयो । त्यसै बेला समाजवादी क्रान्तिकारी पार्टीको एक महिला सदस्यले उहाँमाथि गोली प्रहार गरिन् । लेनिन घाइते हुनुभयो । साम्राज्यवादीहरूको सेवा गर्ने त्यस विश्वासघाती महिलालाई जनताले पक्रे । उनीमाथि मुद्दा चलाए । उपचारको लागि लेनिन क्रेमलिन भन्ने निवास स्थानमा लगिनुभयो ।
संसारका मजदुर पार्टीको सङ्गठनलाई ‘अन्तर्राष्ट्रिय मजदुर सङ्गठन’ भनिन्छ । छोटकरीमा त्यसलाई ‘अन्तर्राष्ट्रिय’ मात्रै भन्ने चलन छ । पुरानो ‘अन्तर्राष्ट्रिय’ समाप्त भइसकेको थियो । यसकारण लेनिनले नयाँ ‘अन्तर्राष्ट्रिय’ को आवश्यकता देख्नुभयो । २ मार्च सन् १९१९ मा लेनिनको नेतृत्वमा विभिन्न देशका कम्युनिस्ट पार्टीहरूको महाधिवेशन मस्कोमा भयो । त्यसलाई ‘तेस्रो अन्तर्राष्ट्रिय’ भनिन्छ । महाधिवेशनमा लेनिनले ‘सर्वहारा क्रान्ति र गद्दार काट्स्की’ भन्ने किताबद्वारा अवसरवादलाई नङ्ग्याइदिनुभयो । लेनिनले एक घोषणापत्रको मस्यौदा गर्नुभयो र त्यसलाई महाधिवेशनले स्वीकार ग¥यो ।
१८ मार्च सन् १९१९ मा रुसी मजदुर पार्टीको आठौँ महाधिवेशन भयो । अधिवेशनमा लेनिनले ‘साम्राज्यवाद पुँजीवादको माथिल्लो अवस्था हो’ भन्ने कुरा प्रस्ट गर्नुभयो । त्यस बेला रुस सा¥है निर्बलियो र आपतको अवस्थामा थियो । लडाइँले गर्दा सारा लथालिङ्ग भइरहेको थियो । आर्थिक अवस्था धुजा–धुजा थियो । लेनिन जनतामा ठूलो विश्वास गर्नुहुन्थ्यो । उहाँ किसान–मजदुर, सेना र जहाजीहरूसँग भेटी आफ्नो देशको अवस्था राम्रोसँग बुझाउनुहुन्थ्यो । कम्युनिज्मको निर्माणको लागि उहाँ युवकहरूलाई बढी अध्ययन गर्न आह्वान गर्नुहुन्थ्यो ।
लेनिनले सन् १९२० मा ‘उत्ताउला कम्युनिज्म एक केटाकेटी रोग’ भन्ने किताब लेख्नुभयो । त्यस किताबमा बोल्शेविक पार्टीको अनुभवको सार खिच्नुभएको थियो । त्यसमा लेनिनले उत्ताउला कम्युनिज्मलाई खुबसित छ्याँस्नुभयो । त्यसबाट अरू देशका नयाँ–नयाँ कम्युनिस्ट पार्टीहरूले शिक्षा लिए । सन् १९२० सम्ममा आक्रामक राष्ट्रहरूले हार व्यहोर्नुप¥यो । सन् १९२२ मा जापानी थिचो–मिचो (हस्तक्षेप) बन्द भयो । यसरी लेनिनले रुसलाई साम्राज्यवादी आक्रमणबाट जोगाउनुभयो । विदेशी थिचो–मिचोबाट देशलाई मुक्त गर्नुभयो ।
त्यसपछि लेनिनले एक नयाँ आर्थिक नीति अगाडि सार्नुभयो । कृषि र औद्योगिक विकासलाई साथ साथै लैजाने योजना मिलाउनुभयो तथा किसान र मजदुर वर्गको एकतालाई बलियो पार्नुभयो ।
सन् १९२२ मा लेनिन अकस्मात् बिरामी हुनुभयो । बिरामी हुनुभए पनि उहाँले काम गर्न छोड्नुभएन । २० नोभेम्बर १९२२ को दिन मस्कोमा केन्द्रीय पार्टी समितिको एक लामो बैठक बस्यो । त्यसबेला लेनिनले किफायत गरेर आर्थिक विकास गर्नुपर्छ भनेर निर्देशन दिनुभयो । त्यो उहाँको अन्तिम भाषण थियो । डिसेम्बर १९२२ मा सोभियतहरूको पहिलो राष्ट्रिय महाधिवेशन भयो । त्यस अधिवेशनले सोभियत समाजवादी गणतन्त्रको स्थापना गर्ने निर्णय ग¥यो । लेनिन त्यसको जनकमिसार परिषद् (मन्त्रिपरिषद्) को अध्यक्ष चुनिनुभयो ।
सन् १९२३ मा लेनिन फेरि बिरामी हुनुभयो । त्यस बिरामी अवस्थामा उहाँले– ‘महाधिवेशनलाई चिट्ठी’, ‘डायरीको पाना’, ‘सहकारिताको बारेमा’, ‘हामीले मजदुर–किसान निरीक्षण संस्थाको पुनः सङ्गठन कसरी गर्नुपर्छ’ र ‘चाहे कम होस् बरु राम्रो होस्’ जस्ता निर्देशनहरू दिनुभयो ।
मार्च १९२३ को सुरुमा लेनिन झन् बिरामी हुनुभयो । देशका सबै किसान–मजदुरहरूलाई उहाँको स्वास्थ्यबारे ठूलो चासो थियो । उहाँको स्वास्थ्य बिग्रँदै गइरहेको थियो । गोर्की एक राम्रो हावा–पानी भएको गाउँ थियो । स्वास्थ्य लाभको निम्ति लेनिन त्यहिँ राखिनुभयो । तर, स्वास्थ्यमा कुनै लाभ देखिएन । बरु उहाँ झन्–झन् सिकिस्त हुँदै जानुभयो ।
२१ जनवरी १९२४ को साँझ ६ बजेर ५० मिनेटमा लेनिनले सदाको लागि आँखा चिम्लनुभयो । सारा रुस शोकमा डुब्यो । तर, स्तालिनले आफ्नो नेतृत्वमा रुसी जनताको शोकलाई शक्तिमा बदलिदिनुभयो र क्रान्तिलाई अगाडि बढाउनुभयो ।
लेनिनको व्यक्तित्व
लेनिन एक साधारण व्यक्तिजस्तै ठीक्कको जीउको हुुनुहुन्थ्यो । उहाँ सोझो र प्रस्ट भाषामा बोल्नुहुन्थ्यो । खराब कुराको खोट देखाउन उहाँ डराउनुहुन्नथ्यो । उहाँ जनतासँग हेल–मेल गर्नुहुन्थ्यो । उहाँ आफ्नो सिद्धान्तमा द¥हो हुनुहुन्थ्यो । उहाँलाई रुसको परिस्थितिबारे स–साना कुरासमेत थाहा थियो । उहाँलाई शत्रु र मित्रको राम्रो ज्ञान थियो । रुसको भूमि–समस्याबारे उहाँलाई गहिरो जानकारी थियो । उहाँ घटनापश्चात् आउने परिणामको विषयमा पनि सोच्नुहुन्थ्यो । सिद्धान्त नभएका बहुमत र जाली नेताहरूको विरोधमा उहाँले पार्टीभित्र छिनोफानो हुने गरी सङ्घर्ष गर्नुभयो ।
आपत्को बेलामा पनि उहाँ अलमलिनु र हतारिनु हुन्नथ्यो । त्यस्तो बेलामा उहाँ साहसबाट काम लिनुहुन्थ्यो । जनताको क्रान्तिकारी भावना र शक्तिमा उहाँ ठूलो विश्वास राख्नुहुन्थ्यो । आफूभन्दा पुराना तर खोटपूर्ण नीति लिएका, सिद्धान्तबाट तल झरेका नेताहरूलाई चर्को आलोचना गर्न डराउनु हुन्नथ्यो । सिद्धान्तलाई नछोडी उहाँ जस्तोसुकै सङ्घर्ष गर्न तयार हुनुहुन्थ्यो । उहाँ सिद्धान्तलाई छोडेर शोषक वर्गसँग सम्झौता गर्नुहुन्नथ्यो ।
उहाँ रुसको मात्र होइन संसारका सबै मजदुर वर्गका नेता र गुरु हुनुहुन्छ । उहाँले सुरु गर्नुभएको समाजवादको सङ्घर्षलाई स्तालिनले सम्हाल्नुभयो र सङ्घर्षलाई अगाडि बढाउँदै लैजानुभयो । पेट्रोग्राडका मजदुरको अनुरोधमा पेट्रोग्राड सहरको नाम लेनिनग्राड राखियो ।
लेनिनबाट हामीलाई शिक्षा
लेनिनको शिक्षालाई लेनिनवाद भनिन्छ । स्तालिनले लेनिनवादलाई अगाडि बढाउनुभयो । यसकारण लेनिन र स्तालिनको शिक्षालाई लेनिनवाद भनिन्छ । लेनिन र स्तालिनले माक्र्सवादको अध्ययन गर्नुभयो र आफ्नो देशको परिस्थितिअनुसार सङ्घर्षमा लागू गर्नुभयो । मजदुर, किसान र सिपाहीहरूको माझमा सङ्गठन हुनुपर्छ । माक्र्सवादजस्तो क्रान्तिकारी सिद्धान्त बोकेको कम्युनिस्ट पार्टीले तिनीहरूलाई एकगठ गर्नुपर्छ । कम्युनिस्ट पार्टीकै रेखदेखमा सबै मिलेर सशस्त्र सङ्घर्ष गर्नुपर्छ र पुँजीपति वर्गको हुकुमलाई ध्वस्त पार्नुपर्छ तथा राज्य सत्तालाई सर्वहारा वर्गले कब्जा गर्नुपर्छ भनेर हामीलाई लेनिनवादले सिकाउँछ । त्यसो गर्न लेनिन र स्तालिनले आफ्ना साथी (बोल्शेविकहरू) लाई क्रान्ति र समाजवादको विषयमा तालिम दिनुभयो । माक्र्सवादबारे राम्रो ज्ञान दिनुभयो । अनि आफ्ना साथीहरूलाई मजदुर, किसान र सिपाहीहरूको माझमा राजनैतिक ज्ञान दिन सङ्गठन गर्न पठाउनुभयो । बोल्शेविकहरू कारखाना, गाउँ, ब्यारेक (छाउनी), अड्डा र स्कूल, कलेज र अनेक सङ्गठनहरूमा गएर काम गर्न थाले । बोल्शेविक कार्यकर्ताहरू आफ्नो घरबार त्यागेर जनताको सङ्गठनमा लागेका थिए र आफ्ना व्यक्तिगत स्वार्थलाई त्यागेर मजदुर–किसान, सिपाही र जनताको दुःख–सुखमा आफूलाई सहभागी गराउँथे । तिनीहरूले जनताको दैनिक जीवनको आर्थिक सङ्घर्ष सँगसँगै राजनैतिक सङ्घर्षलाई पनि अगाडि बढाउँथे र राजनैतिक सङ्घर्ष र आन्दोलनसँगसँगै हात–हतियार बनाउने, त्यसलाई जम्मा गर्ने र सशस्त्र भिडन्तहरू पनि गर्थे । स–साना हडताल, सङ्घर्ष एवम् आन्दोलनहरूबाट थुप्रै अनुभव हासिल गरे । धेरै – धेरै कार्यकर्ताहरू अनुभवी क्रान्तिकारी बने । अनि, पार्टीको निर्णयअनुसार पुँजीपति वर्गको हुकुममाथि धावा बोल्न र कब्जा गर्न सफल भए ।
सामन्तवाद र पुँजीवाद एउटै ढ्याक वा सिक्काका खुकुरी र त्रिशुल हुन् । लेनिन सामन्तवाद र पुँजीवाद दुवैलाई आलोचना र विरोध गर्नुहुन्थ्यो । ‘मुख्य दुश्मन’ राजा जार हो भनेर पुँजीपति वर्ग र विदेशी पुँजीसँग मितेरी लाउनुहुन्नथ्यो । न त पुँजीपति वर्ग र विदेशी पुँजीलाई ‘मुख्य दुश्मन’ सम्झेर जार र सामन्तहरूसँग मितेरी लाउनुहुन्थ्यो ।
लेनिन साम्राज्यवादको सा¥है विरोध गर्नुहुन्थ्यो । त्यसको विरोधमा लड्न अरू देशका सर्वहारा वर्गसँग एक हुनुभयो । साम्राज्यवादको विरोधमा सङ्घर्ष नगर्ने र साम्राज्यवादी नीतिको समर्थन गर्ने समाजवादीहरूलाई उहाँले ‘समाजवादी–साम्राज्यवादीहरू‘ वा ‘सामाजिक–साम्राज्यावादीहरू’ भन्नुभयो । साम्राज्यवादको विरोधमा लड्ने र अरू देशका सर्वहारा वर्गको सङ्घर्षलाई समर्थन गर्ने कुरामा उहाँ कहिले पनि ‘विदेशी कुरा’ र ‘बतासे कुरा’ भनेर पन्छाउने र भाग्ने गर्नुहुन्नथ्यो । उहाँ एक देशको सर्वहारा वर्गले अर्को देशको सर्वहारा वर्गलाई समर्थन गर्ने कुरामा जोड दिनुहुन्थ्यो । त्यसलाई सर्वहारा अन्तर्राष्ट्रवाद भनिन्छ । लेनिनवाद पुँजीवादको अन्तिम अवस्था, साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो । यसकारण लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको विज्ञान हो ।
तर, लेनिन र स्तालिनको मृत्युपछि रुसी कम्युनिस्ट पार्टीका नेताहरूले लेनिन र स्तालिनको शिक्षाको उल्टो काम गर्न थाले । खु्रश्चेभ र ब्रेझनेभजस्ता ती रुसी नेताहरूले लेनिनवादको झन्डा बोकेको देखाए, मुखले समाजवादको फलाको गरे तर काम भने पुँजीपति वर्ग र साम्राज्यवादीहरूले जस्तै गरे । यसकारण ती रुसी नेताहरूलाई सामाजिक –साम्राज्यवादीहरू भनियो ।
त्यसकारण नेपाली युवाहरूले पनि लेनिन र स्तालिनको शिक्षालाई राम्रोसँग अध्ययन गर्नुपर्छ र त्यसलाई व्यवहारमा लागू गर्नुपर्दछ ।
सन् १९९० तिर गोर्भाचोभ र ऐल्सिन भन्ने रुसी कम्युनिस्ट पार्टीका नेताहरूले रुसको कम्युनिस्ट पार्टीलाई नै विघटन गरे, समाजवादलाई नै त्यागे, सोभियत सङ्घलाई नै विघटन गरे । तिनीहरू कम्युनिस्ट आन्दोलनभित्र घुसेका पुँजीपति वर्ग र साम्राज्यवादीहरूका दलाल र विश्वासघातीहरू हुन् । आज रुस र पूर्व सोभियत सङ्घका गणतन्त्रहरूमा पुँजीवादको पुनः स्थापना भयो ।
तिनीहरूले सोभियत सङ्घ र सोभियत जनतालाई मात्रै धोका दिएनन््, रुस तथा पूर्वी यूरोपेली ‘समाजवादी’ देशहरूलाई समेत साम्राज्यवादीहरूको पोल्टामा पारे र ती देशहरूमा पनि पुँजीवादको पुनः स्थापना गराए । यसकारण १०–१२ वर्षदेखि रुस र पूर्वी यूरोपेली देशमा कामदार जनताले सा¥है दुःख पाउन थाले । काला बजारिया, शोषक र पुँजीवादी आपराधिक गुटहरूले रातारात करोडौँ र अरबौँ रुबल कमाउँदै छन् भने मजदुर र किसानहरू महँगी, बेकारी, घट्दो ज्याला र थोरै पेन्सन निवृत्तिभरणबाट पीडित छन् । त्यसैले रुसी कामदार जनता र क्रान्तिकारीहरू नयाँ अक्टोबर क्रान्ति गर्न सङ्घर्ष गर्दैछन् र सोभियत सङ्घ तथा समाजवाद पुनः स्थापना गर्न चाहन्छन् । वर्तमान राष्ट्रपति पुटिन पनि ख्रुश्चेभ, ब्रेझनेभ, गोर्भाचोभ र ऐल्सिनजस्तै विश्वासघाती हुन् । एकदिन रुसमा फेरि नयाँ अक्टोबर क्रान्ति हुने विश्वासका साथ त्यहाँका कामदार जनता सङ्घर्षमा लाग्दैछन्, फेरि लेनिन र स्तालिनका रचनाहरूको गम्भीर अध्ययन गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *